लघु तथा घरेलु उद्योग

राजु चौधरी

के तपाईं कम पुँजीमा व्यवसाय सञ्चालन गर्ने सोचमा हुनुहुन्छ ? ५ लाखभन्दा कम पुँजीको व्यवसाय लघु तथा घरेलु उद्योगभित्र पर्छ । यस्ता उद्योगको दर्ता घरेलु तथा साना उद्योग विभागमा गरिन्छ । काठमाडौंमा यसको कार्यालय त्रिपुरेश्वरमा छ । जिल्लामा सदरमुकाममा कार्यालय हुन्छ ।

लघु तथा घरेलु उद्योग

लघु तथा घरेलु उद्योगअन्तर्गत ढाकाकपडा, टेलरिङ, ब्युटिपार्लर, मोबाइल मर्मत, ड्रेस डिजाइन, वर्कसप, फर्निचर, भेनियर, जुस, वाइन फर्निचर पर्छन् । हस्तकला, मुढा, कुचो उद्योग, चिया उद्योग, दुग्ध प्रशोधन परिकार, पशुपालन, अचार, आलु चिप्स, खाडी कपडा, अलैंची प्रशोधन, नेपाली हाते कागज, अदुवा प्रशोधन, होटल, ट्रेकिङ, प्याराग्लाइडिङ पनि यसैमा पर्छन् ।
अगरबत्ती, चाउचाउ बनाउने, खुकुरी बनाउने, चक बनाउने, छालाका विभिन्न तयारी वस्तु, छाला प्रशोधन, जुत्ता सिलाइ तथा मर्मत, झोला बुनाई, छ्वाली हस्तकला/ढाकी बुनाई, डोरी बनाउने पनि लघु तथा घरेलु उद्योगभित्र पर्छन् । यस्तै, पुरुष कपाल कटाइ, बेकरी, धातुका भाँडाकँ‘डा, माटाका भाँडा बनाउने, मोटरसाइकल मर्मत, मौरीघार निर्माण, मौरी पालन र मह प्रशोधन पनि यिनैमा पर्छन् ।
घरजग्गाबाहेक बढीमा ५ लाख रुपैयाँसम्मको स्थिर पुँजीलाई लघु उद्यम भनिन्छ । उद्यमी स्वयम् उद्योग सञ्चालन र व्यवस्थापनमा सलग्न हुन्छन् । उद्यमीसहित बढीमा ९ जनासम्म कामदार हुन्छन् । वार्षिक कारोबार ५० लाख रुपैयाँभन्दा कम हुन्छ । इन्जिन उपकरण वा मेसिनको प्रयोग गरेको भए इन्जिन, उपकरण वा मेसिनमा खपत हुने विद्युतीय ऊर्जा, इन्धन वा अन्य तेल इन्जिन क्षमता २० किलोवाट वा सोभन्दा कम रहेको हुन्छ ।
परम्परागत सीप र प्रविधिमा आधारित व्यवसायलाई घरेलु उद्योग भनिन्छ । यो उद्योग श्रममूलक र खास सीप वा स्थानीय कच्चा प्रदार्थ एवं स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित हुन्छ । इन्जिन, उपकरण वा मेसिनको प्रयोग गरेको भए बढीमा दस किलोवाटसम्मको क्षमताको विद्युतीय ऊर्जा प्रयोग हुन्छ । घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक राजेन्द्र मिश्रका अनुसार लघु तथा घरेलु उद्योग सञ्चालन गर्न चाहने सर्वसाधारणलाई सरकारले छुट र सुविधा पनि दिएको छ । उनका अनुसार उद्योग सञ्चालन गर्नुपूर्व समितिले एक सातादेखि तीन महिनासम्म तालिम दिन्छ । त्यसपश्चात सर्वसाधरणले व्यवसाय सञ्चालन गर्न सक्छन् ।

उद्योगको दर्ता प्रक्रिया
उद्योग दर्ता गर्दा सर्वप्रथम निवेदन फारम चाहिन्छ । फराम घरेलु कार्यालमै पाइन्छ । उद्योगको परियोजना (व्यापारिक प्लान), सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणित प्रतिलिपि, उद्योग रहने स्थानको स्वामित्वको प्रमाणपत्र आवश्यक पर्छ । सम्बन्धित व्यक्तिको नाममा स्वामित्वको प्रमाण नभए मञ्जुरीनामासहित स्वामित्वको प्रमाण पेस गर्नुपर्छ । सम्बन्धित नगरपालिका/गाविसको सर्जमिनसहितको चौतर्फी सँधियार मुचुल्का तथा सिफारिस पत्र पनि चाहिन्छ । उद्योग सञ्चालनसँगै नवीकरण पनि गर्नुपर्छ । नवीकरण दर्ता भएकै कार्यालयमा गर्न‘पर्छ । नवीकरण गर्दा उद्योगको सक्कल प्रमाणपत्र, वार्षिक प्रगति प्रतिवेदन पेस गर्नुपर्छ । गत वर्ष आन्तरिक राजस्व कार्यालयमा कर तिरेको रसिदको प्रतिलिपि, निवेदन र आवश्यक राजस्व तिनुपर्छ ।
कुनै कारणले उद्योग सञ्चालन गर्न नसकिने भए दर्ता खारेजीका लागि उद्योग दर्ता गर्ने निकायसमक्ष निवेदन दिन सकिन्छ । निवेदन प्राप्त भएपछि उद्योग दर्ता गर्ने निकायले सम्बन्धित उद्योगले आफ्नो दायित्व फरफारक गरेको र उद्योग दर्ता खारेज गर्न उपयुक्त हुने देखिए तोकिएबमोजिम उद्योग दर्ता खारेज गरी त्यसको जानकारी निवेदकलाई दिनेछ ।

सुविधा एवं सहुलियत
सरकारले लघु उद्यम बन्न चाहने सर्वसाधारणलाई विशेष सहुलियत दिएको छ । औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार लघु उद्यम र घरेलु उद्योगका हकमा उद्योग सञ्चालन भएको मितिबाट ६ महिनाभित्र उद्योग दर्ताका लागि निवेदन दिन सकिन्छ ।
ऐनबमोजिम लघु उद्यम दर्ता गर्दा कुनै शुल्क वा दस्तुर लाग्दैन । ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका लघु उद्यमलाई ऐन जारी भएको मितिले र ऐनबमोजिम दर्ता भई सञ्चालनमा आएको लघु उद्यमलाई व्यवसाय वा कारोबार सुरु गरेको मितिले न्यूनतम पाँच वर्षसम्म आयकर छुट छ ।
ऐनअन्तर्गत दर्ता भएको उद्योगलाई उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करको दरमा २० प्रतिशतले छुट छ । उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरे प्राप्त आयमा लाग्ने करको दरमा २५ प्रतिशतले छुट छ । महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग दर्ता गरिए दस्तुरमा ३५ प्रतिशत छुट दिइएको छ ।

घरेलुलाई कर छुट
स्थानीय उत्पादन र रोजगारी सिर्जनामा टेवा पुगोस् भनेर सरकारले लघु, घरेलु तथा साना उद्योगलाई कर छुटसमेत दिने गरेको छ । आयकर, अन्त:शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । अन्तशुल्क ऐन २०५८ अनुसार हाते मेसिन तथा घरेलु प्रविधिबाट उत्पादन गरिने सिन्के चाउचाउ उद्योगबाट उत्पादित कांचो वस्तुमा अन्त:शुल्क लाग्ने छैन ।
अति अविकसित क्षेत्रमा उद्योग स्थापना गर्न सहकारी, लघु उद्यम, घरेलु र साना उद्योगलाई बीउ पुँ‘जी (सिड क्यापिटल) को रूपमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिम अनुदान उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ । यो सुविधा छुट पाउन योग्य जिल्ला बाजुरा, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, दार्चुला, अछाम, बझाङ, मुगु, रुकुम, दैलेख, तेह्रथुम, खोटाङ, संखुवासभा, मनाङ, मुस्ताङ, सोलुखुम्वु र ओखलढुंगा हुन् । औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार लघु उद्यम दर्ता गर्दा कुनै शुल्क वा दस्तुर लाग्ने छैन । भर्खरै दर्ता भएका र सञ्चालनमा आइरहेका लघु उद्यमलाई ऐन जारी भएको मिति (२०७३ मंसिर) पाँच वर्षसम्म लघु उद्यमलाई न्यूनतम पाँच वर्षसम्म आयकर छुट हुने छ ।

बैंकिङ सुविधा
घरेलु तथा साना उद्योगहरूलाई साढे ४ प्रतिशत ब्याजदरमा ऋण दिने व्यवस्था छ । यस्ता उद्योगमा ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले वार्षिक १ प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराउँछ । उक्त सुविधा लिएका बैंक तथा वित्तीय संस्थाले बढीमा ४ दशमलव ५ प्रतिशत सम्ममा यस्तो कर्जा प्रवाह गर्नुपर्छ । केही बैंक तथा वित्तीय संस्थाहरूले पनि लघु तथा घरेलुु उद्योगहरूमा लक्षित केही उत्पादनहरू बजारमा ल्याएका छन् । ती क्षेत्रमा प्रवाह भएको कर्जा विपन्न वर्ग कर्जामा गणना हुने भएकाले बैंकहरूले चासो देखाएका हुन् । यो पनि सहुलियत ब्याजमा ऋण दिने गरि सरकारले गरेको व्यवस्था हो । ऋणको अधिकतम सीमा ३ देखि ५ लाख रुपैयाँ कायम गरिएको छ । तर, व्यवसायको सम्भावना र मुनाफाका आधारमा बैंकले उक्त सीमा बढाउन सक्नेछ । परिपक्क अवधि बढीमा ३ देखि ५ वर्षको हुनेछ । नागरिताको फोटोकपीसँगै आफ्नो फार्मको सम्पूर्ण कागजात । धितो राख्न मिल्ने सम्पत्तिको कागजपत्र आदि ।

उद्योग नामसारी–ठाउँसारी
लिनेदिने व्यक्ति कार्यालयमा उपस्थित भई संयुक्त निवेदन पेस गर्नुपर्छ । हकछोड पत्र (राजीनामा), आन्तरिक राजस्व कार्यालयको सहमतिपत्र पनि चाहिन्छ । उद्योग लिनेको नागरिकताको प्रतिलिपि, मृत्यु भई नामसारी गर्नुपरे मृत्यु दर्ता प्रमाणपत्र र अन्य अंशियार भए निजहरूको सहमति तथा नाता प्रमाणित पेस गर्नुपर्छ । उद्योग रहने जग्गाको सहमति पत्र र बैंकबाट रोक्का भएको भए सहमति पत्र पनि आवश्यक पर्छ ।
उद्योग ठाउँसारी गर्नुपरे निवेदन, सम्बन्धित ठाउँको सर्जमिन मुचुल्का चाहिन्छ । जग्गाधनी पुर्जाको प्रतिलिपि, सम्बन्धित गाविस वा नगरपालिकाको सिफारिसपत्र पनि पेस गर्नुपर्छ । आन्तरिक राजस्व कार्यालयको सकारात्मक प्रतिक्रिया र सक्कल प्रमाणपत्र पनि चाहिने कार्यालयले जनाएको छ ।

पुँजी वृद्धिमा चाहिने कागजात
पुँजी तथा क्षमतावृद्धि गर्नुपरे कारणसहितको निवेदन दिनुपर्छ । संशोधित परियोजना र उद्देश्य थप गर्नुपर्ने भए कारणसहितको निवेदन फारम भरेर दिनुपर्छ । यस्तै, सक्कल प्रमाण पत्र पनि चाहिन्छ ।

उद्योग स्थानान्तरण र बन्द
उद्योग कुनै कारणले अन्यत्र स्थानान्तरण गर्नुपर्ने भए कारण खुलाई उद्योग दर्ता गर्ने निकाय समक्ष निवेदन दिनुपर्छ । निवेदनपश्चात ऐनबमोजिम वातावरणीय प्रभाव मूल्यांकन वा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने भए सोसमेत सम्पन्न गरी उद्योग दर्ता गर्ने निकायले तोकिएअनुसार उद्योग स्थानान्तरणको स्वीकृति दिन सक्छ ।
उद्योगीले कुनै कारणले उद्योग बन्द गरे वा व्यावसायिक उत्पादन वा कारोबार स्थगन गरे त्यसरी बन्द वा स्थगन गरेको मितिले ७ दिनभित्र उद्योग दर्ता गर्ने निकायलाई जानकारी दिनुपर्छ ।


“अवसर र बजार राम्रो छ”
- जयराम मानन्धर
सञ्चालक, बीजेएस हयान्डिक्राफ्ट एन्ड पनौती सोभिनियर हाउस

छ्वाली आर्टको माग बढ्दै गएको छ । निर्यातको सम्भावना पनि उच्च छ । ५० रुपैयाँको सामान ल्याएर ५० हजार रुपैयाँको बनाउन सकिन्छ । १८ वर्षअघि स्कुल पढ्दा आर्टको सोखिन थिएँ । घरमा पनि कागज, परालको घर बनाउँथँे । तर, परालबाट बनाएको घरको रङ छिट्टै खुइलिने । हाम्रो घरमा बस्ने मान्छे भाडा नतिरी कोठा ताल्चा लगाएर गएको थियो । तीन महिनापछि ढोका खोलर हेर्दा कोठाभित्र मनकामना र गोर्खा दरबारको दुइटा फोटो थियो । ती फोटा हेरेर चित्र बनाउँदा झन् राम्रो भयो । आर्टसँगै फिल्म वितरण पनि गर्थे । नेपालभरि नै जानुपथ्र्यो । तर, मासिक तलब जम्मा १५ सय रुपैयाँ । दु:ख धेरै तर तलब कम भएकाले आर्टलाई नै निरन्तरता दिने सोच बनाएँ । मनकामना र गोर्खा दरबारका फोटोहरू २ सय ५० रुपैयामा बिक्री गरें । त्यसबाट व्यावसायिक रूप सुरु भयो । छ्वाली आर्टमा खासै लगानी चाहिँदैन । घरमै बसेर काम गर्न सकिन्छ । तर, मिहिनेत चाहिन्छ । कच्चा पदार्थ विदेशबाट आयात गर्न‘पर्दैन । गाउँघरमा छ्वाली प्रशस्त मात्रामा पाइन्छ । छ्वाली गाई/भैंसीलाई आहारा, मल बनाउन प्रयोग हुन्थ्यो । त्यसलाई आर्टको रूपमा रूपान्तरण गरेर बिक्री गर्ने हो ।
छ्वालीबाट बनाइएको आर्ट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, राजदूतहरूलाई सम्मानका लागि दिइन्छ । घर, संस्था तथा ठूलाठूला होटल सजावटमा पनि प्रयोग गरिन्छ । संस्थाहरूले पनि मायाको चिनोका रूपमा प्रयोग गर्दै आएका छन् ।
छ्वाली आर्टमा सहनशीलता र धैर्यता चाहिन्छ । सुरुवाती दिनहरूमा एक महिनामा २/३ वटा मात्रै बनाउन सकिन्थ्यो । बिक्री पनि त्यहीअनुसार हुन्थ्यो । आर्टको माग विदेशमा मात्रै हुन्छ भन्ने सोचाइ थियो । अहिले छ्वाली आर्टको माग ह्वातै बढेको छ । माग नेपालभित्रै छ । माग धान्न भ्याईनभ्याई हुन्छ ।
घरेलु तथा साना उद्योग विकास समितिले बर्सेनि मेला गर्छ । दर्ताबिना प्रदर्शनीभित्र पाइने सुविधा पाइँदैन । प्रदर्शनीमा समावेश गर्न पनि मुस्किल हुन्छ । त्यसैले २०६२ सालमा बीजेएस हयान्डी क्राफ्ट एन्ड पनौती सोभिनियर हाउसका नाममा समितिमा उद्योग दर्ता गराएँ । मेलामा सहभागिता हुँदा थप बजारीकरण भएको छ । आर्टको माग दैनिक बढ्दै गएको छ । निर्यातको सम्भावना पनि उच्च भएको छ । ५० रुपैयाँको सामान ल्याउँदा ५० हजार रुपैयाँको बन्छ । कालो कपडा, कालो पेपर, कैंची, टाँस्न रेडिकल भएपछि पर्याप्त हुन्छ ।
छ्वाली खरिद गरेपछि बोतलको बिर्काेले घोट्नुपर्छ । जति घोट्यो त्यति नै चम्किलो हुन्छ । त्यसपछि नेपाली कागजमा स्केच बनाएर त्यहीअनुसार छ्वाली टाँस्नुपर्छ । १८ वर्षको अवधिमा मासिक न्यूनतम ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मका छ्वाली आर्ट बिक्री भएको छ । रोजगारी दिन सक्ने पनि भएको छु । अपांगता भएका र महिलालाई तालिम पनि दिँदै आएको छु । आर्ट तालिम नि:शुल्क दिइन्छ । हालसम्म ४ सयभन्दा बढीलाई तालिम दिएको छु । तालिम लिएकामध्ये केहीले आफैं व्यवसाय पनि सञ्चालन गरेका छन् ।
(कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन ६, २०७३ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?