कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुलरिया–नेपालगन्ज सडक ४ लेन हुने

गुलरिया — दैनिक सयभन्दा बढी सवारी आउजाउ गर्ने गुलरिया–नेपालगन्ज खण्डलाई ४ लेन बनाउन लागिएको छ। यसका लागि गुलरियादेखि भादा पुलसम्म करिब डेढ किमि सर्भे भइसकेको प्राविधिकले बताए।

बाँकेको नेपालगन्ज–खजुरा खण्ड पनि सर्भे भई टेन्डर प्रक्रियामा गएको डिभिजन सडक कार्यालय नेपालगन्जले जनाएको छ।

गुलरिया र खजुरा खण्ड एकैपटक निर्माण हुने डिभिजनले जनाएको छ। चालु वर्षमा करिब ३ किमि सडक ४ लेन बनाउनका लागि ३३ करोड रुपैयाँ निकासा भइसकेको छ। डिभिजन प्रमुख अर्जुन बमका अनुसार राजनीतिक दलको सहमतिअनुसार जिल्ला प्रहरीदेखि अति व्यस्त मानिएको भादा पुलसम्म पहिलो चरणमा सडक स्तरोन्नति गरिनेछ। एक किमि सडक निर्माणका लागि झन्डै ९ करोड रुपैयाँ लाग्ने अनुमान रहेको बमले बताए। उक्त रकम विद्युत्, टेलिफोनका पोल र खानेपानीका पाइप सार्नेदेखि सहरी क्षेत्रमा पर्ने सडकको दाया–बायाँ नाली बनाउनेमा खर्च हुनेछ। चार लेन सडकका लागि हाललाई २४ मिटर चौडा मापदण्ड तोकिएको छ।
गुलरिया–नेपालगन्ज खण्ड ३६ किलोमिटर दूरीको छ। बजेट निकासाअनुसार चार लेनको काम अघि बढदै जाने सडकका प्राविधिकको भनाइ छ। जिल्ला प्रहरीदेखि चाइना लङ फुडसम्म सडक विस्तार हुँदा २४ मिटर फराकिलो हुने डिभिजन कार्यालयले जनाएको छ। यस क्रममा दर्जनौं घर सार्नुपर्ने अवस्था आउने कार्यालयले जनाएको छ। ०४६ मा सञ्चालन भएको सडक ०५३ मा साढे ३ मिटर चौडा कालोपत्रे भएको थियो। सडक साँघुरो बन्दै गएपछि ०६६ मा साढे ५ मिटर चौडा बनाई कालोपत्रे गरिएको थियो।
 दैनिक सवारी चापले सडकमा आउजाउ गर्न समस्या भइरहेको समय चार लेनको निर्माण हुने भएपछि दुर्घटना न्यूनीकरण हुने स्थानीयको विश्वास छ। सडक डिभिजनले अतिक्रमण गरी निर्माण गरेका घर भत्काउन थालेको जनाएको छ। डिभिजन प्रमुख बमले यसै क्रममा बाँके र बर्दियामा अतिक्रमण गरिएका संरचना हटाउने अभियान थालिएको जनाए। सडक विस्तारपछि दैनिक यातायातका साधन आउजाउमा सजिलो हुने र अनावश्यक सास्ती नहुने स्थानीयको भनाइ छ।

प्रकाशित : वैशाख २५, २०७४ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?