कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदारको अटेरी

कान्तिपुर संवाददाता

सुर्खेत — सुर्खेत र बर्दिया जोड्ने ‘फास्ट ट्रयाक’ नहुँदा यात्रुले रत्न राजमार्ग (कोहलपुर–सुर्खेत) को लामो र पटयारलाग्दो यात्रा गर्नुपर्ने बाध्यता छ।

उत्तर–दक्षिण जोड्ने उद्देश्यले २०६४/६५ देखि तेलपानी–भुरीगाउँ–सुर्खेत खण्डको सर्भे थालिए पनि अहिलेसम्म सञ्चालनमा ल्याउन सकिएको छैन। ट्रयाक खोलेर भेरी नदीमा पक्की पुल बनाउन थालिएको पाँच वर्ष नाघ्यो तर ठेकेदारको लापरबाहीले पूरा हुन सकेन। 

बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको सिमाना रानीघाटमा निर्माणाधीन पक्की पुल अलपत्र अवस्थामा छ। २०७१ को बाढीले पिल्लर बंग्याएको भन्दै ठेकेदार निर्माणबाट पन्छिन खोजेको स्थानीयको आरोप छ। रानीघाटका प्रेमप्रसाद पौडेलले पुल अलपत्र पर्नुमा ठेकेदारसँगै सडक डिभिजन कार्यालय पनि दोषी रहेको आरोप लगाए। ‘ठेकेदार र सडकका कर्मचारी दुवैको मिलेमतो हो। नत्र सम्झौता भएको ५ वर्ष बित्दा पनि काम लथालिंग हुन्थेन होला,’ उनले भने। पुल नहुँदा बर्दियाका यात्रु मात्रै होइन, हरिहरपुर, तरंगा र वीरेन्द्रनगरका बासिन्दासमेत मर्कामा छन्। बराहताल गाउँपालिका–२ का प्रेमबहादुर ओलीले आफूहरूलाई वीरेन्द्रनगर–कोहलपुर हुँदै बर्दिया, कैलाली जानुभन्दा यो रूट छोटो पर्ने बताए। छिटो पुल निर्माण सम्पन्न गर्न स्थानीयले सडक डिभिजनलाई दबाब दिँदै आएका छन्। 
पुल निर्माणका लागि पप्पु मल्ल जेभी कन्स्ट्रक्सन प्रालि र डिभिजन सडक कार्यालय सुर्खेतबीच आव ०६८/६९ मा सम्झौता भएको थियो। १४ करोड २९ लाख ७९ हजार २ सय ७८ रुपैयाँको योजनाअन्तर्गत हालसम्म २ सपोर्ट पिल्लर मात्र निर्माण गरिएको छ। कम्पनीले ०७२ पुस २९ मा पूरा गर्ने कार्यादेश पाएको थियो। डिभिजन सडक कार्यालयले ३ वर्षमा निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता उल्लंघन भएको भन्दै चाँडो काम सक्न ठेकेदारलाई ताकेता गर्दै आएको छ। कार्यालयका इन्जिनियर दीपक रजकले म्याद थप गरिसकेकाले मनसुन सकिनेबित्तिकै काम थाल्न ताकेता गर्ने बताए। यदि थपिएको म्यादभित्र निर्माण सम्पन्न नगरे आवश्यक कारबाहीसहित ठेक्का सम्झौता रद्द गर्न बाध्य हुने भन्दै कार्यालयले ताकेता दिँदै आए पनि ठेकेदारले निर्माणपूर्वको तयारी थालेका छैनन्। यसले गर्दा थपिएको म्यादभित्र निर्माण सम्पन्न गर्नेमा स्थानीयको आशंका छ। निर्माण कम्पनीले पहिलो किस्ताबापत १ करोड ७६ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ।
सुर्खेतबाट बर्दियाको भुरीगाउँ ५० किमिमा पर्छ। सुर्खेतदेखि ३२ किमि बर्दियाको तेलपानीसम्म सडकको ट्रयाक निर्माण भइसकेको छ। तेलपानी जोड्न झन्डै ६ किमि बाँकी छ। तेलपानीदेखि रानीपुर २० किमिमध्ये बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले आम्बासादेखि तेलपानीसम्म ४ किमिबाहेक निकुञ्जको सुरक्षार्थ १६ किमि सडक निर्माण गरिसकेको छ।

प्रकाशित : श्रावण १५, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?