स्थानीय तहको तयारी पूरा

पोखरा ब्युरो

पोखरा — स्थानीय तह निर्वाचनको आइतवार हुने मतदानका लागि तयारी पूरा भएको छ । चार नम्बर प्रदेशका ११ जिल्लाका १ हजार २ सय ४७ मतदानस्थलमा तयारी पूरा भएको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ ।


४ नम्बर प्रदेशका ११ जिल्लामा एक महानगर, २६ नगरपालिका र ५८ गाउँपालिकामा जनप्रतिनिधि चयनका लागि हुने निर्वाचनका लागि १२ हजार ४ सय उमेदवार मैदानमा छन् । क्षेत्रीय सुरक्षा समितिले प्रदेशका मतदानस्थलमध्ये २ सय ५ लाई अति संवेदनशील, ४ सय ६० लाई संवेदनशील र अन्यलाई सामान्यमा वर्गिकरणगरि आवश्यक सुरक्षा प्रबन्ध गरिएको जनाएको छ । पहिलो चरणअन्तर्गत प्रदेशको कास्की, गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी,मनाङ, मुस्ताङ, लमजुङ र नवलपरासीको आधा भागमा स्थानीय तह निर्वाचन हुँदैछ । सबै मतदानस्थलमा घेराबार लगाएर मतदातालाई पालैपालो सहज मतदानको व्यवस्था मिलाइएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
स्याङ्जा संवाददाताका अनुसार ५ सय ७ जना जनप्रतिनिधि निर्वाचित गर्न जिल्लाका १ सय ९९ स्थानका २ सय ८० मतदान केन्द्रबाट हुने मतदानका लागि सुरक्षा व्यवस्था बलियो पारिएको स्थानीय प्रशासनले जनाएको छ । पाँच नगर र छ गाउँपालिका गरि ११ वटा स्थानीय तहका लागि मतदान हुने सबै केन्द्रमा आवश्यक सामान र सुरक्षा प्रबन्ध भइसकेको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले बताए । पर्वत संवाददाताका अनुसार आइतबार हुने मतदानका लागि जिल्लाबाहिर रहेका मतदाताहरू सहजै गाउँगाउँसम्म पुगेको जिल्ला प्रशासनले जनाएको छ । बाहिरी जिल्लाबाट बस र साना सवारीसाधनमा सदरमुकाम हुँदै गाउँ भित्रिनेको संख्या शनिबार बढेको यातायात व्यवसायीले बताएका छन् ।
कास्कीबाट जिप रिजर्भ गरेर आएका फलेबासका महेश पौडेलले भने, ‘साथीहरू मिलेर जिप रिजर्भ गरेर सजिलै आइयो ।’ शनिबार मात्रै छिमेकी जिल्लाहरू म्याग्दी, बागलुङ र कास्की लगायतबाट यहाँका बिभिन्न गाउँमा मतदान गर्न आउनेको संख्या बढेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले बताए ।
जिल्ला सुरक्षा समितिले तीन चरणको सुरक्षा व्यवस्थाअन्तर्गत दोस्रो चरणको सुरक्षा तयारी शतप्रतिशत पुरा गरेको जनाएको छ । शनिबार दिउँसो पत्रकार सम्मेलन गर्दै जिल्ला प्रशासनले मतदानकेन्द्र, उम्मेदवार र हरेक मतदाताको सुरक्षाको ग्यारेण्टी गरिएको दाबी गरेको छ ।
‘हरेक मतदातादाई घरदेखि मतदानकेन्द्र पुगेर घरमै फर्किने समयसम्मको सुरक्षाको ग्यारेण्टी छ,’ प्रहरी प्रमुख डीएस्पी शेखर खनालले भने । मतदान केन्द्रपिच्छे १३ देखि २८ जनासम्म सुरक्षाकर्मी खटाइएको जानकारी उनले दिए । जिल्लाका ७४ मतदान केन्द्रमध्ये ३४ अति संवेदनशील, २३ संवेदनशील र अन्य सामान्यमा वर्गिकरण गरि सुरक्षा प्रबन्ध गरिएको छ । पर्वतमा ९९ हजार मतदाता छन् ।
गोरखा संवाददाताका अनुसार त्यहाँ खटिएका कर्मचारीहरूले प्रत्येक केन्द्रहरूमा पुगेर मतदानको सहज व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताएका छन् ।
२ सय १३ स्थानका २ सय ६० वटा सबै मतदान केन्द्रमा तयारी पुरा भएको छ । दुई नगरपालिका र नौ गाउँपालिकागरि ११ वटा स्थानीय तहमा ९४ वटा वडा छन् । यहाँ मतदाता संख्या १ लाख ६९ हजार ४६ छ । निर्वाचनका लागि तीन हजार हाराहारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । सबैभन्दा कम मतदाता हिमालपारिको चुमनुव्री गाउँपालिकामा ३ हजार ८ सय ६९ छन् । उक्त गाउँपालिकाको साम्दो प्रावि सामागाउँ मतदान केन्द्रमा सबैभन्दा थोरै ७१ जना मात्रै मतदाता छन् । जिल्लमै बढि मतदाता गोरखा नगरपालिकामा २७ हजार ५ सय ६ छन् ।

प्रकाशित : वैशाख ३१, २०७४ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?