१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

क्लियरिङ बैंक थपिने

कान्तिपुर संवाददाता

काठमाडौं — सेयर कारोबार राफसाफ तथा क्लियरिङका लागि सीडीएस एन्ड क्लियरिङले बैंक थप्ने प्रक्रिया सुरु गरेको छ । हाल एउटा बैंकमार्फत कारोबार राफसाफ तथा फछ्र्योट हुदाँ देखिएका विभिन्न समस्या समाधानका साथै क्लियरिङ प्रक्रियालाई छिटो र व्यवस्थित बनाउने उद्देश्यले थप तीनवटा बैंक थप्न लागिएको नेप्सेले जनाएको छ ।

धितोपत्र बोर्डबाट धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट (तेस्रो संशोधन) विनियमावली, २०७३ स्वीकृत भएपछि सीडीएसलाई क्लियरिङ बैंक थप गर्न बाटो खुलेको हो । सीडीएस नेप्सेको पूर्ण स्वामित्व रहेको कम्पनी हो । 

सीडीएस एन्ड क्लियरि स्थापना भएयता एउटा मात्र बैंकमार्फत राफसाफ तथा क्लियरिङ हुँदै आएको छ । सेयर कारोबार बढेको समयमा समेत एउटा मात्र क्लियरिङ बैंक हुँदा ढिलासुस्ती, सेवा प्रभावकारी नभएको लगायत विभिन्न गुनासाहरू आएका थिए । यी गुनासाहरूलाई मध्यनजर गर्दै क्लियरिङ बैंक थप्न सफ्टवेयर स्तरोन्नतिका साथै नीतिगत व्यवस्था पनि गरिएको थियो । 
नेप्सेका अनुसार खुला प्रतिस्पर्धाका आधारमा क्लियरिङ बैंक थप गरिनेछ । यसका लागि सीडीएसले १५ दिनको समयावधि दिएर आइतबार सूचना आह्वान गर्दै छ । यसरी माग गरिएको आशयपत्रमा इच्छुक वाणिज्य बैंकहरूले आवेदन दिन सक्नेछन् । क्लियरिङ बैंक छनोटका लागि आवेदन प्राप्त वाणिज्य बैंकहरूमध्ये चुक्ता पुँजी बढी भएको, भौतिक तथा प्राविधिक पक्ष सुदृढ भएको, आस्बा प्रणालीको सदस्य भएको, डीपी लाइसेन्स प्राप्त गरेको, विस्तारित शाखा सञ्जाल भएको, सरकारी कारोबार गर्ने गरेको लगायतका मापदण्डलाई आधार बनाइने जनाइएको छ । ‘प्रतिस्पर्धात्मक प्रक्रियाबाट तीन बैंक थप गरिनेछन् । यसबाट धितोपत्र लगानीकर्तालगायत सरोकारवालाले धितोपत्र कारोबार, राफसाफ तथा फछ्र्यौटमा थप सहजता प्राप्त गर्ने विश्वास लिइएको छ,’ नेप्सेद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित : फाल्गुन १५, २०७३ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?