१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

छोटकरी

काठमाडौं — कम उमेरमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा रही महत्त्वपूर्ण भूमिकामा सक्रिय युवा सुदिश निरौलाको सम्झनामा ‘सुदिश निरौला मेमोरियल ट्रस्ट’ स्थापना गरिएको छ । २९ वर्षीय निरौलाको गत साउनमा काठमाडौंमा भएको सडक दुर्घटनामा निधन भएको थियो ।

सुदिश निरौला ट्रस्ट स्थापना

काठमाडौं (कास)–
जापान सरकारको छात्रवृत्तिमा विद्यावारिधि गर्न जान लागेका उनको सामाजिक योगदानलाई जीवन्त तुल्याउन स्थापित ट्रस्टले अक्षयकोष खडा गरी शैक्षिक छात्रवृत्ति, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, सीमान्तकृत, गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । यसैगरी गरिब तथा असहाय नागरिकको सामजिक सुरक्षा र स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन सामुदायिक अस्पताल, अनाथालय तथा आश्रम सञ्चालन गर्ने उद्देश्यसमेत राखिएको ट्रस्टकी अध्यक्ष टेकमाया बराल निरौलाले जानकारी दिइन् ।

गान्धी स्कुलमा सीसीटीभी
काठमाडौं (कास)– काँडाघारीस्थित गान्धी आदर्श माविका सबै कक्षामा २७ वटा सीसीटीभी जडान गरिएको छ । सीसीटीभीमार्फत कक्षामा पढाएको निगरानी गर्न सकिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधेश्याम खडकाले बताए । ‘यसले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्नेछ,’ उनले भने । 

फरार अभियुक्त पक्राउ
काठमाडौं (कास)– अपहरण मुद्दामा २ वर्ष कैद सजाय भुक्तान नगरी फरार अभियुक्त भाष्कर पनेरूलाई प्रहरीले पक्राउ गरेको छ । २०६९ भदौ १३ गते रूपन्देही जिल्ला अदालतले नैकाप काठमाडौं बस्ने पनेरूलाई १५ हजार जरिवाना र कैद सजाय सुनाएको थियो । २०६७ मा रूपन्देही टिकुलीगढका कृष्णप्रसाद भुसालले आफूलाई तराई मुक्ति मोर्चाको केन्द्रीय सदस्य भएको बताउँदै भारतीय नम्बरबाट फोन गरी बुटवलका चण्डीप्रसाद पाण्डेसँग २ लाख रुपैयाँ चन्दा मागेका थिए । भुसालले रकम नदिए अपहरण गर्ने र ज्यानै लिनेसम्मको धम्की दिएका दिए । धम्कीबापत प्राप्त रकम राख्न भुसालले सिद्धार्थ डेभलपमेन्ट बैंकमा विवेक थापाका नाममा आफ्नो फोटो टाँसी खाता खोलेका थिए । काठमाडौंमा रहेका पनेरूले बैंक खाता खोल्न विवेकको नागरिकता उपलब्ध गराएको अनुसन्धानबाट खुलेको थियो । यसरी खोलिएको खातामा पीडितहरूले पटक–पटक गरी २ लाख २३ हजार रुपैयाँ जम्मा गरेका थिए । घटनालगत्तै पक्राउ परेका भुसालले २ वर्षको कैद सजाय भुक्तान गरे पनि पनेरू भने फरार थिए । ब्युरोले नैकापबाट उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाएको छ ।

प्रकाशित : चैत्र ८, २०७३ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?