एउटै वनबाट ६० ट्रक

खयरको अवैध कटान
डम्बरसिं राई

धितुङ (खोटाङ) — जिल्लाको पश्चिमी गाविस धितुङस्थित चौतारा रानीवन र सल्लेनी तारेभीर सामुदायिक वनबाट ठूलो परिमाणमा खयरको अवैध कटानी तथा निकासी गरिएको पाइएको छ ।

एउटै वनबाट ६० ट्रक

धितुङ–६ र ७ मा पर्ने चौतारा रानी सामुदायिक र वडा नं ५ र ८ मा पर्ने सल्लेनी तारेभीर सामुदायिक वनको खयर अनुमतिबिनै कटान गरिएको हो ।
चौतारा वनबाट ६० ट्रकभन्दा बढी खयर रातारात निकासी गरिएको धितुङ–६ का स्थानीय बताउँछन् । जिल्ला वन कार्यालयको रेकर्डमा भने धितुङ–७ का ज्ञानबहादुर राईले १८ र चिनासरी राईले ९ वटा खयरको मात्र कटानी आदेश लिएको देखिन्छ । व्यक्तिका नाममा कटानी आदेश लिए पनि सामुदायिक वनको खयर सखाप पारिएको स्थानीयको आरोप छ । यसबारे धितुङमा ठूलो विवाद भएपछि वन कार्यालयलाई जानकारी गराउँदा बेवास्ता गरेको उनीहरूको भनाइ छ ।
दुर्छिम गाविसमा पनि निजी जग्गाको भन्दै सामुदायिक वनको खयर कटानी गरिएको छ । दुर्छिमका वडा नं २ र ३ मा पर्ने मार्से साम्भाला कुडुले र वडा नं ४ मा पर्ने आम्का सुकसे सामुदायिक वनको खयर कटानी गरिएको स्थानीय उपभोक्ताले जनाए । दुर्छिम गाविसबाट निजी जग्गाको २३ सय ९० क्युुफिट निकासीका लागि स्वीकृति लिएको वनको रेकर्डमा उल्लेख छ ।
सामुदायिक वन उपभोक्ता समूहकै पदाधिकारीको मिलेमतोमा व्यक्तिको जग्गाको भन्दै सामुदायिक वनको खयर कटानी गरिएको स्थानीयको भनाइ छ । ‘सामुदायिक वनको खयरबाट विद्युतमा सहयोग गर्ने भनेपछि बोल्नै अप्ठेरो भइरहेको छ,’ दुर्छिम–४, चुमाखुका एक स्थानीयले भने, ‘विद्युत्का लागि रकम उठ्न नसकेकाले सामुदायिक वनको खयरबाट रकम उठाएर बिजुली बाल्ने योजना बनाइएको हो ।’
स्थानीयले धितुङ र दुर्छिमका सामुदायिक वनको खयर कटानी तथा निकासीमा उपभोक्ता समितिका पदाधिकारी नै संलग्न रहेको आरोप लगाएका छन् । यसबारे छानबिन गरी संलग्नलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ ।
जिल्ला वन कार्यालयका प्रमुख लोकराज नेपाल अनुमतिविना सामुदायिक वनको खयर कटानी गरिए कारबाही हुने बताए । ‘अनुमतिबिनै सामुदायिक वनको खयर कटानी भएको भन्ने गुनासो आयो,’ उनले भने, ‘अनियमित कटानी भएको रहेछ भने कारबाही हुन्छ, वन कर्मचारीको संलग्नता पाइए उनीहरूलाई पनि कारबाही गरिन्छ ।’

काठ चोरीनिकासी बढ्दै
धनकुटा– जिल्लामा काठको चोरीनिकासी बढ्दै गएको छ । दुई साता नबित्दै दुइटा समान प्रकृतिका घटना भएका छन् । प्रहरीले राजारानीबाट अवैध रूपमा निकासी गर्दै गरेको अवस्थामा ट्रयाक्टरसहित १४ थान खयर नियन्त्रणमा लिएको छ । को१त ९६४४ नम्बर ट्रयाक्टरमा राखेर लैजाँदै गर्दा प्रहरीले फेला पारेको हो ।
ट्रयाक्टर र काठ सोमबार इलाका वन कार्यालयलाई जिम्मा लगाइएको छ । यसअघि प्रहरीले को२त ३०९८ नम्बर ट्रयाक्टरमा राखेर सदरमुकामतर्फ लैजाँदै गरिएको १ सय २२ थान सिसौका चिरान काठ नियन्त्रणमा लिई जिल्ला वनमा बुझाएको थियो ।
काठ चोरीनिकासीबारे अनुसन्धान गरी मुद्दा चलाइने वन कार्यालयका निमित्त प्रमुख मोदनाथ झाले बताए । गत आइतबार प्रहरीले नियन्त्रणमा लिएको काठ र ट्रयाक्टर इलाका वनमा रहेकाले त्यहाँबाट थप जानकारी आएपछि अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
यसअघि प्रहरीले वन कार्यालयलाई बुझाएको काठको परिमाण ६१ दशमलव ६८ क्युफिट फुट रहेको छ । यसको बजार मूल्य एक लाख रुपैयाँभन्दा बढी हुने इलाका वन कार्यालयका सहायक वन अधिकृत रामबाबु यादवले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १८, २०७३ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?