घोराही समृद्ध बन्नेछ

घोराही उपमहानगरपालिकाको प्रमुखमा नरुलाल चौधरी २२ हजार ३० मत प्राप्त गरी ४ हजार ५ सय ४६ मतान्तरले विजयी भएका हुन् । थारू बाहुल्य दाङमा पहिलोपटक थारू समुदायबाट नगर प्रमुखमा निर्वाचित चौधरी २०५४ को स्थानीय निर्वाचनमा रामपुर गाविस अध्यक्ष बनेका थिए । एमाले दाङका पूर्वअध्यक्ष र ५ नं. प्रदेश कमिटी सदस्य उनी सामान्य किसान परिवारबाट राजनीतिमा आएका हुन् । चौधरीले जिल्ला सदरमुकाम रहेको घोराहीलाई समृद्ध सहर बनाउने योजना बनाएका छन् । चौधरीका ५ वर्षे ५ प्रतिबद्धता यस्ता छन् :

हरेक वडालाई सडक मार्फत जोडिनेछ । सबै मुख्य सडक कालोपत्रे हुनेछन् । उपमहानगरपालिकामा रहेका १९ वडामध्ये हरेकमा एक/एकवटा नमुना गाउँ बनाइनेछ । थारू जातिको संग्रहालय निर्माण गरिनेछ ।

घोराही समृद्ध बन्नेछ

नरुलाल चौधरी, उपमहानगर प्रमुख

समृद्ध नमुना सहर
घोराही उपमहानगरपालिका समृद्ध नमुना सहर बन्नेछ ।

हरेक वडामा बालउद्यान र जलाशय निर्माण गरिनेछ । वृद्धभत्ता घरघरमै पुर्‍याइदिने, उनीलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने, सिमेन्ट उद्योगको धूवाँ–धूलो नियन्त्रण गर्ने, सार्वजनिक स्थल र शैक्षिक संस्थामा फ्री वाईफाई, घोराही उपमहानगरमा आफ्नै मेट्रो एफएम सञ्चालन गर्ने र दोस्रो कामकाजी भाषा थारूलाई बनाउनेछु ।
द्रुत सेवा प्रवाहका लागि इगर्भनेन्स प्रणाली सुरुआत गर्ने, नगरपालिकाका सम्पूर्ण कार्यकक्षमा सीसीटीभी जडान गरी पारदर्शिता कायम गर्ने र सम्पूर्ण निर्वाचित जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने योजना बनाएका छौं । प्रत्येक वडामा विषयगत दक्षतासहितको उपमहानगर स्वयंसेवक घोषणा गरी परिचालन गर्नेछौं । ‘हेल्लो मेयर क्विक रेस्पोन्स कार्यक्रम’ सञ्चालन गरी जनताका गुनासा सीधै सुन्ने व्यवस्था गरिनेछ ।

खेती गर्नेलाई खेत, किसान र जमिनको भेट
खेती गर्ने जमिनको कमी भइरहेको सन्दर्भमा उपमहानगरपालिकाभित्र खेती गर्ने क्षेत्र, आवास क्षेत्र, औद्योगिक क्षेत्र र जंगल क्षेत्र छुट्याई व्यावसायिक कृषिलाई जोड दिइनेछ । कृषिको समग्र विकासका लागि राज्यले व्यवस्था गरेको बिमा व्यवस्थालाई प्रभावकारी बनाउने, मूल्य व्यवस्थापन र बजार अनुगमन प्रभावकारी बनाउने, गुणस्तरीय खाद्य अधिकारको ग्यारेन्टी गर्ने र कृषिजन्य साना–मझौला–ठूला उद्योगको प्रवद्र्धन गरिनेछ ।
कृषि बजार सूचनाको व्यवस्था गर्ने, भण्डारण र प्रशोधनका लागि सार्वजनिक गोदाम र कोल्ड स्टोरेजको व्यवस्था गरिनेछ । सतह सिंचाइ, स्यालो ट्युबवेल तथा डिप बोरिङमार्फत् भूमिगत जल उपयोग र बहुउद्देश्यीय सिंचाइ योजना लागू गर्ने र प्राकृतिक स्रोत अभाव रहेको स्थानमा थोपा सिंचाइलाई प्रभावकारी बनाउनेछु । नदी, खोलानाला र बगरले ओगटेको जमिनलाई मत्स्यपालन, जलमार्गलगायत बहुउद्देश्यीय प्रयोजनका लागि विकास गर्ने, बहुउद्देश्यीय वनपैदावरको समेत प्रयोग गरी प्राङ्गारिक मल प्रयोगबाट जमिनको उर्वरता बढाउने र मलखादमा रहेको परनिरर्भरता अन्त्य गर्ने काम हुनेछ ।

उज्यालो, रमाइलो घोराही
ऊर्जालाई नागरिकको आधारभूत हकका रूपमा आत्मसात गर्दै आगामी ५ वर्षभित्र आधुनिक ऊर्जामा सबै जनताको पहुँच पुर्‍याउने लक्ष्यसहित काम गर्नेछु । सडक बत्तीको व्यवस्था सोलारबाट गर्ने, वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिने, कम विद्युत् प्रयोग गर्नेलाई प्रोत्साहन, अति विपन्न वर्गका जनतालाई विद्युत् जडानमा सहुलियत दिनेजस्ता कामहरू गरी हरेक घर उज्याला बनाउने लक्ष्य छ ।

बालमैत्री उपमहानगरपालिका
बालबालिकाका बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकार सुरक्षित गर्दै घोराहीलाई बालमैत्री उपमहानगरपालिका बनाइनेछ । हरेक बालबालिकालाई पूर्ण खोप, सर्वसुलभ स्वास्थ्य सेवा, बालश्रम उन्मूलन, बालविवाह र हिंसा न्यूनीकरण, प्रारम्भिक बालविकासको प्रत्याभूति, पढ्न पाउने अधिकारको ग्यारेन्टी, बालापनको संरक्षण, बालबालिकासँग सम्बन्धित क्षेत्रमा उनीहरूको अर्थपूर्ण सहभागिताजस्ता काम गरी उपमहानगरलाई बालमैत्री घोषणा गरिनेछ ।

घोराहीमा हरियाली घरघरमा खुसियाली
एक घर एक बगैंचा कार्यक्रमको सुरुआत गर्ने, नगर सौन्दर्यका लागि घर सौन्दर्य अभियान सञ्चालन गर्ने, गाउँ नगर जोड्न सिटी बस सञ्चालन गर्ने र अव्यवस्थित जग्गा प्लटिङलाई नियन्त्रण गरी व्यवस्थित गरिनेछ । युवालाई रचनात्मक काममा सहभागी गराउँदै सफा, सुन्दर, स्वच्छ र हरियालीसहितको नगर निर्माण गर्न बिरुवा, फलफूल वा फूलहरू रोप्ने कार्यक्रम सञ्चालन गर्नेजस्ता रचनात्मक कामहरू गरिनेछ ।

प्रकाशित : श्रावण २, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?