१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

“अहिलेसम्मकै उत्कृष्ट म्यानेजमेन्ट”

सजना बराल

काठमाडौं — स्थानीय तहको निर्वाचन हुने/नहुनेमा लामो समय दुविधा रह्यो । वरिष्ठ गायक/संगीतकार प्रेमध्वज प्रधानलाई भने तोकिएकै मितिमा निर्वाचन भइदेओस् भन्ने लागेको थियो । र, भयो पनि त्यस्तै । दुई दशकको अन्तरालपछि आइतबार शान्तिपूर्ण वातावरणमा पहिलो चरणको निर्वाचन सम्पन्न भयो ।

“अहिलेसम्मकै उत्कृष्ट म्यानेजमेन्ट”

८० वर्षे उनले बागबजारको पद्ममकन्या केन्द्रमा मतदान गरे ।
चुनावप्रति आस्थावान् प्रधान स्थानीय तहको निर्वाचन भएकाले यसपालि अझ बढी उत्साहित थिए । स्थानीय सरकार हुँदाको स्वाद चाखिसकेकाले उनका लागि यो चुनाव विशेष थियो । ‘एक किसिमको उल्लास थियो मनमा,’ भोट खसालेर आएपछि उनले कान्तिपुरसँग भने, ‘वडामै सरकार हुँदा हामी नागरिकलाई धेरै सुविधा हुन्छ ।’
आइतबार बिहान खानपिन नगरीकनै प्रधान दम्पती मतदान केन्द्रमा पुगेका थिए । त्यहाँको व्यवस्था देखेर प्रधान दंग परे । पहिले–पहिले घण्टौं लाइन बसेर भोट हालेका उनी यसपालि पन्ध्र मिनेटमै काम सकेर घर फर्किए । ‘अहिलेसम्मकै उत्कृष्ट म्यानेजमेन्ट,’ प्रधानले भने, ‘हामी जाँदा मान्छेहरू त्यति आएका थिएनन् । त्यसमाथि पाकाहरूलाई लाइन बस्नै नपर्ने रहेछ । सबै चीज ठिकठाक मिलाइएको पाएँ ।’
मतपत्र अलि लामो बनाएकोमा चाहिँ उनलाई चित्त बुझेनछ । पत्र जति लामो, चुनाव चिह्न उति नै सानो भएको भन्दै उनले गुनासो पोखे । आफूलाई त्यस्तो गाह्रो नभए पनि अन्य वृद्धवृद्धा अन्योलमा परेको उनले देखेछन् । ‘अप्ठ्यारो हुन्छ नि,’ उनले भने, ‘मतपत्र बनाउँदा पाका मान्छेको पनि ख्याल गर्नुपथ्र्यो ।’
वि.सं. २०१५ को प्रतिनिधि सभा निर्वाचनमा पहिलो पटक भोट खसालेका थिए प्रधानले । त्यति बेला उनी आईएससी पढदै थिए, उमेरले चाहिँ २१ टेक्दै । बांगेमुढामा बस्थे । त्यहाँको स्तूपनिर बनाइएको बुथमा बुबा–आमासँग भोट हाल्न गएको अझै सम्झना छ उनलाई । राणा शासनविरुद्ध लडेको कांग्रेस त्यो बेला चर्चामा थियो । धेरै जनताले आस गरेको पार्टीलाई उनले पनि भोट दिए ।
वि.सं. २०३६ को जनमत संग्रहमा भने उनले भोट हालेनन् । मतदान केन्द्रहरू घुमिहिँडे मात्रै । प्रजातन्त्र पुन:प्राप्तिपछि २०४८ को आम निर्वाचन हुँदा उनी बांगेमुढाबाट बागबजार सरिसकेका थिए । नामावलीमा ठेगाना सारेर मतदान गरे । ठेगाना सार्न र भोट हाल्न पनि साह्रै गाह्रो भएको उनले सुनाए ।
‘प्रक्रिया झन्झटिलो थियो,’ उनले भने, ‘ठेगाना सार्ने बेला ढडडा पल्टाउनुपर्ने, एउटा कोठाबाट अर्कोमा पठाउने गरे । भोट दिन जाँदा पनि तीन घण्टा लाइनमा उभिएको थिएँ ।’ ती क्षण सम्झिँदा यसपालिको चुनाव साह्रै व्यवस्थित भएको उनले बताए । मतदान केन्द्रको संख्या बढाइदिएकोमा उनले निर्वाचन आयोगलाई धन्यवाद पनि दिए ।
प्रधानको पुख्र्यौली थलो भने सिन्धुपाल्चोक हो । उनलाई गाउँबाटै मतदान गर्ने रहर सधैं लागिरह्यो । चुनावका बेला एकपटक मात्रै गाउँ गएका रहेछन् उनी । वि.सं. २०३९ को पञ्चायत निर्वाचनमा उनका काकाले पनि जिल्ला सभापतिमा उम्मेदवारी दिएका रहेछन् । काकालाई समर्थन गर्न उनी गाउँ गए । गायक नारायणगोपाललाई साथ लिएर सदरमुकाम चौतारा पुगेका थिए त्यति बेला । ‘भक्तपुरबाट नगरकोट हुँदै इन्द्रावती खोला तरेर हामी हिँडेरै गाउँ पुगेका थियौं,’ उनले भने, ‘नारायणगोपाल त फुच्चे नै थियो । ऊ त्यति थाकेन । म चाहिँ भसक्कै गलेको थिएँ ।’
नेता वा मन्त्रीहरूले असल काम नगर्दा मान्छेहरू भोट खेर गयो भन्दै विलाप गरिरहेका हुन्छन् । ‘घुम्तीमा नआऊ है...’ गायकलाई भने आफ्नो मत सधैं उपयोगी नै भइरहेको आभास हुन्छ । उनी हरेकपल्टको चुनावमा आशावादी भइदिन्छन् । यसपालि त झन् मुलुकको राज्य व्यवस्थाको संरचना नै फेरिएको अवस्था छ । नयाँ संरचनाले नयाँ दिशा देला भन्ने उनको कामनामा छ । ‘योग्य मान्छेले चुनाव जितून्,’ उनले भने, ‘पब्लिकलाई सुविधा होस् ।’

प्रकाशित : जेष्ठ १, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?