२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

राप्रपामा किन चुलियो विवाद ?

बालकृष्ण बस्नेत

काठमाडौं — एकता भएको ७ महिना कट्न नपाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताबीच विवाद चुलिएको छ । सुरुमा डा. प्रकाशचन्द्र लोहनी एकीकृत राप्रपाबाट अलग भए, पार्टीको चुनाव चिह्नको विवाद उठाएर ।

राप्रपामा किन चुलियो विवाद ?

अहिले अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपतिशमशेर राणाबीच पनि मतभिन्नता बढेको छ ।
राप्रपामा यति छिट्टै किन बढ्यो विवाद । त्यसमा मुख्य तीन कारण रहेको नेताहरू औंल्याउँछन् । 
पहिलो कारण हो, कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारमा सहभागी हुने कि नहुने । यस्तै, संसद्मा विचाराधीन संविधान संशोधन विधेयकलाई समर्थन गर्ने कि नगर्ने भन्ने दोस्रो कारण हो भने पुरानै विवाद एकीकृत राप्रपाको चुनाव चिह्न गाई लिने कि हलो भन्ने पनि तेस्रो कारणका रूपमा देखा परेको छ ।
यी विवादलाई संसदीय दलले सुल्झाउन नसकिरहेका बेला अध्यक्ष थापाले शुक्रबार ४२ जना केन्द्रीय सदस्य मनोनयन गरी निर्वाचन आयोगलाई जानकारी गराए । त्यसमा आफ्नो असहमति राख्दै राणाले कडा शब्दमा विज्ञप्ति निकाले । त्यसमा उनले राप्रपालाई ‘अध्यक्ष थापाको एकल बिर्ता’ को संज्ञा दिई उक्त मनोनयनको निर्णय फिर्ता नगरे पार्टीबाट अलग हुने चेतावनीसमेत दिएका छन् ।
राणाको यो चेतावनीपछि अध्यक्ष थापाले साउन ४ का लागि बोलाएको केन्द्रीय समिति बैठकसमेत अन्योलमा परेको छ । 
‘निर्वाचनको समीक्षा गर्न र अन्य राजनीतिक मुद्दामा साझा धारणा बनाउन केन्द्रीय समिति बोलाइएको हो । तर, वरिष्ठ नेता राणाबाट धम्कीपूर्ण विज्ञप्ति आएको छ,’ एकपछि अर्को चुनावी सन्दर्भमा पार्टीभित्र अनावश्यक मतान्तर हुनु दुर्भाग्य रहेको प्रतिक्रिया दिँदे प्रवक्ता सुशील श्रेष्ठले कान्तिपुरसित भने, ‘पार्टी विवाद समाधानका लागि ठोस निर्णय होला ।’ 
‘केन्द्रीय समितिमा छलफल गर्दा सबै विषयले किनारा पाउँथ्यो । यो तरिका राम्रो भएन,’ उनले भने । श्रेष्ठ पार्टी एक हुनुअघिदेखि नै अध्यक्ष थापाले नेतृत्व गरेको तत्कालीन राप्रपा नेपालका नेता हुन् । राणा पक्षीय नेताहरू भने केन्द्रीय समिति र संसदीय दल दुवैमा अल्पमतमा परेपछि थापाले आफूखुसी मनोनयन गरेको दाबी गर्छन् । ‘पार्टी अध्यक्ष आफ्नै नेतृत्वमा चाँडै सरकारमा जान चाहनुहुन्छ । संशोधन विधेयक पनि पारित गर्न चाहनुहुन्छ । तर पार्टीमा उहाँ अल्पमतमा हुनुहुन्छ । त्यसकै परिणाम यो मनोनयन हो,’ राणानिकट नेता शोभित उप्रेतीले भने । मनोनयन एकलौटी गरेको, राणासहितका नेतासँग सुझाव नमागिएको उप्रेतीको भनाइ छ । सरकारमा आउने/नआउने विषयमा सत्तारूढ कांग्रेस र माओवादी केन्द्रले प्रस्ट निर्णय गर्न थापालाई सुरुदेखि नै दबाब दिँदै आएका छन् । संशोधन विधेयकमा भने आफ्नै पार्टीका १० जना सांसदले खुलेर विरोध गरिरहेका छन् । अघिल्लो पटक संसद्मा विधेयकमा मतदानको तयारी गर्ने सन्दर्भमा राप्रपाका १० सांसद अनुपस्थित भएका थिए ।
तत्कालीन राप्रपा नेपालका २५ र राप्रपाका १२ गरी एकीकृत राप्रपासँग संसद्मा ३७ सिट छ । त्यसो त पार्टीको चुनाव चिह्नबारे राणाको अभिव्यक्तिलाई थापालगायत नेताले मन पराएका थिएनन् । स्थानीय तहको पहिलो चरणको चुनावी परिणाम आशा गरेअनुसार नआएपछि भक्तपुरको एक कार्यक्रममा नेता राणाले त्यसको एउटा कारण गाई चिह्न हुनु भनी प्रतिक्रिया दिएका थिए । लगत्तै दोस्रो चरण चुनावमा होमिनुपर्ने बेला दिएको यस्तो अभिव्यक्ति शोभनीय नभएको भन्दै अध्यक्ष थापा चिढिएका थिए । उनले शुक्रबार राजधानीमा भएको एक पार्टी कार्यक्रममा ‘एकता भएपछि पार्टी बलियो होला भन्ने लागेको थियो, तर साथीहरू कमजोर बनाउने खेलमा सक्रिय हुन थाल्नुभएको छ’ भन्दै असन्तुष्टि राखेका थिए । त्यो कार्यक्रममा राणा भने सहभागी थिएनन् ।


राजपा र साझा आयोगमा दर्ता

काठमाडौं (कास)– मधेस केन्द्रित ६ दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । एक साताअघि नै दर्ताको निवेदन दिएकामा आयोगको शनिबार बसेको बैठकले राजपा, नेपाल दर्ता गर्ने निर्णय गरेको जानकारी निर्वाचन आयुक्त नरेन्द्र दाहालले दिए । उनले पार्टी दर्ता भए पनि चुनाव चिह्नबारे भने टुंगो नलागेको बताए । राजपाले छाता चुनाव चिह्न माग गरेको छ ।
आयोगमा दर्ता भएसँगै राजपाले आफ्नै पार्टीको नाममा चुनाव लड्न पाउँछ । तर, चिह्न भने पुराना ६ दलमध्ये कुनै एकको रोज्नुपर्नेछ ।
तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) बीच एकीकरण भएर वैशाख ८ गते राजपा नामक नयाँ पार्टी घोषणा भएको थियो ।
आयोगले शनिबारै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसहित ७ वटा दल दर्ता गरेको छ ।

मुख्य मतभेद
चुनाव चिह्न : हलो कि गाई ?
सरकारमा : जाने कि नजाने ?
संशोधन पास : गर्ने कि नगर्ने ?

प्रकाशित : श्रावण १, २०७४ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?