चैते धान खेतीलाई राहत

कान्तिपुर संवाददाता

टीकापुर — चैते धान खेतीमा सरकारले ५ हजार अनुदान र बीउ नि:शुल्क दिने भएपछि किसानलाई राहत हुने भएको छ । बृहत् रूपमा चैते धान उत्पादन गर्न यस्तो सहुलियत दिन लागिएको जिल्ला कृषि कार्यालयले जनाएको छ ।

कृषि विकास कार्यालय कैलालीले यो वर्ष ३ सय हेक्टर क्षेत्रफलमा चैते धान लगाउने लक्ष्य राखेको हो । जिल्ला कृषि प्रसार अधिकृत गौरीशंकर गुप्ताका अनुसार एक हेक्टर धान लगाउनेलाई ५ हजार अनुदान र बीउ नि:शुल्क दिइने छ । उनी भन्छन्, ‘प्रतिहेक्टर ५ मेट्रिक टन धान फलाउनेलाई थप ५ हजार प्रोत्साहन रकम प्रदान गरिने छ ।’ एकल तथा सामूहिक रूपमा १५ कट्ठा जग्गाभन्दा माथि खेती गर्नेलाई मात्र कृषिले सहयोग गर्न लागेको हो । गुप्ताले भने, ‘चैते धानप्रति आकर्षित तथा प्रोत्साहित गर्न प्रतिहेक्टर ५ हजारका दरले एकल किसानलाई र सामूहिक खेतीमा ५ हेक्टरसम्म गर्ने समूहलाई १० हजारका दरले सहयोग दिइने छ ।’
करिब २६ अर्ब रुपैयाँको चामल आयात भएको तथ्यांक भएकाले यसमा आत्मनिर्भर गराउन सरकारले यस्तो योजना ल्याएको कृषि विकासले जनाएको छ । कैलालीमा लामो समयदेखि मुनुवा, भजनी, लालबोझी र थापापुर गाविसका केही किसानले चैते धान लगाउँदै आएका छन् । चैते धानमा सहुलियत दिन थालेपछि यसतर्फ आकर्षण पनि बढदै गएको छ । 
गत वर्ष १ सय ४७ हेक्टरमा धान खेती गरिएको कृषि विकासको तथ्यांकमा उल्लेख छ । यस वर्ष २ सय ५४ हेक्टरमा धान लगाइने गुप्ताले बताए । उनले भने, ‘चैते धानका लागि कृषि विकासले इरी नामक संस्थाको सहयोगमा डीआरआर र हर्दिनाथ १ जातका बीउ वितरण गरेको छ ।’

प्रकाशित : फाल्गुन १८, २०७३ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?