कुखुराले आत्मनिर्भर

विमल खतिवडा

व्यावसायिक कुखुरापालनमा लाग्ने सोच आयो भने पहिला कुन जातको र कस्तो ठाउँमा पाल्ने भन्ने निधो गर्नुपर्छ । यसका लागि विज्ञ तथा अनुभवी व्यक्तिहरूसँग परामर्श लिन सकिन्छ । कति लगानी गर्ने हो, त्यहीअनुसार योजना बनाउनुपर्छ ।

कुखुराले आत्मनिर्भर

आवश्यकताअनुसार ह्याचरी तथा दाना उद्योगी र भेटेरिनरी डाक्टरको सल्लाह लिनुपर्छ । 

दर्ता प्रक्रिया
२ सयभन्दा बढी कुखुरा पाल्ने फर्म जिल्ला पशु सेवा कार्यालयमा सूचीकृत हुनुपर्छ । त्यसपछि जिल्ला घरेलुमा पनि फम दर्ता गर्नुपर्छ जहाँ १० करोडसम्म लगानीको फर्म दर्ता हुन्छ । कम्पनी र प्रालि बनाउने हो भने दर्ता गराउन कम्पनी रजिस्टरको कार्यालय जानुपर्छ । निजी र साझेदारी फर्म हो भने घरेलुमा दर्ता हुन्छ । कम्पनी रजिस्टरको कार्यालय भने त्रिपुरेश्वर काठमाडौंमा छ । अझै ठूलो लगानी हो भने उद्योग विभागमा दर्ता गर्नुपर्छ । 
पशु कार्यालय, घरेलु, कम्पनी रजिस्टरको कार्यालय र उद्योग विभागमा व्यवसाय दर्ता गरेपछि बैंकबाट ऋण लिन सजिलो हुन्छ । दर्ताका लागि निवेदन, कुखुरा पाल्ने जग्गाको लालपुर्जाको फोटोकपी, सँधियारको सर्जिमिन मुचुल्का जुटाउनुपर्छ । ठूलो प्रकृतिको व्यवसाय अर्थात् २० हजारभन्दा बढी कुखुरा पाल्ने हो भने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार पार्नुपर्छ जसमा व्यवसायको सम्पूर्ण विवरण खुलाउनुपर्छ । यसका लागि नगरपालिका र घरेलुले राष्ट्रिय र स्थानीय पत्रिकामा १५ दिने सूचना प्रकाशित गर्नुपर्छ । यो उद्योग सञ्चालन गर्दा वातावरणीय प्रभाव पर्छ पर्दैन भनेर सूचनामा खुलाउनुपर्छ । त्यही भएर उद्योग सुरु गर्नुअघि यससँग सम्बन्धित विज्ञसँग राम्रोसँग छलफल गर्नुपर्छ । सूचना प्रकाशनपछि कुनै उजुरबाजुर नभए उद्योग सञ्चालनका लागि बाटो खुल्छ । दर्ता गरेपछि स्थायी लेखा नम्बर (पान) लिनुपर्छ । कुखुराको संख्याअनुसार पशु चिकित्सक र प्राविधिकको सल्लाहमा वातानुकूलित खोर बनाउनुपर्छ जहाँ बाटो, बिजुली र पानी हुनुपर्छ । 

राजस्व
पुँजी लगानीको आधारमा राजस्व बुझाउनुपर्छ । औद्योगिक व्यवसाय ऐन ०७३ अनुसार १ लाख लगानी गरी व्यवसाय दर्ता गर्दा १ हजार १ सय राजस्व बुझाउनुपर्छ । जसको नवीकरण शुल्क ६ सय छ । त्यस्तै ३ लाखभन्दा माथिको व्यवसाय दर्ता गर्दा ३ हजार १ राजस्व र नवीकरण गर्दा १ हजार लाग्छ । ५ लाख लगानी गरी दर्ता गर्दा ६ हजार १ सय र नवीकरण शुल्क १ हजार ६ सय लाग्छ । २० लाख लगानी गर्दा १२ हजार १ सय राजस्व र ३ हजार नवीकरण शुल्क चाहिन्छ । १ करोडसम्म लगानी भए २० हजार १ सय राजस्व र ५ हजार नवीकरण शुल्क लाग्छ । ५ करोड लगानीमा ३० हजार राजस्व र ८ हजार नवीकरण शुल्क तिर्नुपर्छ । १० करोडसम्मको फर्म दर्ता घरेलुले हेर्छ । तर १० करोड लगानी गर्ने फर्म दर्ता गर्न व्यवसायको ईआईए गराउनुपर्छ । 
चल्ला कस्तो राख्ने भनेर भेटनरी डाक्टरको सल्लाह लिन जरुरी छ । कुन चल्ला राख्दा चाँडो नाफा आर्जन गर्न सकिन्छ त्यसमा पनि ध्यान दिनुपर्छ । बिचौलियाको समस्या हुनाले सीधै ह्याचरी उद्योगमा गएर चल्ला लिन सकिन्छ । ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा ६० रुपैयाँ छ । त्यस्तै लेयर्सको १ सय २० रुपैयाँसम्म छ । कुखुरा पाल्नुअघि यसबारे तालिम लिँदा व्यवसायबारे बढी जानकार भइन्छ । गैरसरकारी संस्थाले व्यवसायीलाई लगानी गरेका छैनन् । सरकारबाट कुनै किसिमको अनुदान छैन । वित्तीय संस्थामा धितो राखेर ऋण लिई व्यवसाय गर्ने गरिएको छ । बिनाधितो ऋण पाइँदैन । पोल्ट्रीमा ठूलो समस्या बर्डफ्लु हो । यसको बिमा छैन । सरकारले नीति ल्याए पनि बिमाले बर्डफ्लुलाई समेट्दैन । 

चल्ला व्यवस्थापन 
ह्याचरीबाट चल्ला आउनेबित्तिकै बाकसबाट निकाल्नुपर्छ । त्यसपछि सन्तुलित चिनीपानी (इलेक्ट्रो लाइट) सबैलाई खुवाउनुपर्छ । दुई दिनसम्म स्टाटर दाना खुवाउनुपर्छ । बी वान र फिनिसर दाना ३ देखि ४ हप्तासम्म दिइन्छ । ४ हप्तापछि नबेचुन्जेल फिनिसर दाना खुवाउनुपर्छ । यो ब्रोइलर कुखुराको हकमा हो । ब्रोइलर ६ देखि ७ साताभित्र बिक्री गरिसक्नुपर्ने हुन्छ । जुन ४ किलो दाना खुवाउँदा २ किलो मासु बन्नुपर्ने हुन्छ । 
वरिपरि कस्तो रोगको प्रभाव छ, हेर्नुपर्छ । रोगका रूपमा देखा पर्ने रानीखेतविरुद्धको भ्याक्सिन पहिलो ७ दिनभित्र लगाउनुपर्छ । त्यसपछि १२ देखि १४ दिनभित्र गम्बरोको पहिलो भ्याक्सिन दिनुपर्छ । २२ देखि २४ दिनमा दोस्रो गम्बरोको भ्याक्सिन दिनुपर्ने नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष डा. होमबहादुर बस्नेत बताउँछन् । २८ देखि ३० दिनमा रानीखेत रोगको पुन: भ्याक्सिन दिनुपर्छ । प्रकोप बढी भए भेटनरी डाक्टरको सल्लाहमा थप उपचार र भ्याक्सिन लगाउनुपर्छ । त्यस्तै चल्ला ल्याएको ३ देखि ५ दिनसम्म साधरण एन्टिबायोटिक र कीटाणुविरुद्धको औषधि दिनुपर्छ । गम्बरोको भ्याक्सिन लगाएपछि दोस्रो हप्ताभित्र एक साता मल्टी भिटामिन दिनुपर्छ । २५ दिनको भएपछि बी कम्प्लेक्स भिटामिन र लिभरटोनिक खुवाउनुपर्छ । यो ब्रोइलर कुखुराका लागि हो । 
लेयर्सलाई पनि दुई दिनसम्म स्टाटर दाना खुवाउनुपर्छ । ६ हप्तासम्म एल वान दाना दिनुपर्छ । ६ देखि १६ हप्तासम्म ग्रोबर दाना अर्थात् एल टु दाना दिनुपर्छ । एल थ्री दाना भने अण्डा उत्पादन गर्ने गरी दिनुपर्छ । १४ देखि १६ हप्तापछि अण्डा उत्पादन हुन थाल्छ । यसलाई प्रकाश (उज्यालो) को महत्त्व बढी हुन्छ । २० हप्ता पुग्दा यसलाई १६ घण्टा प्रकाशको आवश्यकता पर्छ ।

खोर कस्तो हुनुपर्छ ? 
खोर राम्रोसँग सफा गर्नुपर्छ । २ देखि ३ इन्चमा धानको डँडाल्नु बाक्लो बनाएर भुइँमा राख्नुपर्छ । त्यसलाई कागजले छोपेर चल्ला राख्नुपर्छ । दानाको भाडा र पानीको भाडा लाइनमा मिलाएर राख्नुपर्छ । पहिला खोरको तापक्रम ३२ देखि ३५ डिग्री सेल्सियस अर्थात् ९५ डिग्री फरेनहाइट हुनुपर्छ । दोस्रो साताबाट ९०, तेस्रोबाट ८५ र चौथोबाट ८० डिग्री फरेनहाइटमा राख्नुपर्छ । लेयर्सलाई पनि यसरी नै राख्न सकिने अध्यक्ष बस्नेत बताउँछन् ।

कर कति ? 
व्यवसायको आम्दानीका आधारमा कर तिर्नुपर्छ । नाफाको २५ प्रतिशत कर बुझाउनुपर्ने हुन्छ । यो व्यवसायमा लाग्नेका लागि सरकारले खासै केही अनुदान व्यवस्था गरेको छैन । ५ प्रतिशत ब्याजमा ऋण रकम उपलब्ध गराउने भनिए पनि किसानले पाउन सकेका छैनन् । बैंकबाट ऋण लिएर किसानले यो क्षेत्रमा लगानी गर्दै आएका छन् । लगानी महँगो भए पनि परिवार पाल्ने राम्रो आधार कुखुरा बन्ने गरेको छ । 

बैंकिङ सुविधा
पशु तथा पन्छी पालन व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट ६ प्रतिशत ब्याजदरमा ऋण सुविधा पाइन्छ । यसअन्तर्गत बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्छन् । त्यसमध्ये ६ प्रतिशत ब्याज किसानले तिर्नुपर्छ । बाँकी ४ प्रतिशत ऋण सरकारले बैंकलाई भुक्तान गरिदिन्छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले ६ प्रतिशतको ब्याजदर घटाएर ५ प्रतिशत बनाएको छ । तर, त्यो कार्यान्वयनमा आइसकेको छैन । त्यो कार्यान्वयनमा आएपछि किसानले ५ प्रतिशतमा ऋण पाउने छन् । ऋणको अधिकतम सीमा १ करोड रुपैयाँ कायम गरिएको छ । तर, व्यवसायको सम्भावना र मुनाफाका आधारमा बैंकले उक्त सीमा बढाउन सक्नेछ । परिपक्व अवधि बढीमा पाँच वर्षको हुनेछ । नागरिकताको फोटोकपीसँगै आफ्नो फार्मको सम्पूर्ण कागजात, धितो राख्न मिल्ने सम्पत्तिको कागजपत्र आदि । 

आयातित कच्चा पदार्थ
पोल्ट्रीका लागि चाहिने कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने बाध्यता छ । ‘आवश्यकता बढिरहेको छ, उत्पादन घटिरहेको छ,’ पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईले भने, ‘कच्चा पदार्थका लागि करिब १५ अर्ब कृषिजन्य वस्तु विदेशबाट आयात हुने गरेको छ ।’ आफ्नै मुलुकमा उत्पादन गर्न सकिए सस्तो र समयमै पाइने उनले बताए । नीतिगत रूपमा कृषि भनिए पनि कृषिसरह सेवासुविधा नपाइएको गुनासो विज्ञहरूले गरे । 

 

“कर्मचारी बने किसान”
 - नेत्र हमाल

मैले सरकारी सेवामा २२ वर्ष बिताएँ । उमेर ५३ वर्ष भयो । कृषि कार्यालयमा प्राविधिक सहायकको काम गर्थें । जागिरकै सिलसिलामा ०५३ सालमा कुखुरापालनमा हात हालें । ०६३ सालमा सेवाबाट पेन्सन पकाएँ । सुरु ३ सय २० लेयर्स कुखुराबाट गरें । अहिले फार्ममा १३ हजार २ सय ६० कुखुरा छन् । घरकै आडमा खोर बनाएर कुखुरा पालेको छु । 
भरतपुर १६ ढड्डाघारीस्थित छहारी चोकमा घर छ । फर्मको नाम नवीन पोल्ट्री राखेको छु । थोरै कुखुरा भएकाले ०६३ सालमा मात्र फर्म दर्ता गराएँ । व्यवसाय ठूलो हुँदै गएको छ । आम्दानीको स्रोत पनि बढ्दै गएको छ । चल्ला सहज रूपमा पाइन्छ । बजारमा अण्डाको मूल्य कम भएका बेला चल्लाको मूल्य पनि घट्छ । ह्याचरीबाट चल्ला ल्याएर वातावरण अनुकूल बनाउनुपर्छ । 
बिहान सबेरै उठ्छु । कुखुराको रेखदेखमा व्यस्त हुन्छु । यो व्यवसायमा सबैभन्दा ठूलो समस्या बर्डफ्लुको छ । सरकारी राहत छ । क्षति ठूलो भए पनि कुखुराको संख्याको आधारमा राहत पाइन्छ । बजार स्थिर छैन । बिचौलियाको समस्या छ । 
चितवनको मुख्य बजार काठमाडौं हो । यहाँ उत्पादन भएको पोल्ट्रीजन्य पदार्थ काठमाडौं पठाइन्छ । पोल्ट्रीमा लगानी बढी छ । जोखिम पनि उस्तै छ । तर यही व्यवसायको बिमा छैन । सरकारले कृषि क्षेत्रलाई ५ र ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भनेको भए पनि त्यो पाउन सकिएको छैन । सरकारी सुविधा त केही पाइएको छैन । सामान्य किसानले ऋण पाउन समस्या हुन्छ । 
कुखुरापालन घर धान्ने आधार बनेको छ । श्रीमती शोभाले व्यवस्थापनको काम हेर्छिन् । ३ जनालाई रोजगार दिएको छु । २ छोरालाई यसैको आम्दानीले पढाएको छु । आफैं कृषि प्राविधिक सहायक भएकाले व्यवसायबारे बढी सचेत छु । खोरमा नयाँ मान्छेलाई प्रवेश गर्न दिन्न । अण्डा ढुवानी गर्दा गेटमा सवारी साधन राखेर मात्र ढुवानी गराउँछु । खोरमा जाने छुट्टै चप्पल व्यवस्था गरेको छु । अहिलेसम्म ठूलो विपत्ति आइपरेको छैन । पहिल्यै सुरक्षा अपनाउनु राम्रो हुन्छ । पेसाबाट सन्तुष्ट छु । अब कतै गएर काम गर्नु छैन । सिक्न आउनेलाई कुखुरापालन व्यवसायबारे सिकाउने गरेको छु । छोराहरूले समेत यो पेसामा सघाउँछन् । काम ठूलो सानो हुँदैन । काममा सधैं एकाग्रता र धैर्यता हुनुपर्छ । व्यवसायप्रति सधैं सचेत हुनुपर्छ । मेहनत गर्दै गएपछि एक दिन अवश्य सफल भइन्छ ।
(कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन ६, २०७३ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?