बाघको संख्या बढ्दै

विश्व बाघ दिवस
अब्दुल्लाह मियाँ

काठमाडौं — सन् २०२२ सम्म बाघको संख्या २ सय ५० भन्दा बढी पुर्‍याउने संकल्प लिएको सरकारले आगामी वर्ष देशैभर वैज्ञानिक गणना गर्ने भएको छ।

वन मन्त्रालय, जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख डा. महेश्वर ढकालले बाघ पाइने तराईका ५ वटै निकुञ्ज पर्सा, चितवन, बर्दिया, बाँके र शुक्लाफाँटा निकुञ्ज तथा आसपास जिल्लामा सन् २०१८ मा बाघ गणना गरिने बताए। नेपालमा वाग्मती नदीदेखि पश्चिमको कञ्चनपुरसम्म बाघको उपस्थिति छ।

‘बाघ पाइने देशमध्ये पनि हामी संरक्षणका हिसाबले अगाडि छौं,’ विश्व बाघ दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा ढकालले भने, ‘सन् २०२२ सम्म संख्या २ सय ५० भन्दा बढी हुने हाम्रो अपेक्षा छ।’ सन् २०१३ को गणनाअनुसार पर्साबाट शुक्लाफाँटासम्म १ सय ९८ वयस्क बाघ छन्। सन् २००८ को गणनामा १ सय २१ वयस्क बाघ थिए। यसबीच संरक्षण प्रभावकारी भएकाले सबै निकुञ्जमा बाघको संख्या बढ्दो रहेको जानकार बताउँछन् । 
वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले भावी पुस्ताका लागि र प्राकृतिक बासस्थानमा सन्तुलन कायम गर्न बाघको संख्या बढाउनु अपरिहार्य भएको बताए। सरकारले सन् २०१८ मा बाघको संख्या २ सयभन्दा बढी पुग्ने प्रक्षेपण गरेको छ भने सन् २०२२ सम्म २५० भन्दा बढी पुग्ने लक्ष्यअनुसार काम गरिरहेको छ। ‘अहिलेको हिसाबले संख्या विस्तार राम्रो देखिन्छ,’ निकुञ्ज विभागको समेत नेतृत्व गरिसकेका आचार्यले थपे, ‘अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रतिबद्धता पूरा हुनेमा हामी आशावादी छौं।’ 
सन् २०१३ मा भारत र नेपालतिरका संरक्षित क्षेत्रमा एकै पटक एउटै प्रविधिबाट बाघको गणना गरिएको थियो। सन् २०१८ र २०२२ मा पनि दुवैतिर एकै पटक क्यामरा ट्रयाप प्रविधिबाट बाघ गणना गरिनेछ। बाघ रहेको क्षेत्रलाई ग्रिड बनाएर हिँड्ने सम्भावित बाटोमा स्वचालित क्यामरा राखी तस्बिर कैद गर्ने त्यसैको विश्लेषणबाट विशेषज्ञहरूले आधिकारिक संख्या निकाल्नेछन् ।

प्रकाशित : श्रावण १५, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?