संकटमा लाटोकोसेरो

कान्तिपुर संवाददाता

पाल्पा — तानसेनस्थित हाइटलेक होटलको छतमा काग झुम्मिएर कराउन थाले । होटल स्टाफ छतमा उक्लिए । त्यहाँ गोठे लाटोकोसेराको बच्चा देखिए । ‘धेरै पटक यस्ता बच्चा देखिसक्यौं,’ होटल व्यवस्थापक रामप्रसाद खनालले भने, ‘समय भएपछि आफैं उड्छन् ।’

तानसेनकै वसन्तपुरको एक घरको छतमा पनि गोठे लाटोकोसेरोको बासस्थान छ । कसैले नचलाउने भएकाले उनीहरू हुर्कंदै गएका छन् । तर, यिनको संरक्षण कसैबाट हुन सकेको छैन । भुवनपोखरीका रामप्रसाद पाण्डेयका अनुसार घरको छत र कोप्चो परेको स्थानमा बस्न रुचाउने लाटोकोसेरो पहिले छ्याप्छ्याप्ती देखिन्थे । ‘अहिले देखिन छाडे,’ उनले भने, ‘संरक्षण गर्ने निकाय को हो, थाहा भएन ।’ संरक्षण नहुँदा लाटो कोसेराको अस्तित्व संकटमा छ । चोरी सिकार र अवैध व्यापारमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय अवैध व्यापारसमेत बढेको छ । अरेबियन मुलुकहरूमा यसको माग हुने भएकाले भारतीय मार्ग हुँदै तस्करहरूले विदेश पुर्‍याउने गर्छन् । कतिपयले भारत र चीनमा निकासी गर्ने गरेको पाइन्छ । ‘तान्त्रिक विधिमा प्रयोग हुने अन्धविश्वास छ,’ हुमिनका विमल पौडेलले भने, ‘यसको मासु खाएमा दमको रोग निको हुने विश्वासले पनि जोखिममा छन् ।’ सरकारले लाटोकोसेरो चोरी सिकारमा बन्देज लगाएको छ । जिल्ला वन कार्यालयले संरक्षणमा भने कुनै चासो दिएको छैन । सहायक वन अधिकृत मोहम्मद अतिउत्लाहका अनुसार वन्यजन्तु संरक्षण सहयोग आयोजना लागू नभएकाले यससम्बन्धी वनको कुनै कार्यक्रम छैन । उनले लाटोकोसेरालाई संरक्षित पक्षीभित्र राखेको बताए ।

प्रकाशित : फाल्गुन २२, २०७३ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?