किसानले मल पाएनन्

कान्तिपुर संवाददाता

भोजपुर — उत्तरी भेकका केही स्थानका कृषकले अनुदानको रासायनिक मल पाउन सकेका छैनन्।

साल्पासिलिछो गाउँपालिका दोभोने, कुलुङ, खार्ताम्छा र पूर्वी चरम्बीमा यातायात असुविधाका कारण मल लैजान नसकिएको कृषि कार्यालयले जनाएको छ।

यस वर्ष १२ सय मेट्रिक टन वितरण गर्ने लक्ष्य राखे पनि सडक बिग्रेकाले ढुवानीमा समस्या भएको हो। उक्त स्थानमा हालसम्म ११ सय ३ मेट्रिक टन मात्र वितरण गरिएको छ। युरिया ८ सय १३ मेट्रिकटन, डीएपी २ सय ८५ र पोटास ४.५ मेट्रिक टन वितरण गरिएको हो। धनकुटा–भोजपुर खण्ड, धनकुटा–घोडेटार खण्ड, भोजपुर–गुप्तेश्वर खण्ड, भोजपुर–दिङ्ला, धनकुटा–तिवारीभञ्ज्याङ खण्ड गरी ५ क्षेत्रबाट वितरण गर्दै आएको छ। बाँकी मल ढुवानीमा समस्या भएर बीच बाटैमा थन्काइएको छ। ‘मकै भाँच्ने बेला भयो, मल पाएको होइन,’ दोभानेका अमिर राईले भने।
कृषिले पोहोरको तुलनामा तीन गुणाभन्दा बढी रासायनिक मल भित्र्याए पनि माग धान्न सकेको छैन। गत वर्ष भने ४ सय मेट्रिक टन वितरण गरिएको थियो। यस वर्ष अनुदानका अतिरिक्त ६ कृषि सहकारीले कृषि कार्यालयमा अनुमति लिएर सुपथ मूल्यमा मल बेच्दै आएका छन्। अनुदानको मल ठेकेदारमार्फत ढुवानी व्यहोरेर कृषिले वितरण गरेको हो। कृषि सहकारीले व्यवस्थापन खर्चको मापदण्डमा रहेर बिक्री गर्ने व्यवस्था छ।

Yamaha

प्रकाशित : श्रावण १५, २०७४ ०९:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नदी किनारको बास, बर्खामा त्रास

कान्तिपुर संवाददाता

ताप्लेजुङ — तमोरमा आएको बाढीले गत वर्ष सदरमुकाम फुङ्लिङ जोड्ने मोटरेबल पुल बगायो। मेवाको बाढीले बजारको तल्लोपट्टिको भाग कटान गर्‍यो। त्यसबाट बच्न प्रत्येक रात बजारका बासिन्दा बाहिर गएर सुते।

मित्लुङमा तमोर नदी थुनिएपछि नखोलिएसम्म बजारवासीको बसाइ नै भएन। तर, यस्तो समस्या दोभान बजारका बासिन्दाका लागि मात्रै होइन। 

नदीकिनार आसपासमा बस्नेका लागि बर्सेनिको पिरलो हो यो। खोलामा आउने बाढी, कटान, पहिरो र 
खोलो थुनिने समस्याले नदी आसपासका बासिन्दा प्रभावित हुने गरेका छन्। कुनै पनि यस्तो वर्ष छैन उनीहरूलाई बर्खामा पिरलो नभएको होस्। अझ पछिल्ला वर्ष खोलो थुनिने समस्याले सबैभन्दा बढी उनीहरू पिरोलिने गरेका छन्। 
तमोर नदीको पूर्वपट्टि रहेका तापेथोकका बासिन्दा वर्षामा बजार बन्द गर्छन् र माथिल्लो बस्तीमा गएर बस्छन्। जहाँ अहिले फक्तालुङ गाउँपालिकाको केन्द्र रहेको छ। प्रहरी चौकी, स्वास्थ्य चौकी बगर छेउमै छन्। २०२० को बाढीले बगर बनाएको क्षेत्रलाई बिराएर गाउँलेहरू बसेका छन्। पुल तर्नेलाई चिया खाजा खुवाउने उद्देश्यले बसेकाहरूको बस्ती एकपछि अर्को बढदै गएको छ। फक्तालुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बस्ती कसरी व्यवस्थापन गर्ने र त्रासमुक्त बनाउने भन्ने चुनौतीको विषय भएको बताउँछन्। 
दोभानका व्यवसायी टंक खतिवडा जेठदेखि असोजसम्मको समय निकै आतंकित हुने स्मरण गर्छन्। ‘पुस–माघको चिसोदेखि चैत–वैशाखको गर्मीसम्म नदी किनारमा आनन्द हुन्छ,’ उनले भने, ‘यो बेला नदीमा र्‍याफटिङ गर्नेदेखि डुंगा खियाउनेहरू आउँछन्। नदीकिनारमा बसेर माया साट्नेदेखि गिट्टी, बालुवा निकाल्नेसम्म आनन्दित हुन्छन्। 
बर्खामा न त बटुवा बस्न मान्छन् न त सुरक्षित नै।’ आफ्नो क्षेत्रमा मात्रै नभएर हिमाली क्षेत्रमा पानी परेको देखे पनि नदी आसपासका बासिन्दा आतंकित हुनुपर्ने अवस्था रहेको छ। प्रत्येक दिनको मौसमको याद राख्नुपर्ने टंक बताउँछन्। 
ठाडा र खहरे खोला धेरै रहेका पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, तेह्रथुमलगायतका जिल्लामा नदी आसपासमा धेरै बस्ती रहेका छन। दोबाटोमा बटुवालाई खाजा खुवाउने उद्देश्यदेखि मेला बजार र हाट लाग्न थालेपछि बसेका बस्ती नदी आसपासमा अधिक रहेका छन्। तमोर नदी किनारमा मात्रै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटामा दर्जन बढी बस्ती छन्। काबेली, हेवा, मेवा, मैवा जस्ता नदी किनारमा बस्ने पनि त्यत्तिकै पिरोलिनुपर्ने बाध्यता रहेको यहाँका बासिन्दा बताउँछन्। 

प्रकाशित : श्रावण १५, २०७४ ०९:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT