जिसस एमाले एक्लैले बनाउने

कान्तिपुर संवाददाता

लमजुङ — जिल्ला समन्वय समिति एमाले एक्लैले बनाउने तयारी गरेको छ। ४ गाउँ र ४ नगरपालिकाका निर्वाचित प्रमुख र उपप्रमुखको १६ जनामा एमालेको बहुमत छ।

वैशाख ३१ गतेको स्थानीय तह चुनावमा एमाले–माओवादी गठबन्धन भएको थियो। कार्यापालिका चुनावमा गठबन्धन तोडेको र उद्योग वाणिज्य संघमा कांग्रेससँग गठबन्धन गरेको भन्दै एमालेको एक पंक्तिले माओवादी केन्द्रबाहेक नै समन्वय समिति बनाउनुपर्ने दबाब पार्टीमा दिएका छन्। 
समन्वय समिति निर्माणमा माओवादी केन्द्रले आफ्नो सदस्य राख्नलाई कुनै जानकारी नगराएपछि एमाले एक्लैले समन्वय समिति बनाउने तयारी गरेको हो। एमाले अध्यक्ष धनञ्जय दवाडीले समन्वय समिति एक्लै बनाउने वा के गर्ने भन्ने विषयको टुंगो आइतबारको जिल्ला कमिटी बैठकको निर्णयबाट हुने बताए। केन्द्रीय स्थायी कमिटीको बैठकले समन्वय समिति आइतबार बस्ने बैठकले प्रमुख र उपप्रमुखको टुंगो लगाउने र आवश्यक ७ जना सदस्यको टुंगो आइतबार नै बस्ने जिल्ला कमिटी बैठकले टुंगो लगाउने उनले बताए। जिल्ला समन्वय समिति ९ सदस्यीय हुनेछ।
जिल्ला समन्वय समितिका लागि १६ मतदातामध्ये एमालेसँग प्रमुख ४ र उपप्रमुख ५ गरी ९ जना छन्। कांग्रेसँग प्रमुख २ र उपप्रमुख ३ जना गरी ५ छन्। माओवादी केन्द्रसँग १ प्रमुख र १ उपप्रमुख गरी २ मतदाता रहेको छ। एमालेको बहुमत रहेकाले उसैले समन्वय समिति बनाउने भन्दै कांग्रेसले खासै तयारी गरेको छैन। माओवादी केन्द्रले पनि कुनै तयारी गरेको छैन। कांग्रेस सभापति भेषबहादुर पौडेलले जिल्ला समन्वय समितिमा उम्मेदवारी दिनलाई के गर्ने भन्ने विषयमा यसअघि एकपटक बैठक भएको र फेरि बैठक बसेर टुंगो लगाउने बताए। ‘उम्मेदवारी दिने वा नदिने विषयमा औपचारिक निर्णय भएको छैन। हामी छलफलमै छौं,’ उनले भने। 
समन्वय समितिको निर्वाचन साउन २२ गते गरिँदै छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन तालिका बनाएर तयारी थालेको छ। मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश अर्जुन अधिकारीले निर्वाचनको तयारी थालिएको बताए। उनका अनुसार १८ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ। १९ गते मनोनयन पत्रको जाँच र उजुरीउपरको निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने र उम्मेदवारले आफ्नो नाम फिर्ता लिने कार्यतालिका बनाइएको छ। साउन २० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। २२ गते ११ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको उनले बताए। 
समन्वय समितिको सभापति, उपसभापति र सदस्य को हुने भन्ने चर्चा चलेको छ। एमाले जिल्ला कमिटीले समन्वय समितिको सभापतिका लागि ६ जना र उपसभापतिका लागि ४ जनाको नाम प्रदेश कमिटीमा सुझावका लागि पठाएको थियो। 
सभापतिका लागि प्रेम बस्नेत, गोविन्द बस्नेत, भोजबहादुर रिमाल, लोकराज पाण्डे, हीरादेवी घले र नन्दराम विश्वकर्माको नाम प्रदेश कमिटीमा पठाएको थियो। उपसभापतिमा विष्णुमाया राना, धनमाया तामाङ, ज्ञानुमाया नेपाली र उषा गुरुङको नाम सिफारिसमा परेको थियो। प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सभापति र उपसभापतिको नाम सिफारिस गरिसकिएको एमालेले जनाएको छ। 

प्रकाशित : श्रावण १५, २०७४ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?