कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वाइनफ्लुको स्थलगत परीक्षण

कान्तिपुर संवाददाता

स्याङ्जा — वालिङमा बिरामी परेका खुमप्रकाश अर्यालको स्वाइनफ्लुबाट मृत्यु भएको पुष्टि भएपछि राजधानीबाट स्थलगत परीक्षणका लागि चिकित्सकको टोली आएको छ।

महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेसहित दुई सदस्यीय टोली आएको हो। टोलीले शनिबार वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएका बिरामीको स्वास्थ्य परीक्षण गर्दै २० जनाको रगत र खकार परीक्षणका लागि काठमाडौं पठाएको छ। वर्षायाममा रुघाखोकी र ज्वरोलाई समान्य मौसम परिवर्तनका कारण भन्दै आफैं औषधि खाने, निकै दिन निको नभएमात्रै स्वास्थ्य केन्द्रमा जँचाउन जाने चलन पुरानै हो। यतिबेला पनि यहाँ रुघा र ज्वरोका बिरामी दिनहुँ उपचारका लागि आउने गरेका छन्। ‘डराउनुपर्ने अवस्था छैन,’ लामिछानेले भने, ‘अवस्था केही सामान्य भएको छ। पहिले जस्तो छैन। तैपनि सचेत रहनुपर्छ।’ स्वाइनफ्लुमा समयमै सचेत रहेर औषधि सेवन गरे समस्या नदेखिने र यदि १०/१२ दिनसम्म बेवास्ता गरिरहे जटिल बन्दै जाने उनले बताए। चिकित्सकको टोलीले संक्रमण रहेको शंका गरिएका ठाउँको पनि अवलोकन एवं स्थानीयसँग छलफल गरेको छ। अर्यालको घर पुगेर टोलीले परिवारलाई सान्त्वना दिएको छ।

प्रकाशित : श्रावण १५, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?