६० तोला सुन लुट्ने ६ पक्राउ

प्रहरी नै अपराधमा

काठमाडौं — सुन लुटपाटमा संलग्न एक प्रहरी जवानसहित ६ जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । झन्डै ६० तोला सुन लुटपाटमा संलग्न रहेको आशंका गरिएका २ प्रहरीसहित अन्य ३ जना फरार छन् ।

६० तोला सुन लुट्ने ६ पक्राउ

पक्राउ परेकाको साथबाट ५९ तोला ९८ लाल सुनका गहना, नगद १ लाख २५ हजार र ६ थान मोबाइल बरामद भएको छ । लुटपाट भएको २४ घण्टा नबित्दै ती सामान बेच्ने तयारी गरिरहँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट खरानीटार दरबन्दी भई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत २६ वर्षीय प्रहरी जवान अजय गुरुङ पनि छन् । शुक्रबार मरुहिटीमा लुटेका सुनका गहना बेच्ने तयारी गरिरहेकै अवस्थामा उनीहरूलाई शनिबार सोह्रखुट्टेबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए । पक्राउ पर्ने अन्यमा डान्स बारका कर्मचारी, टुरिस्ट गाइड, बाउन्सर, सवारी चालक छन् । काभ्रे बिर्ता देउरालीका २२ वर्षीय सुभाष खरेल पेसाले टुरिस्ट गाइड हुन् ।

धादिङ छत्रेदेउरालीका ३३ वर्षीय राजकुमार तामाङले सवारी चलाउँछन् । पक्राउ पर्नेमा बाउन्सर काम गर्ने १९ वर्षीय पाल्देन भनिने क्षितिज तामाङ र २८ वर्षीय लाप्साङ लामा छन् । डान्सबारमा काम गर्ने देव भनिने काभ्रे नमोबुद्धका २१ वर्षीय सुन्दर तामाङ पनि घटनामा संलग्न थिए । प्रहरी वृत्त लैनचौरमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार बलबहादुर मगर र २८ वर्षीय प्रहरी जवान नवीन ढकाल भने फरार छन् । धादिङ छत्रेदेउरालीका ३२ वर्षीय हर्कबहादुर तामाङ पनि फरार रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकी ७ बजे काठमाडौं १९, मरुहिटीमा प्रेमरत्न शाक्यको घरको पहिलो तलामा भारतका शिव माइतीले सञ्चालन गरेको सुन पसलमा उनीहरूले लुटपाट गरेका थिए । त्यहाँ कार्यरत कामदारलाई पेस्तोल र हतकडी देखाएर सुन र नगद लुटेका थिए । ‘बेलुका ७ बजेतिर साहु थिएनन् । केही मान्छे आएर तिमीहरू गैरकानुनी काम गरिरहेका छौ भनेर ५/६ मिनेटमै सबै गरगहना, मोबाइल, पैसा लिएर फरार भए,’ त्यहाँ कार्यरत भवेश कपटले भने । प्रहरीले उनीहरूमाथि डाँका मुद्दामा कारबाही अघि बढाइने जनाएको छ ।

३ महिनामा ७ पक्राउ
काठमाडौं (कास)– सुनका गहना बनाउने कारखानाबाट ६४ तोला सुन चोरी भएको घटनामा प्रहरी जवानको संलग्नताले गम्भीर प्रश्न खडा गरेको छ । सुरक्षा व्यवस्थाको जिम्मेवारी बोकेका प्रहरी नै चोरीका घटनामा संलग्न भएको यो घटना नयाँ भने होइन । पछिल्ला ३ महिनामा मात्रै राजधानीबाट चोरी, अपहरण र तस्करीका घटनामा प्रत्यक्ष संलग्न भएको आरोपमा ६ प्रहरी जवान र १ उच्च पदस्थ अधिकारी पक्राउ परिसके । आव ०७३/७४ को फागुनसम्ममा मात्रै देशभरबाट ९३९ प्रहरीले विभिन्न कारबाही भोगिसकेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
यसरी विभिन्न कारबाही वा सजाय खेप्नेमा तल्लो तहका प्रहरी जवानहरूको संख्या धेरै छ । जसमा ५ सय ७१ प्रहरी जवानले विभिन्न खाले कारबाही भोगेका छन् । तीमध्ये ५१ निलम्बनमा परेका छन् भने ११ जागिरबाटै बर्खास्त भएका छन् । ३४ को ग्रेड घटुवा भएको छ भने ४७ जनाको रोक्का भएको छ । ५४ को पदोन्नति रोक्का र ४ जना दर्जा घटुवामा परेका देखिन्छन् । ‘धेरैजसो प्रहरी जवान सानातिना आर्थिक प्रलोभनको सिकार बनेको देखिन्छन्,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने, ‘अर्थिक लाभ हुने धन्दामा अपराधिक समूहसँग मिलेका केही प्रहरीले गर्दा संगठनलाई नै लज्जित बनाइरहेको छ ।’ २१ पुसमा विमानस्थलबाट बाहिरिएको झन्डै ३४ किलो सुन तस्करीलाई सघाएको आरोपमा एसएसपी श्याम खत्री माघ २३ मा प्रहरी प्रधान कार्यालयबाटै पक्राउ परेका थिए । फागुन ३ मा अपराध महाशाखाले म्यानपावर व्यवसायी बद्री राईको अपहरण र फिरौती संकलनमा अन्य दुईसहित प्रहरी जवानलाई पक्राउ गरेको थियो । अवैध बाटो हुँदै कामदार विदेश पठाउनेमा संलग्न प्रहरी जवान नितेश दाहाल माघ १० मा पक्राउ परेका थिए ।

प्रकाशित : चैत्र २१, २०७३ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?