कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

७ हेक्टरमा रोपिएका बिरुवा नष्ट

राष्ट्रपति चुरे संरक्षण

पर्सा — भेडाहा खोलामा भइरहेको कटान तथा क्षति न्यूनीकरण गर्न राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले रोपेका बिरुवा नष्ट भएका छन् ।

गिट्टी, बालुवा उत्खनन गर्ने ठेकेदारका कारण बिरुवा नष्ट भएको जिल्ला वन कार्यालयको आरोप छ । समितिले गत वर्ष खोला उकास जग्गामा वृक्षरोपण गरेकामा जिससले लगाएको ढुंगा गिट्टी ठेक्काकै कारण नष्ट भएको कार्यालय प्रमुख चन्द्रदेवलाल कर्ण बताउँछन् । 
समितिले गत वर्षदेखि भेडाहा खोलामा वृक्षरोपण गरी खोलाको क्षति नियन्त्रणको प्रयास थालेको थियो । १० हेक्टरमा खयर, सिसौं, मसला रोपिएकामा बालुवा ढुंगा कारोबारीले करिब ७ हेक्टरको तारबार तथा बिरुवा नष्ट गरेको कर्णले बताए । ‘हामीले बिरुवा लगाएर संरक्षणका लागि तारबार गर्‍यौं,’ उनले भने, ‘तर बालुवा गिट्टी उत्खननले करिब ७५ प्रतिशत वृक्षरोपण नष्ट भयो ।’ 
३ हेक्टरको वृक्षरोपण सेनाको अभ्यास र गस्ती गर्ने क्षेत्र परेकाले मात्र जोगिएको उनले बताए । जिल्लामा ढुंगा बालुवा झिक्न अन्य खोला भए पनि जिससले भेडाहामा बर्सेनि ठेक्का लगाउँदा समस्या भएको हो । कर्णका अनुसार, आउँदो आवमा पनि भेडाहाले गरेको क्षति न्यूनीकरण गर्न विभिन्न गाउँमा ग्रिनबेल्टका रूपमा वृक्षरोपण गर्ने, निजी वनको अवधारणा लागू गर्ने, आवश्यक परेका स्थानमा डयाम बनाउने, खोलाका दुवैतर्फ कटान भएका जमिन क्षति न्यूनीकरणका लागि प्रयास गरिँदै छ । 
यसका लागि नदी उकास जग्गामा वृक्षरोपण, टेवा पर्खाल निर्माण, घाँसे मैदानको विकास, ओभरफ्लो भएको माटोको व्यवस्थापनका काम गर्न लागिएको छ । सबैया इलाका वन कार्यालय र सोलखपुर इलाका वन कार्यालयले वृक्षरोपणका लागि २५/२५ हजार बिरुवा उत्पादन गरिरहेको छ । यस वर्ष खोलाको पूर्वतर्फ वृक्षरोपण गर्ने योजना छ । 
हालको पर्सागढी गाउँपालिकामा पर्ने खोलाकिनारमा आउँदो वर्ष डाले घाँस, टिक, मसला, सतिसाल, इपिलइपिलका बिरुवा रोप्ने योजना छ । अन्य खोलाको तुलनामा भेडाहाको बालुवा, गिट्टी स्तरीय हुने भएकाले यो खोलाको ठेक्का पनि राम्रो रकममा लाग्ने गरेको छ । 

प्रकाशित : असार १९, २०७४ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?