१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रामेछापमा भीषण बाढी

२ जनाको मृत्यु, ३ बेपत्ता, ९ घाइतेलाई उद्धार गरेर उपचारार्थ राजधानी लगियो
टीकाप्रसाद भट्ट

रामेछाप —
लिखु गाउँपालिका–६ खिम्तीमा शनिबार मध्यराति आएको बाढीले २ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । मृत्यु भएकामा खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्री र मन्थली नगरपालिका–१२ का ४० वर्षीय वासुदेव कार्की छन् । कार्की रोपाइँका लागि त्यहाँ पुगेका थिए । उनी गेलुका हुन् । खत्रीको शव खिम्तीको लहरिनी र कार्कीको शव हलेदे नजिक फेला परेको हो ।

रामेछापमा भीषण बाढी
  • छतिवनेको मोटर पुल बगायो
  • उत्तरी रामेछापको गोकुलगंगा र उमाकुण्ड यातायात विच्छेद
  • खानीखोला कजवे बगेपछि दोलखा–रामेछाप यातायात बन्द

लिखु गाउँपालिका–६ खिम्तीमा शनिबार मध्यराति आएको बाढीले २ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।

मृत्यु भएकामा खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्री र मन्थली नगरपालिका–१२ का ४० वर्षीय वासुदेव कार्की छन् । कार्की रोपाइँका लागि त्यहाँ पुगेका थिए । उनी गेलुका हुन् । खत्रीको शव खिम्तीको लहरिनी र कार्कीको शव हलेदे नजिक फेला परेको हो ।

बाढीमा परेर मनिला तामाङ, सुमन खत्री र अशोक तामाङ हराइरहेका छन् । उनीहरूको खोजी जारी छ । बाढीमा परेर घाइते भएका ९ जनालाई उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । काठमाडौं पठाइएकामा भगवती खत्री, शर्मिला खत्री, राधा खत्री, कुमार खत्री, प्रमिता खत्री र सुन्तली खत्री छन् । बाँकेको सिम्लागढी घर भएका विशाल बुढा, सुर्खेतका झलकबहादुर घर्ती र रुद्रबहादुर गुरुङलाई पनि उपचारका लागि काठमाडौं पठाइएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बाढीग्रस्त क्षेत्रमा हराइरहेका ३ जनाको खोजीका लागि तीनवटै सुरक्षा निकायका साथमा स्थानीय पनि जुटेको बताए । तैपनि बेलुकासम्म कोही फेला परेका छैनन् ।

बिहान घटनास्थलमा पुगेर फर्केका प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेलका अनुसार उद्धारका लागि बोलाइएको नेपाली सेनाको एमआई १७ हेलिकप्टर बाढीग्रस्त क्षेत्रमा अवतरण गर्न नसकेपछि दोलखाको किर्नेस्थित खिम्ती जलविद्युत् आयोजनाको हेलिप्याडमा ओरालिएको थियो । त्यसपछि ल्याएको अर्को सानो हेलिकप्टरले ३ पटक गरी बिरामी किर्ने लगेको थियो । मध्यराति खिम्ती र फर्पुबीचको छतिवने खोला, खिम्ती बजारबीचको खहरे खोला र दक्षिणी खिम्तीको खानीखोलामा भीषण बाढी आएको थियो । बाढीले खिम्ती–बेताली खण्डमा पर्ने छतिवने मोटर पुल बगाएको छ । छतिवनेदेखि खिम्तीको लहरिनीतर्फको झन्डै ७ सय मिटर सडकसमेत बगाएको छ । पहिले सडक भएको स्थानमै अहिले खोला बगेको छ । सडक र पुल बगाएपछि उत्तरी रामेछापतर्फको यातायात सेवा ठप्प छ । गोकुलगंगा र उमाकुण्ड गाउँपालिकातर्फ जानका लागि अब दोलखा जिल्ला घुम्नुपर्ने भएको छ ।

खहरे खोलामा आएको बाढी पुल नजिकैबाट खिम्ती बजारमा पसेको थियो । बाढीले स्थानीय श्याम श्रेष्ठको घरमा केही क्षति पुर्‍याएको छ । निर्माणाधीन पुलको उत्तरपूर्वी चेपबाट बाटो बनाई बाढी बजारमा पसेको हो । यसअघि २०७० सालमा पुल बगेपछि उक्त स्थानमा पुन: पुल बनाउने काम अन्तिम चरणमा छ । त्यसबेलाको बाढीले ८ जनाको ज्यान लिएको थियो ।

खानीखोलामा आएको बाढीले खिम्ती बजारबाट मन्थलीतर्फ जाने पुष्पलाल मार्गको केही खण्ड बगाएको छ । सवारी साधन जाने अवस्था छैन । खिम्ती–खानीखोला खण्डमा यातायात बन्द छ । बाढीले २६ वटा पोल बगाएपछि खिम्ती र गेलुमा विद्युत् अवरुद्ध छ । बाढीले सार्वजनिक सम्पत्तिबाहेक ५ घर र सयौं रोपनी खेत बगाएको प्रहरीको प्रारम्भिक अनुमान छ । बाढीले खानेपानी र सिँचाइका पूर्वाधार नष्ट बनाएको छ । एउटा खानेपानी ट्यांकी पनि पुरिएको छ । यसैबीच जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले खिम्तीका बाढीपीडितलाई सोमबार घटनास्थलमै पुगेर राहत बाँड्ने निर्णय गरेको छ । रेडक्रसमा भएका राहत सामग्री र खाद्यान्न लगेर वितरण गर्नका समिति बनाइएको छ ।

बैठकले पुष्पलाल मार्गको खानी खोलामा सडक मर्मत गरी तत्काल सञ्चालनमा ल्याउने, खिम्तीदेखि फर्पुको आवागमन खोल्नका लागि स्थानीय तहलाई निर्देशन दिने, खानेपानी शुद्धीकरण र स्वास्थ्य सचेतीकरणको कार्य सम्बन्धित निकायबाट गर्ने निर्णय गरेको छ ।

प्रकाशित : श्रावण २, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?