१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दोस्रो चरणलाई धमाधम उम्मेदवारी

एमालेले छान्यो वडाध्यक्ष

इलाम — एमालेले वडाध्यक्षको उम्मेदवार चयन गरेको छ । जिल्लाका ८१ वडामा एमालेले उम्मेदवारको टुंगो लगाएको हो । यी वडामा चुनिने चार सय पाँच प्रतिनिधिका लागि एमालेले चार सय एक जना उम्मेदवार चयन गरेको हो । बाँकी चार स्थानमा माओवादी केन्द्र, राप्रपा र संघीय समाजवादीलाई एमालेले समर्थन गर्नेछ ।


अन्य दलसँग समन्वयको प्रयास गरे पनि सफल नभएकाले एकल रूपमा चुनावमा प्रतिस्पर्धा गर्ने पार्टी अध्यक्ष राम रानाले जनाए । २१ वडा र २४ सदस्यमा आकांक्षी धेरै भएकाले सर्वसम्मत हुन नसकेपछि जिल्ला कमिटीले अन्तिम टुंगो लगाएको हो । अरू सदस्यको टुंगो स्थानीय कमिटीले लगाएको थियो ।
जिल्लाका दस स्थानीय निकायमध्ये देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका, माङ्सेबुङ र चुलाचुली गाउँपालिकामा पार्टीको अध्यक्षका उम्मेदवार यसअघि नै सर्वसम्मत भइसकेका छन् । इलाम नगरपालिकामा प्रमुखका उम्मेदवार चयन भए पनि उपप्रमुखका हुन सकेका छैनन् । प्रान्तीय कमिटीले जेठ ९ गते नगर र गाउँपालिकामा उम्मेदवारको टुंगो लगाउने एमाले जिल्ला सदस्य गणेश बरालले बताए ।

पथरीमा कांग्रेसको उम्मेदवारी घोषणा
दमक– कांग्रेस मोरङ २ नं. क्षेत्रीय समितिले पथरी शनिश्चरे नगरपालिकाको प्रमुख/उपप्रमुखसहित १० वटै वडामा उम्मेदवारी घोषणा गरेको छ । क्षेत्रीय समितिले बिहीबार पथरीमा एक कार्यक्रमबीच ५२ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।
जसअन्तर्गत नगरको प्रमुखमा क्षेत्रीय सभापति गणेशकुमार खडका र उपप्रमुखमा प्रेमला राईको उम्मेदवारी घोषणा गरिएको छ ।
यस्तै वडा नं. १ को वडाध्यक्षमा प्रतीत सुब्बा, २ मा मनबहादुर पाठक, ३ मा विजय लिम्बू, ४ मा मानबहादुर गुरुङ, ५ मा जोगबहादुर धिमाल, ६ मा ज्ञानबहादुर बस्नेत, ७ मा मणिकुमार चाम्लिङ, ८ मा बाबुराम दाहाल, ९ मा वीरबहादुर राई र १० नम्बरमा सागर राईको उम्मेदवारी घोषणा गरिएको छ ।
नगरको सबै वडामा एक जना खुला महिला सदस्य, एक जना दलित महिला सदस्य र दुईजना खुला सदस्यमा पनि उम्मेदवारी घोषणा गरियो । पार्टीको केन्द्रीय परिपत्रअनुसारै नगरभित्रका सबै पदमा उम्मेदवारी घोषणा गरिएको क्षेत्रीय सचिव राजु लामाले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ८, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?