२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

जनप्रतिनिधिको प्राथमिकता सहकारी

वीरेन्द्र केसी

अर्घाखाँची — टोलैपिच्छे सहकारी गठनलाई जनप्रतिनिधिले प्राथमिकतामा राखेका छन्। सबैलाई सहकारीमा जोड्ने र सँगसँगै कृषि, पशुपालन, व्यवसाय र उत्पादनशील काममा लगाउने योजना रहेको उनीहरूको दाबी छ।

‘कृषि, पशुपालन, पर्यटन विकास गर्ने आधार नै सहकारी हो,’ अर्घाखाँची युवा परिषद् र साथी बचत तथा ऋण सहकारी संस्थाको अन्तक्र्रियामा शीतगंगा नगरका प्रमुख सूर्यप्रसाद अधिकारीले भने, ‘सहकारीबाट सामान्य गरिब किसानको आयस्तर बढने भएकाले बचत गर्ने बानीको विकास गर्नु जरुरी छ।’ गाउँमै उत्पादन, साना उद्योग, महिला उद्यमी र कृषि फर्मको विकास गरी सर्वसाधारणको आम्दानी हुने बाटो एकमात्र सहकारी भएको उनले बताए।
सहकारीबाट व्यावसायिक कृषिमा जोड दिने योजना रहेको उनले बताए। ‘साहुकोमा गएर ब्याजे ऋण तमसुक गरेर माग्ने परम्परा सहकारीले अन्त्य गरेको छ,’ छत्रदेव गापा अध्यक्ष लेखनाथ पोखरेलले भने, ‘आर्थिक संवृद्धिको एउटा बाटो सहकारी हो। अझै पनि गाउँमा पैसा पटुकी र घरको भित्तामा राख्ने चलन छ। सहकारीमा बचत गर्ने र व्यवसायमा लगानीको व्यवस्था मिलाउँछु।’ सहकारी गठन गर्ने र त्यसलाई माइक्रो फाइनान्समा परिणत गर्ने उनले बताए। ‘चुनाव लड्न धनी उम्मेदवारले धेरै पैसा खर्च गरे,’ उनले भने, ‘म गरिबको छोरो, सहकारीबाट ऋण ल्याएर चुनाव जितें।’
जिल्ला सहकारी संघका अध्यक्षसमेत रहेका मालारानी गापा अध्यक्ष बालकृष्ण आचार्यले चुनावपछि मुलुकमा राजनीतिक क्रान्ति सकिएकाले अब देशमा आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको बताए। खोलिएका सहकारीलाई क्रियाशील बनाउने र आवद्ध नभएका सर्वसाधारणलाई सहकारीमा सहभागी गराएर वचत गर्न सिकाउने र त्यहींबाट ऋण लिएर व्यवसाय र कृषिमा लगानी गर्ने व्यवस्था हुन्छ। सहकारीलाई अनुदानको व्यवस्था गरी एक घर एक व्यक्तिलाई व्यवसायमा आवद्ध गराएर गरिबी हटाउने आफनो पञ्चवर्षीय योजना रहेको उनले सुनाए। भूमिकास्थान नगर प्रमुख रेशम थापाले सहकारीमार्फत युवालाई उत्पादनशील काममा लगाएर रोजगार बनाउने बताए।

प्रकाशित : श्रावण १५, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?