कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाठशाला बन्यो होमस्टे

प्रतीक्षा काफ्ले

स्याङ्जाको पञ्चमूल ४ सिरुबारीमा २०५४ सालदेखि थालिएको होमस्टे सेवा नेपालकै पुरानो मानिन्छ । चिटिक्क र झुरुप्प परेको गुरुङ बस्तीमा ढुंगा बिछयाएर बनाइएको सफा र फराकिला बाटाघाटा, सहरकै होटलसरह शौचालय, बाथरुम र खानेपानीको सुविधा भएको गाउँमा पर्यटकलाई स्वागत–सत्कार पनि भव्य रूपले गरिन्छ ।

पाठशाला बन्यो होमस्टे

त्यही कारण यो गाउँ विदेशमा समेत चिनिन्छ । सिरुबारी घुम्नलायक उत्कृष्ट ग्रामीण पर्यटन केन्द्र मात्रै बनेको छैन, अनुसन्धान र होमस्टेको तालिम केन्द्रसमेत बनेको छ । 

स्थानीयको आतिथ्य र व्यवस्थापन पक्षका कारण सिरुबारीमा आन्तरिक र बाहय पर्यटकको संख्या बर्सेनि बढ्दो छ । पछिल्लो समय देशका विभिन्न स्थानबाट होमस्टे सञ्चालन तथा व्यवस्थापन पक्षबारे आवश्यक जानकारीका लागि आउने गरेका छन् । सिरुबारीलाई सरकारले ०५४ सालमा ग्रामीण पर्यटन केन्द्र घोषणा गरेपछि यहाँ पर्यटकीय चहलपहल बढेको पर्यटन विकास व्यवस्थापन समिति सिरुबारीका संयोजक जुमबहादुर गुरुङले बताए । तत्कालीन कांग्रेस सांसद रुद्रमान गुरुङको पहलमा सिरुबारीमा होमस्टे सञ्चालनमा आएको हो । आमा समूह, युवा क्लबलगायतको छाता संस्थाको रूपमा रहेको पर्यटन विकास समितिले पर्यटनको सबै काम गर्दै आएको छ । 
अन्यत्रका होमस्टे सञ्चालकहरू आन्तरिक तथा बाहय ब्यवस्थापकीय पक्षको विषयमा जानकारी लिन सिरुबारी आउने गरेका छन् । उनीहरू सिरुबारी अवलोकन गरी पर्यटकको स्वागतदेखि बिदाइसम्मका गतिविधि सिकेर फर्किन्छन् । बास बस्न आएकालाई रैथाने परिकारको स्वाद र स्थानीय सांस्कृतिक कार्यक्रममार्फत स्थानीयले पाहुनालाई स्वागत गर्छन् । 
सिरुबारी पुग्ने पहिलो पर्यटक अस्ट्रेलियाका ग्रामीण पर्यटनविद् डा. टोनी पार्क हुन् । स्थानीय महिलाको उत्साहबाट प्रभावित भई गाउँका अगुवा तथा पूर्वसांसद गुरुङले पार्कलाई सिरुबारी लगेका थिए । पर्यटन कार्यालय पोखराका तत्कालीन प्रमुख पदमबहादुर केसी र टोनीले सिरुबारीको ग्रामीण पर्यटनसम्बन्धी खाका बनाएका थिए । सिरुबारीले सरकारी निकायबाट अहिलेसम्म ६० लाख रुपैयाँ अनुदान पाएको संयोजक गुरुङले बताए । गाउँमा पुग्ने पर्यटकलाई कुन घरमा राख्ने भन्ने समितिले निर्णय गर्छ । मेनुअनुसारको रकम पर्यटकले समितिमा जम्मा गर्नुपर्छ । जम्मा भएको रकम समितिले पछि सञ्चालकलाई बाँडिदिन्छ । 
सिरुबारीमा हाल मासिक करिब ७ सय पर्यटक आउँछन् । दुई दशकको यो अवधिमा ३५ हजारभन्दा बढी पर्यटक आएको रेकर्ड समितिसँग छ । आन्तरिक पर्यटक बढी छन् । गाउँका २७ घरमा होमस्टे सञ्चालनमा ल्याइएको छ । 

प्रकाशित : फाल्गुन ६, २०७३ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?