कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गलत डिजाइन, गुणस्तरहीन काम

राजमार्ग विस्तार
शिव पुरी

भरतपुर — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिकास्थित २ दशमलव ३ किमि सडक सुधार आयोजनाको डिजाइनै गलत पाइएको छ।

 गलत डिजाइन, गुणस्तरहीन काम

मुख्य बजार क्षेत्रको राजमार्ग ४ लेन बनाउन उक्त आयोजनाले काम गर्दै आएको छ। सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार परामर्शदाताले टाँडी बजार सुधार आयोजनाका लागि दिएको डिजाइन गलत पाइएको हो। 

राजमार्गमा गुड्ने गाडीको क्षमता अडकल नगरी हचुवाका भरमा डिजाइन गरिएकाले अहिले पिच भत्किएर कामै नलाग्ने भएको डिभिजनले जनाएको छ। योजना सम्पन्न भइनसक्दै पिचमा सोभिङ (पोका पर्नु) हुन थालेको छ। सडक सुधारका नाममा स्थानीयले २ वर्षदेखि सास्ती खेप्दै आएका छन्। डिभिजनले ललितपुरको नर्थस्टार कन्सलटेन्टले दिएको डिजाइनका आधारमा ठेकेदारसित सम्झौता गरेको थियो। डिजाइन ‘फेल’ भएकैले पिच भत्किएको, पोका परेको डिभिजन प्रमुख धर्मेन्द्र झाले बताए। ‘गलत डिजाइनका कारण सडक गुणस्तरीय भएन,’ उनले भने, ‘ठेकेदारलाई भत्केको र पोका परेको स्थानमा पुन: मर्मत गर्न भनेका छौं।’ मापदण्डअनुसार उक्त सडकको बेस ३०/३५ सेमि हुनुपर्छ। पिचको मोटाइसमेत मुग्लिन–नारायणगढ सडकको जस्तै १६ सेमि हुनुपथ्र्यो। तर, तत्कालीन सडक डिभिजन प्रमुख हरिकुमार पोख्रेलको पालामा गलत डिजाइनमै ५ सेमि मोटाइको पिच गर्ने सम्झौता भएको पाइएको छ। देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलगायत सहरबाट भारी सामान बोकेका गाडी यही सडक हुँदै राजधानी र पश्चिम क्षेत्र जान्छन्। 
डिजाइनमा सडकको चौडाइ ७/७ मिटर थियो। ठेकेदारले त्यसैलाई भत्काएर चार लेन बनाएको देखिन्छ। कार्यालयका प्राविधिकका अनुसार सडक भत्काउने क्रममा ग्राभेल थपेर त्यसमाथि बेस थप्नुपथ्र्यो। ठेकेदारले पुरानो पिच भत्काई त्यसैमाथि १५ सेमि बेस हालेर ५ सेमि पिच गरेको छ। ‘त्यतिबेलै डिजाइन करेक्सन गरिनुपथ्र्यो,’ झाले भने, ‘त्यही नभएका कारण यत्रो लगानीको सडक काम पूरा नहुँदै भत्किन थाल्यो।’ 
ठेकेदारले निर्माणमा लापरबाही गरेको भन्दै डिभिजनले ४ करोड रुपैयाँ भुक्तानी रोकेको छ। भत्किएको स्थानमा मर्मत र पिचको मोटाइ एक तह थप गराउने तयारी छ। श्रेष्ठ कन्स्ट्रक्सनले उक्त १९ करोड ७० लाखमा ठेक्का सकारेको हो। २०७२ असार २९ गते काम सुरु गरेको उसले सम्झौताअनुसार २०७३ असोज २९ मै सम्पन्न गर्नुपथ्र्यो। उक्त मिति गुज्रेकै एक वर्ष बित्न लाग्दा पनि अहिलेसम्म ६५ प्रतिशतभन्दा काम भएको छैन। पछिल्लोपटक २०७४ असोज २९ सम्म काम सक्नुपर्ने गरी म्याद थपिएको छ। रत्ननगर बजार क्षेत्रमा ग्रिनरीसहित भानुचोकदेखि लौरीघोलसम्म २ दशमलव ३ किमि क्षेत्रको सडक स्तरोन्नति गरी ४ लेन बनाउन लागिएको हो। 

स्थानीय आक्रोशित
 स्थानीयले सडक गुणस्तरहीन भएको भन्दै ठेकेदारलाई काम रोक्न दबाब दिएका छन्। सडक निर्माणको प्रारम्भमै यहाँ अनुगमन समिति गठन गरिएको थियो। ‘ठेकेदारले अनुगमन समितिलाई बेवास्ता गरेको पाइयो,’ रत्ननगर–२ का वडाध्यक्ष तिलकराज पौडेलले भने, ‘काम गुणस्तरहीन भएकैले ठेकेदारले रातारात कालोपत्र गर्न खोजेको रहेछ।’ साताअघि रातको समयमा धूलो नहटाई कालोपत्र गर्न खोज्दा स्थानीयले रोकेका थिए। झारा टार्ने काम गर्न लागेको भन्दै उनीहरू मध्यरातसम्म प्रदर्शनमा उत्रिए। 
‘रातारात कालोपत्र गर्न लाग्दा शंका लाग्यो,’ प्रेमकृष्ण खनालले भने, ‘गुणस्तर छानबिन हुनुपर्छ।’ निर्माणका नाममा दुई वर्षसम्म धुलाम्मे बनाएकाले स्थानीयले सास्ती खोप्नुपर्‍यो। तल्लो भागमा २ लेन कालोपत्र गरिएको साढे ३ महिना भयो। त्यहाँ अहिल्यै ठूला खाल्डा देखिइसकेका छन्। सडकको तह मिलेको छैन। ढल दबिएर भत्किने सम्भावना छ। सडकसँगै फुटपाथ र ढल निकासका पूर्वाधारसमेत निर्माण गरिने सम्झौतामा उल्लेख छ।
ठेकेदार प्रतिनिधि तथा व्यवस्थापक अनिश रेग्मीले निर्माण क्रममा सडक भत्किएको स्विकारे। ‘परामर्शदाताको गलत डिजाइनकै कारण सडक भत्किएको हो,’ उनले भने, ‘यहाँ गुड्ने गाडीको क्षमता अध्ययन गरी डिजाइन गर्नुपथ्र्यो, त्यसो गरेको पाइएन।’ उनले डिजाइन गलत रहेको भन्दै बेलैमा डिजाइनलाई जानकारी गराए पनि बेवास्ता गरिएको आरोप लगाए। ‘कालोपत्रे काम सक्न नपाउँदै सडकमा भारी क्षमताका गाडी गुड्न थालेकाले पनि कमजोर भएको हो,’ रेग्मीले भने। ठेकेदार कम्पनीले भत्किएको र पोका परेको सडक मर्मत गर्ने जनायो। 

ठेकेदारलाई स्पष्टीकरण
डिभिजनले काममा ढिलासुस्ती र निर्माणमा लापरबाही भएको भन्दै ठेकेदारलाई स्पष्टीकरण मागेको छ। ‘काममा धेरै लापरबाही देखियो,’ डिभिजन प्रमुख झाले भने, ‘स्पष्टीकरणको जवाफ चित्तबुझ्दो 
नआएकाले पुन: पत्र पठाइएको छ।’ डिभिजनले ठेकेदारको रकम रोक्का गरी कारबाही प्रक्रिया बढाउन लागिएको जनायो। ठेकेदारका प्रतिनिधि भने खानेपानी पाइप, विद्युत् र टेलिफोन पोलले काममा अवरोध गरेकाले ढिलाइ भएको बताउँछन्। ‘काम ढिला भएकै हो,’ रेग्मीले भने, ‘तर, निर्माण गुणस्तरहीन भन्न मिल्दैन, डिभिजन कार्यालयका प्रतिनिधिकै रोहबरमा काम भएको हो।’ श्रेष्ठ कन्स्ट्रक्सनले नारायणगढ–मुग्लिन सडकको जुगेडी खण्डमा समेत काम गरिरहेको छ। त्यहाँ पनि उसको काम चित्तबुझ्दो नभएको भन्दै जिल्ला प्रशासनले आलोचना गरेको थियो।

प्रकाशित : श्रावण १५, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?