गुराँस टिप्न प्रतिबन्ध

तीनजुरे (तेह्रथुम) — गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रका जंगलमा गुराँसको फूल टिप्न प्रशासनले प्रतिबन्ध लगाएको छ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने टीएमजे क्षेत्रमा आउने पर्यटक र जुस बनाउनेले फूल टिपेर गुराँस वन सौन्दर्य बिगार्न थालेपछि प्रशासनले यस्तो प्रतिबन्ध लगाएको हो ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल टीएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न आउनेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र यस क्षेत्रको सौन्दर्य गुम्ने खतरा बढेको भन्दै प्रशासनले फूल टिप्न निषेध गरेको हो । यी जिल्लाका २५ गाविस क्षेत्रफलमा फैलिएको टीएमजेमा यति बेला २८ प्रजातिका गुराँस फुलिरहेका छन् ।
फूल टिप्दा हाँगा भाँचिने, गुराँसको बोट सुक्ने र यसको सौन्दर्यसमेत गुम्ने भएकाले फूल टिप्न रोक लगाइएको प्रजिअ असमान तामाङले बताए । प्रशासनले सार्वजनिक सूचना नै जारी गरेर टीएमजे क्षेत्रको गुराँस टिप्नेलाई हँदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ । ‘गुराँस हेर्न मात्र पाइने, टिप्नचाहिँ नपाइने नियम लागू गरेका छौं,’ प्रजिअ तामाङले भने ।
फूल टिप्न प्रतिबन्ध लगाएपछि यस क्षेत्रको गुराँस वन संरक्षणमा सहयोग पुग्ने प्रजिअ तामाङको भनाइ छ । गुराँस वन संरक्षणको जिम्मा लिएको वन कार्यालयले पनि टिएमजे क्षेत्रको गुराँस नटिप्न अनुरोध गरेको छ । जिल्लाका विभिन्न सञ्चार माध्यममार्फत चेतनामूलक जानकारी गराएर फूल नटिप्न अनुरोध गरिएको सहायक वन अधिकृत धर्मी यादवले बताए ।

प्रकाशित : वैशाख ६, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?