कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मन्त्रीको पद बहालीमा सचिवको दाउ

नवनियुक्त मन्त्रीहरूबाट पद बहाली गर्दा फाइल सदर गराउने चलन छ। पञ्चायतकालदेखि यस्तो हुँदै आएको हो।

मन्त्रीको पद बहालीमा सचिवको दाउ

बहुदलीय व्यवस्था आएपछि पनि यसलाई निरन्तरता दिइयो। यस क्रममा साउन ११ गते पदभार ग्रहण गर्न पुगेका मन्त्रीद्वारा बाठा सचिवले अड्किएका फाइल सदर गराए। तर, अनुभवी स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र कानुन बुझेका वाणिज्यमन्त्री मीन विश्वकर्माले कुनै फाइल सदर गरेनन्। पशुपक्षी विकास मन्त्रालयका सचिवले मन्त्री सन्तकुमार थारूलाई मन्त्रालयको सल्लाहकारमा पूर्वसचिवहरू चार जनालाई नियुक्ति गर्ने फाइल सदर गराउन भ्याए। एउटा सानो मन्त्रालयमा चार–चार जना सल्लाहकारको आवश्यकता किन? सल्लाहकारको पदावधि, तिनले पाउने सुविधा आदिका सम्बन्धमा नयाँ मन्त्रीबाट सोचिएजस्तो लागेन। 

त्यसैगरी, रक्षामन्त्री भीमसेनदास प्रधानलाई रक्षासचिवले प्रतिरक्षा रणनीति तर्जुमासम्बन्धी कार्यदलको सकिएको म्याद दुई महिना थप्ने निर्णय गराए। छोटो अवधि रक्षा मन्त्रालयको सचिवमा रहँदा विवादमा परेर अन्यत्र सरुवा गरिएका पूर्वसचिव माधव रेग्मीको संयोजकत्वमा गठित कार्यदलको म्याद सकिएको थियो। मन्त्री जान्ने–बुझ्ने भएका भए त्यस कार्यदलले निर्धारित समयमै किन कार्यसम्पन्न गर्न नसकेको भनी स्पष्टीकरण सोध्दै म्याद थप नहुने र जेजस्तो अवस्थामा छ, त्यसको प्रतिवेदन पेस गर्न लगाई मन्त्रीले नयाँ परिवेशबाट सोचेर निर्णय गर्नुपर्ने थियो। रकमी सचिवहरूले प्रशासनिक कार्यमा अनुभवहीन मन्त्रीलाई कति फसाउने हुन्, देख्न पाइनेछ। 

– तीर्थ खनाल

नयाँबानेश्वर, काठमाडौं

 

 

अपराधकर्मी र हाम्रो मानसिकता

नेपाली कामदार, सर्वसाधारण र सरकारी अधिकारी जति बिदेसिन्छन्, सबै इमानदार, अनुशासित र निर्विकार होलान् भन्ने विश्वास राख्न सकिँदैन। कतिपय व्यक्ति आपराधिक मानसिकताका, गुन्डागर्दी मन पराउने र केही यहाँ अपराध गरेर विदेशी भूमिमा लुक्ने उद्देश्यले पनि पुगेका हुन्छन्। तर हाम्रो मनस्थिति भने बुझिनसक्नुको छ: नेपालमा अपराध गर्नेलाई हामी देखि सहँदैनाँै, तर विदेश पुगेपछि दूधले नुहाएको झैं ठान्छौं। परदेशमा जति ठूलो अपराध गरे पनि हाम्रो दया, माया र सहानुभूति थामिनसक्नुको हुन्छ र चन्दा उठाएरै भए पनि त्यस्ता व्यक्तिलाई उद्धार गर्न अघि सर्छौं। 

हामीले उठाएको चन्दामाथि धूर्तहरूले रजाइँ गर्दा हामीलगायत सञ्चारकर्मीलाई समेत पत्तो हुँदैन। विकसित एवं समृद्ध देशमा नेपालीमाथि लगाइएको आरोप सरासर झूट र कपोलकल्पित भन्ने गर्छौं, त्यहाँको गवाही, प्रहरी अनुसन्धान र अदालती बहसमा लाग्नेहरूलाई पागल भन्न पछि पर्दैनौं। दोषीको बयानलाई हामी परम सत्य ठान्छौं र कानुनी शासनको धज्जी उडाउन लालायित देखिन्छौंर जब विदेशमा दोषी ठहरिएको व्यक्ति हाम्रो विमानस्थलमा आइपुग्छ, हामी तँछाडमछाड गर्दै फूलको मालाले स्वागत गर्छौं, ठूलो पुरुषार्थ गरेर फर्केको सन्देश फिँजाएर दुनियाँ हँसाइरहन्छौं। जब कि अपराध गरेर जेल सजाय पाउने विदेशी हामीकहाँ पनि नभएका होइनन्। कुख्यात हत्यारा चाल्र्स शोभराजकै कुरा गरौं, उनलाई फ्रान्सले हत्यारा सुपुर्दगी गर्नुपर्छ भन्ने कुरा उठाएको छैन, न त त्यहाँका जनताले चन्दा उठाएर उनलाई उद्धार नै गर्न खोजेका छन्। वास्तवमा उनीहरू कानुनमा विश्वास गर्छन्, हामी गर्दैनौं। हामी भावनामा बग्छौं, उनीहरू वास्तविकताका पक्षमा उभिन्छन्। यावत् कुराले गर्दा नेपाली नेपालीबीचको भाइचारा अक्षुण्ण रहनु अपरिहार्य हँुदाहँुदै पनि अपराध संरक्षण गर्न खोज्ने हाम्रो मानसिकतामाथि पूर्णविराम लगाउनु अनिवार्य देखिन्छ।

– डा. भुवनेश्वर शर्मा

चन्द्रागिरि–२, काठमाडौं

 

वीर अस्पतालको दुर्गति

१ सय २८ वर्षअघि १५ शय्याबाट सुरु गरिएको वीर अस्पताल अहिले ४ सय ६० शय्यासम्म पुगेको छ। वीर अस्पतालको वार्षिकोत्सवमा भाषण गरी अस्पतालको प्रगतिको प्रतिबद्धता जनाए पनि अहिलेसम्म यसले पूर्णता पाउन सकेको छैन। पटकपटक भाषण गरियो, प्रतिबद्धता जनाइयो तर प्रगति शून्य नै छ। फोहोरको डुंगुर, जीर्ण भवन, रंगरोगनविहीन, शौचालबाट आउने दुर्गन्ध तथा अव्यवस्थित व्यवस्थापनबीचमा मन्त्रीद्वयले व्यक्त गरेको वीर अस्पताललाई सुधार्ने नीति अवलम्बन गर्ने धारणा कति विश्वासिलो छ, सबैले बुझेका सन्दर्भ हुन्। वीर अस्पतालमा रहेका फार्मेसी देखावटी मात्र रहनु र नर्सहरू सामाजिक सञ्जालमा व्यस्त भेटिए पनि व्यवस्थापन पक्ष मौन बस्नु नै अस्पतालको दक्षतामा सवाल उठ्नु हो। त्यसकारण भाषण होइन, काम गरेर देखाउनुपर्छ। मुक्तकण्ठबाट जनताले प्रशंसा गरेको आवाज गुन्जियोस्। अस्पतालको फार्मेसीमा पर्याप्त औषधिको भण्डार होस्। नर्सहरूले सामाजिक सञ्जालमा दिन बिताउनु नपरोस्। शल्यक्रियामा प्रयोग गरिएको औषधिको विवरण बिरामीका आफन्तलाई दिइयोस्। ठाउँठाउँमा सीसी क्यामरा जडान गरी अनुगमन गरियोस्। अस्पताल स्वच्छ र सेवाग्राहीमैत्री बनोस्। 

– प्रमोद पौडेल

काठमाडौं–३२, पेप्सीकोला

 

आयोग गठन गर्नेविरुद्ध किन नबोल्ने?

‘कर फछ्र्योट आयोगको ब्रह्मलुट’ शीर्षकमा विशेष अदातलका पूर्वअध्यक्षको लेख प्रकाशित रहेछ। आयकर ऐन २०५८ को दफा १४२ मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि साल बसाली लागू हुने आर्थिक ऐनले करको दर घटाउने, बढाउने छुट दिने, मिनाहा दिने व्यवस्था गरेकामा बाहेक अन्य कुनै पनि ऐनले यस ऐनबमोजिमका करका व्यवस्थामा कुनै संशोधन, परिवर्तन वा करसम्बन्धी अन्य व्यवस्थाहरू गर्न सक्ने छैन’ भन्ने कानुनी व्यवस्थालाई उहाँले सर्वेसर्वा रूपमा विशेष व्यवस्था भनी उपमा दिनुभएछ। त्यसो हो भने अहिले आएको औद्योगिक व्यवसाय ऐन २०७३ को दफा २२ मा उद्योगलाई दिएको कर छुट सुविधाको कानुनी व्यवस्था कुन सालबसाली आर्थिक ऐनभित्र छ? करका दरहरू पनि आयकर ऐन २०५८ को दफा ११ सँग मेल खाँदैनन्। 

कर विज्ञको समेत पहिचान बनाउनुभएका व्यक्तिको भनाइमा आयकर ऐन २०५८ आइसकेको अवस्थामा कर फस्र्योट ऐन आकर्षित हुन सक्दैन भन्ने रहेछ। कानुन व्याख्यासम्बन्धी ऐन २०१० र संवैधानिक प्रावधान र व्यवस्थाको हवाला दिनुभएको रहेछ। आयकर ऐन २०५८ लागू भएपछि अहिलेसम्म पटकपटक कर फस्र्योट आयोग गठन भइसकेका छन्। ती सबैको वैधानिकता शून्य हुन्छ भन्ने थाहा हुँदा त्यस्तो आयोग गठन गर्ने र जिम्मेवारी तोक्नेउपर केही नबोल्नुपर्ने हुन्छ र? 

कानुन लागू गर्नेले भने समयअनुसारको कानुन नभए त्यस्तो कानुनको अनादेखा गर्न सक्छ। तर नागरिकले त्यस्तो कानुनको अनादेखा गर्नै सक्दैन। स्मरण रहोस्, पूर्वअर्थसचिवले आइन्दा आयोग गठन गर्दैनौं भनेकै भए पनि त्यस्तो भनाइले कुनै कानुनी आदेश वा हैसियत प्राप्त गर्ने पनि होइन। न त त्यस्तो भनाइ सरकार प्रमुखको आधिकारिक हुन्छ। अर्थसचिवको भनाइले कर फस्र्योट आयोग ऐन २०३३ निलम्बितको स्थितिमा पुग्दैन। विशेष अदालतका पूर्वअध्यक्षको विचारले करसम्बन्धी राष्ट्रिय नीति निर्माणमै महत्त्व राख्न सक्छ। अर्कातिर मुद्दा अदालतमा विचाराधीन पनि छ। कुरा आमसञ्चारमा राख्ने कि अदालतमा बहसको सिलसिलामा उठाउने भन्ने गम्भीर प्रश्न अर्कातिर छँदै छ। 

एकातिर भ्याट रकम तथा पदीय जिम्मेवारी र अर्कातिर आयोगको वैधानिकता दुई फरक विषयलाई एकै ठाउँमा राखेर हेर्न मिल्छ र? महालेखाले यसअगाडिका आयोगका कामकारबाहीलाई गलत देखेको वा सरकारले गलत ऐनको प्रयोग गरी आयोग गठन गरेको किटानी उल्लेख गर्न सक्नुपर्छ। सरकारमा रहनेले निष्क्रिय ऐन प्रयोग गरी आयोग गठन गरेको हो भने त्यस्ता पदाधिकारीको कुनै जिम्मेवारी हुँदैन? आयोगको कामकारबाहीउपर महालेखाले सालबसाली रूपमै बेरुजु भनेर उल्लेख गरी, गलत ऐन खारेजीका लाागि राष्ट्रपतिसमक्ष पेस हुने प्रतिवेदनमा उल्लेख गर्न केले रोकेको थियो? 

– तुलसी काफ्ले

तगबिकष्पबाभि२थबजयय।अयm

 

अस्थायी शिक्षकलाई अन्याय भएको छैन

कान्तिपुर दैनिकमा प्रकाशित ‘फेल भए पनि सुविधा पाउन आन्दोलन’ शीर्षकको समाचार पढेर म चुप रहन सकिनँ। शिक्षक सेवा आयोगले लिने परीक्षामा ४० नम्बर ल्याउन नसकेर अनुत्तीर्ण भए पनि सरकारले सुविधा दिनुपर्ने माग गर्दै अस्थायी शिक्षकहरू आन्दोलनमा उत्रिएका मात्रै छैनन्, हारगुहार गर्दै पूर्वराजादेखि नेपाली सेनाको ढोका ढकढक्याउन पुगेका छन्। यो हास्यास्पद लाग्यो। अध्यापन अनुमतिपत्र नभएका तथा तालिम नलिएका शिक्षकलाई पनि आयोगले लिने परीक्षामा सामेल गराउनुपर्ने साथै फेल भए पनि सुविधा दिनुपर्ने माग राखेर आन्दोलन गर्नु आफंैमा लज्जास्पद कुरा हो। गत वर्ष असारमा संशोधन भएको ऐनमा अस्थायी शिक्षकले सुविधा वा परीक्षामध्ये एक रोज्नुपर्ने व्यवस्था गरेको थियो। ऐनमा भएको व्यवस्थाअनुसार आयोगले गत चैतमा स्थायी शिक्षकका लागि प्रावि, निमावि र माविमा गरी १९ हजार २ सय ६५ शिक्षक दरबन्दीमा विज्ञापन खुलाएको थियो। त्यहीअनुसार परीक्षा आगामी भदौ ३ गते तोकिएको छ। अस्थायी शिक्षकहरूले दुवै हातमा लड्डु खोजेर हँुदैन। सरकारले कोही कसैलाई पनि अन्याय गरेको छैन। परीक्षा दिन नचाहनेले तथा परीक्षामा उत्तीर्ण हुन्न भन्नेका लागि सुविधासमेत लिने व्यवस्था गरेको छ। अस्थायी शिक्षकहरूले अब परीक्षा हुने अन्तिम समयमा आएर विभिन्न बखेडा झिकेर आन्दोलनका नाममा परीक्षा दिन नचाहने तथा सुविधा रोजेका करिब १० हजार शिक्षकलाई समेत बाधा पुग्नेछ। तसर्थ अस्थायी शिक्षकले आफ्नो अधिकार खोज्दा अरूको अधिकार हनन हुन्छ कि भन्ने हेक्का राख्ने हो कि?

– रमेश दाहाल 

मेन्छ्यायाम २, तेह्रथुम 

 

विपन्नलाई नि:शुल्क स्वास्थ्य बिमा

साउन १३ गते कान्तिपुरमा प्रकाशित ‘गरिब र विपन्नलाई नि:शुल्क स्वास्थ्य बिमा’ शीर्षक समाचार एकदम सान्दर्भिक लाग्यो। गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी सरकारले तीन वर्षभित्र सबै जिल्लामा सामाजिक स्वास्थ्य सुरक्षा अर्थात् स्वास्थ्य बिमा कार्यक्रम लागू गरिसक्ने उद्देश्य निकै राम्रो छ। दक्षिण कोरियामा स्वास्थ्य बिमा कार्यक्रम निकै लोकप्रिय छ। कोरियासँग हामीले धेरै सिक्नुपरेको छ। कोरियाली सरकारले सघाउ पुर्‍याएको यस कार्यक्रमका हरेक ५ जनासम्म परिवार हुने सहभागी नागरिकले २५ सय मात्र प्रिमियम रकम खर्च गरेपछि स्वास्थ्य बिमा हुनुका साथै निजको परिवारले .५० हजारसम्मको उपचार खर्च पाउँछ। तर त्यस कार्यक्रममा देखिएका कतिपय कमीलाई निम्नानुसार सुधार गर्नुपर्छ: 

१. केन्द्र सरकारद्वारा सञ्चालित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अब स्थानीय सरकारका पोल्टामा पर्ने देखिन्छ। स्थानीय कार्यपालिकाले स्थानीय जनताको स्वास्थ्यप्रति सचेत र जिम्मेवार बहन गरे मात्र स्वास्थ्य बिमा कार्यक्रम सफल हुन्छ। त्यसकारण स्थानीय तहका जनप्रतिनिधिलगायत सबैलाई कार्यक्रमबारे योगदान पुर्‍याउने गरी सघाउन विशेष ध्यान दिनुपर्छ।

२. आ.व.२०७३/७४ असारसम्म १५ जिल्लामा लागू भइसकेको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको सफलता व्यापक जनचेतनामा आधारित छ। तर अझै पनि स्वास्थ्य बिमा अथवा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमबारे अधिकांश जनतालाई स्पष्ट जानकारी छैन। सरकारी स्वास्थ्य निकाय तथा जनताले त यसलाई नाफामुखी गैरसरकारी संस्थाका रूपमा बुझेको पाइन्छ। त्यसकारण सरकारी स्वास्थ्य निकायलाई व्यापक रूपमा जानकारी तथा सहयोग गर्ने परिपाटी मिलाउन नितान्त जरुरी छ। 

३. स्वास्थ्य बिमा कर्यक्रम सफलतापूर्वक लागू गर्न र जनताको रकमको सुरक्षित व्यवस्थापन गर्न कार्यक्रममा कार्यरत कर्मचारीको ठूलो देन हुन्छ। तर जिल्लामा कार्यरत प्रबन्धक, दर्ता अधिकारी तथा कार्यालय सहयोगी करारमा कार्यरत भएको पाइएको छ। करारभन्दा स्थायी कर्मचारीका रूपमा परिचालन गरिए कार्यक्रमप्रति अपनत्व बढ्छ। 

४. जोसुकैलाई पनि गरिब भनी प्रमाणित गर्नु सामाजिक अपराध तथा सामाजिक सुरक्षा कार्यक्रमको बाधा, अवरोधसमेत हो। त्यसैले गरिब तथा विपन्न राजनीतिक दबाब तथा मोलाहिजा नहेरी सही व्यक्तिलाई नै प्रमाणित गराई सोहीअनुरूप सेवाग्राहीको स्तर निर्धारण गर्नुपर्छ।

– गंंगाराज अर्याल,

पाणिनी–८, पाली, अर्घाखाँची

 

तुलसीदास, हनुमान चालीसा र विज्ञान

३० जुलाईको दिन गोस्वामी तुलसीदास जयन्ती हो। तुलसीदासको जन्म यमुना नदीको किनारमा रहेको चित्रकुट भन्ने ठाउँमा सन् १५११ मा र मृत्यु बाराणासीमा सन् १६२३ मा भएको मानिन्छ। हिन्दुहरूको पुस्तक भविष्योत्तर पुराण (प्रतिसर्गा पर्व, ४. २०) मा शिवले पार्वतीलाई वाल्मिकीले कलियुगमा रामबारे गीत गाउनेछन्। धेरैजसो विद्वान् तुलसीदासलाई वाल्मिकीको पुनर्जन्म मान्छन्। तुलसीदासले रामचरितमानस, दोहावली, गीतावली, कृष्णगीतावली, विनयपत्रिका, राम लला नहछू, रामाज्ञा प्रश्न, वैराग्य संदीपनी, संकटमोचन हनुमानष्टक, हनुमान बाहुक, जानकी मंगल, पार्वती मंगल आदि प्रशस्त ग्रन्थ लेखेका हुन्। 

यीमध्ये हनुमान चालीसामा हनुमानको बल, बुद्धि, बहादुरीपन, विवेक, लोकप्रियता र उनको रामप्रतिको त्याग र तपस्याबारे बयान गरिएकाले हिन्दु समाजमा यस रचनालाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। यसमा ४३ वटा श्लोक छन्, तीमध्ये सुरुका २ वटा परिचयात्मक र अन्तिमको १ वटा अन्तिम दोहाका ६ लाइन छन्। बीचको ४० वटा चौपाई श्लोकमध्ये १८ औं श्लोकमा ‘जुग सहस्र जोजन पर भानू।......’ भनेर लेखिएको छ। यो श्लोकको अर्थ (१ जुग – १२,००० वर्ष, १ सहस्र – १०००, १ योजन – ८ माइल, युगसहस्रयोजन – ९,६०,००,००० माइल वा १५,३६,००,००० किलोमिटर) भनेर सूर्य र पृथ्वीबीचको दूरीबारे सरल ज्ञान दिएको भनेर मान्ने गरिन्छ। नासाका अनुसार सूर्य र पृथ्वीबीचको दूरी करिब १४,९६,००,००० किलोमिटर छ। यो दूरी करिब–करिब मिलेको देखिए पनि हनुमान चालीसामा लेखिएको योजन वा जोजनको अर्थ संस्कृत भाषामा फरक–फरक मान जस्तै ४ देखि १२ माइल (४ वा ५ वा ८ वा ९ वा १२) भनेर विभिन्न विद्वान्ले लेखेकाले माथिको हिसाबलाई कतिपयले मान्दैनन्। 

ग्रिक अन्तरिक्ष वैज्ञानिक तथा गणितविज्ञ एरिस्टार्कस वा एरटोस्थेन्स वा युसेबियसले करिब ३१०–२३० ईशा पूर्वमा अध्ययन गरे पनि वा छैटौं शताब्दीमा लेखिएको ‘सूर्य सिद्धान्त’ मा ग्रह, उपग्रह, भूगोल र खगोल विज्ञानसम्बन्धी वैज्ञानिक तरिकाले बयान गरिए पनि क्यास्सिनी र रिकरले सन् १६७२ मा मात्र वैज्ञानिक रूपमा दूरीबारे पश्चिमी विज्ञानले प्रमाणित गरेको मान्छ। यसले के देखाउँछ भने तुलसीदास पक्कै पनि सामान्य मानिस होइनन्। वैज्ञानिकका लागि उनका बारे बुझ्न उनले लेखेका कृति पढ्नु, बुझ्नु र पचाउनु जरुरि छ। 

– डा. तीर्थराज घिमिरे

ललितपुर, नेपाल 

 

तीजमा गहना, कपडा प्रदर्शन

तीज नेपाली महिलाको महान् पर्व हो। यसको आफ्नै मौलिकता, विशेषता र महत्त्व छ। परापूर्वकालदेखि मनाउने गरिएको यो पर्वका बेला विवाहित महिला माइतमा आउने, दर खाने र आफ्ना श्रीमान्का लागि व्रत बस्ने तथा अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनेर व्रत बसी आफ्ना दु:खसुखका घटनालाई गीतमार्फत व्यक्त गर्न कुनै सार्वजनिक मठमन्दिर र स्थानमा भेला भई नाचगान गरी मनाउने चाडपर्व हो। तर अहिले चाडपर्व उही तर मनाउने चलन अलि फरक भएको छ। अहिले पर्व र समाजमा गहना, कपडा र आर्थिक हैसियत तीज फेसन देखाउने पर्व बन्दै गएको छ। पहिलाका तीजका गीत र स्वरहरूले मानिसलाई नतमस्तक बनाउँथे। अहिलेका तीजका गीतहरू परिवार तथा मान्यजनसँग बसेर सुन्न र हेर्न सकिने अवस्था छैन। पहिले तीज साउने संक्रान्तिदेखि सुरु भई गीत गाउन जम्मा हुने र टोलछिमेकमा नाच्नेगाउने गरिन्थ्यो भने अहिले नयाँ वर्षदेखि नै तीजका गीत घन्किन थाल्छन्। हरितालिका तीजको दिनमा घरपरिवारमा आफ्ना चेलीबेटी बोलाएर दर खाने र खुवाउने परम्परा थियो। अहिलो बदलिँदो परिवेशमा तीजको दर खाने कार्यक्रम वास्तविक तीजको दिनसम्म धेरै पटक समाजका आर्थिक हैसियतले सम्पन्न र प्रतिष्ठितले आयोजना गरेका हुन्छन्। दर खाने कार्यक्रम पनि गहना र कपडा प्रदर्शन गर्ने थलो बन्छ। तीज सबैको हो, चाहे धनी होस् वा चाहे गरिब। त्यस्तो भड्किलो कार्यक्रमले विपन्न र गरिब मजदुरी गर्ने महिलालाई कति मर्माहत पारेको होला। दरै खाने कार्यक्रम आयोजन गरे पनि खान नसक्ने वर्ग विशेषलाई खुवाउने गरौं न कि दर खाने कार्यक्रम आयोजना गरेर सामाजिक भड्काउ हुने गरी। चाडपर्वको मूल्य र मान्यतालाई समयानुसार बदल्नु र बदलिनु स्वाभाविकै हो तर मूल्य, मान्यता र मूल मर्म र समाजमा विचलन गर्ने गरी परिवर्तन गर्नु र गराउन खोज्नु सान्दर्भिक हँुदैन। 

– कृष्ण वर्मा

पीपलधारा, गुल्मी

 

लेखकको समर्थनमा

कान्तिपुरमा १३ गते प्रकाशित लेखमा श्रीकृष्ण अनिरुद्ध गौतमले चीन र भारतबीच चर्किंदो विवादको चर्चा गरेका छन्। लेखकले बिल्कुल ठीक भनेका छन् कि भारत आफ्नो जनतामा परेको १९६२ को त्रास मेटाउन र भारतीय उपमहाद्वीपमा चीनको हस्तक्षेप रोक्न चाहन्छ। चीन शक्तिशाली र चलाख दुवै छ। उसले भारतसँग पहिले पञ्चशीलको सम्झौता गर्‍यो र लगत्तै तिब्बतलाई मात्र लिएन, केही वर्षमै भारतसँग युद्ध गर्न पुग्यो। पञ्चशीलको धज्जी त्यसै बेलादेखि उडिसकेको छ। अब भारत र चीनबीच कुनै पञ्चशील काम लाग्दैन। अमेरिकाको निकट भएर पाकिस्तानले पूर्वी पाकिस्तान गुमायो। अब चीनको निकट भएर उसले सिन्धलाई गुमाउनेछ। चीन र भारत त यथावत् रहनेछन् तर साँढेको जुधाइमा बाछा मर्नेछन्। यसैलाई ध्यानमा राखेर नेपाल चल्नुपर्छ । 

– डा. शिवशंकर यादव

छपकैया, वीरगन्ज 

प्रकाशित : श्रावण १५, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?