कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आचारसंहिता मिचेर पार्टी कार्यक्रममा

ऊर्जामन्त्री जनार्दन शर्मा शनिबार माओवादी केन्द्र गोरखा नगरपालिकाको सम्मेलनमा सहभागी भए । प्रजिअसहितको टोली पनि गैससको आग्रहमा भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा खटियो ।
सुदीप कैनी

गोरखा — निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू गरे पनि जिल्लामा मन्त्रीदेखि कर्मचारीसम्मले त्यसको उल्लंघन गरेका छन् । ऊर्जामन्त्री जनार्दन शर्मा शनिबार आचारसंहिता विपरीत माओवादी केन्द्र गोरखा नगरपालिकाको सम्मेलनमा सहभागी भए ।

सदरमुकामस्थित रानीपोखरीमा सम्मेलनको उद्घाटन कार्यक्रम राखिएको थियो । शर्मा मन्त्रीको झन्डावाल गाडीमा सदरमुकाम आएका थिए । उनको स्वागतमा माओवादीले आँबुखैरनीदेखि मोटरसाइकल र कार र्‍याली आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि शर्मा नै भए पनि उद्घाटन भने माओवादीका प्रदेश नम्बर ४ का संयोजक हरि अधिकारीले गरे । शर्माले शुभकामना मन्तव्य राखेका थिए । सदरमुकामको एक होटलमा बुढीगण्डकी जलविद्युत् आयोजनाको बैठकपछि उनी कार्यकर्ताको गाडी चढेर सभास्थल पुगेका थिए । प्रजिअ जितेन्द्र बस्नेतले सार्वजनिक कार्यक्रममा नजान सल्लाह दिँदादिँदै मन्त्री सहभागी भएको स्रोतको दाबी छ ।

मन्त्री शर्माले आफू बुढीगण्डकी आयोजनाको बैठक राख्न जिल्ला आएको बताएका छन् । माओवादी केन्द्रले भने शर्माको प्रमुख आतिथ्यमा सम्मेलन उद्घाटन हुने भनी पत्राचार गरेको थियो । ‘जिल्ला आएका बेला पार्टीको कार्यक्रममा सहभागी हुनु स्वाभाविक हो,’ उनले भने, ‘आचारसंहिता लागेको छ, मन्त्रीले जथाभावी बोल्दै हिँड्न मिल्दैन ।’ 
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा भने मन्त्री जिल्ला गएर पार्टीको सार्वजनिक कार्यक्रममा सहभागी हुन नपाउने बताए । ‘सदरमुकामसम्म पुगेर सरकारको काम गर्न पाइन्छ,’ उनले भने, ‘तामझम गरेर सार्वजनिक स्थलमा पार्टी कार्यक्रममा सहभागी हुँदा आचारसंहिता उल्लंघन हुन्छ ।’
शुक्रबार पनि सांसद, प्रजिअ र प्रहरी प्रमुखसहितको टोलीलाई गैरसरकारी संस्थाले भूकम्प अति प्रभावित क्षेत्रको अनुगमन भ्रमण गराएको थियो । करिब ४० जनाको जम्बो टोली ८ वटा गाडीमा बारपाक हुँदै धार्चे गाउँपालिकाको केन्द्र गुम्दा पुगेको हो । गुम्दामा केयर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्रको सहकार्यमा बनेको भवन उद्घाटन गर्न माओवादी सांसद छमबहादुर गुरुङ पनि पुगेका थिए । उनको घर गुम्दा हो । उनीसँगै प्रजिअ बस्नेत, सहायक प्रजिअ केशव शर्मा, प्रहरी उपरीक्षक जनकराज पाण्डेय, राष्ट्रिय अनुसन्धान प्रमुख जितबहादुर घले, सशस्त्र प्रहरीका डीएसपी राजेन्द्र श्रेष्ठ, कृषि कार्यालयका प्रमुख यमकुमार श्रेष्ठ गुम्दा गएका हुन् । त्यहाँ उनीहरूले आलु संकलन केन्द्र भवनको पनि उद्घाटन गरे । 
‘रिबन काटेर भवन उद्घाटन गर्ने तयारी थियो,’ एक स्थानीयले टेलिफोनमा भने, ‘आचारसंहिता लाग्छ भनेर रिबनचाहिँ काटेनन्, भवन अनुगमन पछि गरेर कार्यक्रम भने गरे ।’ सांसद, कार्यालय प्रमुख र एनजीओकर्मीहरूले एउटै मञ्चबाट भाषणसमेत गरेका थिए । उनीहरूले बारपाक हुँदै गुम्दा पुग्ने बाटो चुनावअघि नै मर्मतसुधार गर्ने आश्वासन दिएका छन् । टोलीले एनजीओले सुरु गरेको अलैंची खेतीको समेत अनुगमन गरेको थियो । त्यसका लागि केयर नेपाल र गाउँ विकास केन्द्रले पत्राचार गरेका थिए ।
स्थानीय निर्वाचन आचारसंहिता २०७३ मा सरकार, सार्वजनिक संस्था र स्थानीय तहका कर्मचारीले कुनै पनि योजना शिलान्यास, उद्घाटन, सर्वेक्षण, अध्ययन वा त्यसका लागि अनुदान दिनेजस्ता कार्यक्रम गर्न/गराउन नपाइने उल्लेख छ । तर, सांसद, प्रजिअ, एसपीसहितको टोलीले गुम्दामा १२ लाख ७० हजारमा निर्मित भवन उद्घाटन गरेको हो । प्रजिअलाई गृह मन्त्रालयले गैससको कार्यक्रममा समेत सहभागी नहुन यसअघि नै निर्देशन दिएको थियो । उनीहरूलाई जाने, आउने खानेबस्नेदेखि भत्ताको व्यवस्था तिनै संस्थाले गरेका छन् । एक साताअघि नै तय भएको उद्घाटन कार्यक्रम सांसदको कार्यव्यस्तताका कारण सारिएको थियो । 
प्रजिअ बस्नेतले भने चुनावी अनुगमन र तयारीका लागि गाउँ गएको दाबी गरे । जिशिअ दीपेन्द्र सुवदीले पनि अघिल्लो साता ताकुकोटका दुई विद्यालय शिलान्यास गरेका थिए । भूकम्पमा भत्किएका ती भवन गैससले बनाउन लागेका हुन् ।

प्रकाशित : चैत्र २०, २०७३ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?