कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘स्क्रब टाइफस’ का बिरामी बढ्दै

शिव पुरी

भरतपुर — जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफसको संक्रमण बढेको पाइएको छ। साउनयता ११ दिनमा ३४ जनामा यस्तो संक्रमण पुष्टि भएको हो।

पछिल्लो एघार दिनमा विभिन्न अस्पतालमा आएका ९१ बिरामीमध्ये ३४ मा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्यका किट नियन्त्रक निरीक्षक रामकुमार केसीले बताए। ‘पछिल्लो केही दिनमा यसका बिरामी बढेका छन्,’ उनले भने, ‘यस्तो बेला सजग रहनु जरुरी छ।’ गत वर्ष जिल्लामा ५ सय ३३ जनामा स्क्रब टाइफस रोग देखिएको थियो। त्यस समयमा मृत्यु भएकामध्ये ४ जना चितवनका थिए। पुसबाट रोग नियन्त्रणमा आए पनि वैशाखदेखि आएका बिरामीमा पुन: देखिन थालेको जनस्वास्थ्यले जनायो। जनस्वास्थ्यका अनुसार भरतपुर अस्पतालमा १५, रत्ननगरमा ३ र नारायणी सामुदायिक अस्पतालमा १६ जनामा स्क्रब टाइफस देखिएको हो। स्क्रब टाइफस, डेंगु जस्ता रोग परीक्षण गर्न भरतपुर अस्पतालमा किट अभाव छ।
‘किट पठाउन माथिल्लो निकायमा पत्राचार गरिसकेका छौं,’ किट नियन्त्रण निरीक्षक केसीले भने, ‘अहिलेसम्म पठाएको छैन।’ समयमै किट नपठाए समस्या बढ्ने अस्पतालका चिकित्सक बताउँछन्।
अघिल्लो वर्ष ४७ जिल्लाका ८ सय ३० जनामा स्क्रब टाइफस रोग देखिएकामा १४ जनाको मृत्यु भएको जनस्वास्थ्यले जनायो। नेपालमा २०७२ सालमा पहिलोपटक पूर्वी नेपालमा यस्तो रोग देखिएको हो। त्यसबेला १ सय १ जनामा स्क्रब टाइफस रोग देखिएको र ८ जनाको मृत्यु भएको थियो। बढ्दो गर्मीसँगै विभिन्न समस्या लिएर उपचारमा आउने बिरामीमा यस्तो रोग देखिएको हो। मुलुकभर ‘स्क्रब टाइफस’को रोग बढेपछि अवस्था पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले जिल्लामा गत वर्ष मुसाको स्थलगत अध्ययन तथा परीक्षण सुरु गरेको थियो। 
अनुसन्धानका क्रममा मुसा र माइटमा समेत टाइफस रोगको संक्रमण पुष्टि भएको थियो। यो रोग एक प्रकारको संक्रमित कीराले टोकेमा लाग्छ। जुम्रा जस्तै सूक्ष्म रूपमा रहने माइट घुनजस्तै कीरा हो।

प्रकाशित : श्रावण १५, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?