३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कप्तान पारसबिनै उत्रने !

विश्व क्रिकेट लिग च्याम्पियनसिप
विनोद पाण्डे

काठमाडौं — कप्तान पारस खड्काबिनै नेपालले केन्यासँग विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने लगभग निश्चित भएको छ । नेपाल र केन्याबीच शनिबार र सोमबार खेल हुँदै छ । पारस शनिबार हुने खेलमा नखेल्ने करिब पक्काजस्तै भएको हो ।

कप्तान पारसबिनै उत्रने !

नेपाली टिम स्रोतका अनुसार शनिबार पारसले खेल्ने छैनन् । उनको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई खेलाइने भएको छ । अलराउन्डरद्वय महबुब आलम र दीपेन्द्रले छैटौं र सातौं नम्बरमा ब्याटिङ गर्ने छन् । सागर पुनले पारसले नियमित रूपमा खेल्ने चौथो नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । पारसको स्वास्थ्यस्थिति शनिबारको लागि मात्र भएको स्रोतले जनाएको छ । उनको अनुपस्थितिमा कप्तानी जिम्मेवारी ज्ञानेन्द्र मल्लले लिने छन् ।
रिकरेन्ट एपेन्डिसाइटिस बिथ इन्टेसनाइनल अब्स्ट्रक्सन भएकाले अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियालाईसि तथा की होल सर्जरी (गुजुल्टिएका आन्द्राहरू मिलाउने) एवं इमर्जेन्सी ल्याप्रोस्कोपिक एपेन्डिक्टोमी गरिएको थियो । त्यसपछि फागुन ८ मा ग्रान्डी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका थिए । पारसलाई त्यसबाट निको हुन तीनसाता लाग्ने बताइएको थियो ।
नेपाली राष्ट्रिय टोलीले दिल्लीमा अभ्यास खेल खेले पनि पारस भारत गएनन् । सोमबारमात्र पारस अभ्यासमा फर्किएका थिए । उनले नेट्समा सामान्य ब्याटिङ मात्र गरे । उनलाई ब्याट टाउकोमाथि पुर्‍याउन पनि गाह्रो परेको देखिन्थ्यो । अभ्यासमा निहुरिएर फिल्डिङ गर्दा पनि उनले गाह्रो महसुस गरेका थिए । बलिङ प्रशिक्षक विनोद दासले ग्राउन्ड फिल्डिङ गराइरहेको समयमा पारसलाई ‘हाइ बल’ फाल्न आग्रह गरेका थिए ।
प्रशिक्षक जगत टमाटा र पारसले सञ्चारमाध्यमसँग कुरा गर्दै शुक्रबार साँझ वा खेल हुने दिन बिहान मात्र खेल्ने/नखेल्ने निर्णय हुने बताएका थिए । तर शुक्रबारै नेपाली टिमको बैठकमा पारसले खेल्ने सम्भावना नरहेको स्थिति बनेको हो । पारसले आफ्नो स्थिति निश्चित नभएको तर पछिल्लो तीन दिनमा धेरै सुधार भएको र ६० प्रतिशत खेल्ने सम्भावना बनेको बताउँदै आएका थिए । सोही क्रममा उनले भनेका थिए, ‘मैले सक्ने भए म खेल्थें ।’ प्रशिक्षक टमाटाले भनेका थिए, ‘पारस नखेले पनि हामी शतप्रतिशत खेल्न तयार छौं । उसले नखेलेमा कसलाई खेलाउने भनेर योजना बनाएका छौं ।’ पेटकै समस्याका कारण गत वर्ष च्याम्पियनसिपकै नामिबियाविरुद्धको खेलअघि पनि पारस अस्वस्थ थिए । फिट भएर दोस्रो खेल खेल्दा उनले शतक बनाउँदै नेपाललाई जित दिलाएका थिए ।

हामी लयमा छौं : टमाटा
डेढ महिनादेखि हाम्रो तयारी निकै राम्रो छ । टिम लयमा छ र सन्तुलित पनि छ । शारीरिक र मानसिक रूपमा खेलाडीहरू फिट छन्, त्यसैले सबै राम्रो भएको छ । केन्यासँगको खेल हाम्रा लागि चुनौती पनि छ । केन्या निश्चय पनि बलियो टोली हो । तर च्याम्पियनसिपमा सबै उस्तै टोली हुन्छन् । हाम्रो तयारी पनि त्यहीअनुरुप छ । केन्याको फास्ट बलिङ राम्रो छ । स्पिन बलिङ ठीकै छ । मध्यक्रमको ब्याटिङ राम्रो छ । हामीले त्यसलाई केलाइरहेका छौं ।
यसअघि केन्यासँग हामी प्रतिस्पर्धात्मक खेल हारेका थियौं, तर अहिले हामीसँग घरेलु मैदानको फाइदा छ । उनीहरूले धेरै दर्शकमाझ त्यति खेलेका पनि छैनन् । दर्शकले सँधैं हामीलाई सहयोग गर्ने हो । त्यसैले हामी राम्रो क्रिकेट खेलेर जित्ने प्रयास गर्नेछौं ।
भोलिको विकेट हेरेर हामी टिम तयार गर्नेछौं । तर राम्रोभन्दा राम्रो खेल्न हामी मानसिक रूपमा तयार छौं । विकेटमा हिजोसम्म घाँस थियो । अहिले अलि–अलि काटिएको छ । घाँस बढी भएको भए हामी एक अतिरिक्त तीब्र बलर लिएर खेल्ने थियौं । हाम्रो शक्ति भनेको सबैलाई थाहै छ स्पिनर हो । झन यस्तो विकेटमा तीन स्पिनर नै लिएर खेल्ने छौं । सबैलाई थाहा छ च्याम्पियनसिपमा केन्यासँगको यो दुई खेल हाम्रा लागि कति महत्त्वपूर्ण छ भनेर । यो जित्यौं भने हामीलाई अगाडिको बाटो अलि सजिलो हुन्छ ।
हाम्रो ब्याटिङ लाइनअप राम्रो छ । ओपनिङ, मध्यक्रम र तल्लोक्रम राम्रो छ । मध्यक्रममा महबुब आलम, दीपेन्द्र ऐरी र विनोद भण्डारी छन् । उनीहरू फर्ममा पनि छन् । हामीले फर्ममै भएका खेलाडी छानेका हौं । ओपनिङमा नयाँ अनुहार छ । सुनील धमलाले ज्ञानेन्द्र मल्लसँग ओपनिङमा ब्याटिङ गर्नेछन् ।

वर्षा बाधक हुनसक्ने
शनिबार हुने खेल वर्षाले बिथोलिने सम्भावना त्यत्तिकै छ । राजधानीमा शुक्रबार बिहानदेखि वर्षा हुन सुरु भएको थियो । बिहानी वर्षा सामान्य थियो । जसले मैदानमा कुनै प्रभाव पारेन । नेपाली टोलीले दिउँसो साढे १२ बजे आफ्नो अभ्यास सकायो । १ बजे केन्या मैदानमा आएसँगै जगिङ सुरु गरेको थियो । त्यसलगत्तै वर्षाले केन्याको अभ्यास बिथेलेको थियो । आधा घन्टाभन्दा बढी वर्षा भयो । त्यो रोकिएपछि केन्याले आफ्नो अभ्यास पूरा गरेको हो ।
४ बजेदेखि पुन: वर्षा भयो । त्यो झन्डै १ घन्टासम्म चलेर रोकिएको थियो । साँझ फेरि असिनासहितको वर्षा भयो र रातमा त्यो क्रम जारी थियो । मौसम विभागले शनिबार पनि वर्षा हुने अनुमान गरेको छ ।
शनिबार खेल नभए वा खेल आधा रोकिएमा आइतबार रिजर्भ डे मा खेलाइने छ ।

केन्याको शक्ति बलिङ हो
राकेप पटेल
कप्तान, केन्या
घरेलु समर्थकले मनोबल बढाउनुका साथै राम्रो खेल्ने दबाब पनि हुन्छ । यो खेल दुई टिमका लागि निकै महत्त्वपूर्ण र दुवैलाई अंक महत्त्वपूर्ण छ । हामीलाई माथि जान कम्तीमा एक खेल जित्नैपर्छ । हाम्रो शक्ति बलिङ हो । फास्ट बलिङ राम्रो छ । ब्याटिङ राम्रै भइरहेको छ । दुई वा तीन वरिष्ठ खेलाडी चल्यो भने ब्याटिङ पनि राम्रो हुन्छ । यो पिचमा २ सय ५० वा २ सय ६० बनायो भने रक्षा गर्न सकिन्छ । नेपाल सँधैं धेरै राम्रो टोली हो र विपक्षीलाई कडा चुनौती दिन्छ । हामीले आफ्नो आधारभूत खेल देखाउनै पर्छ । हामीले भारतको बरोडामा तीन अभ्यास खेल खेलेर जित्यौं । राम्रो अनुभव पनि बटुल्यौं । तर खेलका दिन आफ्नो योजनाअनुसार कति खेल्न सक्छौं त्यो महत्त्वपूर्ण हुन्छ । त्यसै पनि नेपालमा खेल्नु चुनौतीपूर्ण छ र यहाँको कन्डिसन फरक छ । विकेट स्लो छ ।

प्रकाशित : फाल्गुन २८, २०७३ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?