कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

न्युजिल्यान्डमा घन्कियो नेपथ्य

नारायण खडका

अस्ट्रेलिया — आफ्नो रजत वर्षको अवसरमा सांगीतिक प्रस्तुति लिएर अस्ट्रेलियामा आएको नेपालको लोक/रक ब्यान्ड नेपथ्यले छिमेकी मुलुक न्युजिल्यान्डमा पहिलोपटक सांगीतिक प्रस्तुति दिएको छ।

न्युजिल्यान्डमा घन्कियो नेपथ्य

न्युजिल्यान्डको अकल्यान्ड सहरमा रहेको स्काई सिटी थिएटरमा कार्यक्रम प्रस्तुत गरेको नेपथ्यलाई त्यहाँ रहेका नेपाली दर्शकले उत्तिकै माया र सम्मान दिएका थिए। कार्यक्रममा सहभागी नेपाली दर्शकले नेपथ्यलाई तीन घण्टा बढीसम्म नाचेर साथ दिएका थिए। कार्यक्रम आयोजकमध्येका राज महर्जनले नेपथ्यको सफल प्रस्तुतिले अब नेपाली कलाकारहरूलाई न्युजिल्यान्डमा समेत कार्यक्रम प्रस्तुत गर्न बाटो खोलेको बताए।
सानो संख्यामा नेपालीहरू रहेका भए पनि नेपथ्यको कार्यक्रम हेर्नका लागि अन्य सहरहरूबाट समेत नेपाली दर्शक कार्यक्रम स्थल पुगेका थिए। एक दर्जनबढी गीतसंगीत प्रस्तुत गरेको नेपथ्यले कार्यक्रमअन्तर्गत नै आफ्नो सांगीतिक यात्राको जानकारीहरूसमेत बाँडेको थियो। ‘न्युजिल्यान्डमा पहिलोपटक आफ्नो सांगीतिक प्रस्तुति दिन पाउँदा हामी अत्यन्तै खुसी छौं,’ ब्यान्डका लिड गायक अमृत गुरुङले भने, ‘आफ्नो सांगीतिक यात्राको रजत वर्ष यसरी मनाउन पाएकोमा हामी सबैप्रति आभारी छौं।’
करिब एक महिनाअघि सांगीतिक यात्रामा अस्ट्रेलिया आएको नेपथ्यले मेलबर्न, एडिलेड र सिड्नीमा आफ्नो प्रस्तुति गरेको थियो। अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम स्थलहरूमा आयोजना भएको कार्यक्रमलाई अस्ट्रेलियाका दर्शकले मन पराएका थिए। कार्यक्रममा गुरुङले नेपाल फर्किएलगत्तै आफूहरूले नयाँ गीत सार्वजनिक गर्ने जानकारी दिएका थिए। व्यवस्थापन समूहका चारजना सदस्यसहित धु्रव लामा, सुरज थापा, सुविन शाक्य, निरज गुरुङ र शान्ति रायामाझीसहितको १० जनाको टोली सांगीतिक प्रस्तुतिका लागि आएको थियो।

प्रकाशित : श्रावण १५, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?