कैदीबन्दीलाई चर्मरोग

कान्तिपुर संवाददाता

लमजुङ — लमजुङ कारागारका कैदीबन्दीहरूमध्ये धेरैलाई छालासम्बन्धी रोग पाइएको छ। कारागारमा शनिबार आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्यकर्मीले यस्तो बताएका हुन्।

कैदीबन्दीलाई चर्मरोग

जनस्वास्थ्य कार्यालय, लमजुङ जिल्ला सामुदायिक अस्पताल र रोट्रयाक्ट क्लबले शिविर आयोजना गरेका थिए। डा. हिक्मत भण्डारीले भने, ‘धेरै जनामा छालाको एलर्जी देखियो। ग्यास्ट्रिक र सुगरका बिरामी पनि उत्तिकै भेटिए। केही दीर्घ रोगीसमेत छन्।’ कैदीबन्दीले प्रयोग गर्ने पानी फोहर भएको हुन सक्ने उनले बताए। ‘छालाजन्य रोगहरू प्राय: फोहर पानीले हुने गर्छ,’ उनले भने। छालासम्बन्धी रोगहरू गम्भीर प्रकृतिको नदेखिए पनि यसले पछि समस्या पार्न सक्ने उनले बताए। ‘छालासम्बन्धी समस्यालाई हामी साधारण रूपमा लिन्छौं। पछि घाउ हुन गई यसले ठूलो रूप लिन सक्छ,’ उनले भने, ‘समयमै उपचार आवश्यक छ।’ महिलामा भने सेतोपानी बग्ने, टाउको दुख्ने समस्या देखिएको उनले बताए।
अर्का चिकित्सक राजेश श्रेष्ठले केहीमा झाडापखाला र जन्डिसको संकेतसमेत देखिएको बताए। ‘कारागारभित्रै हामीले ल्याब परीक्षण गर्न सक्ने अवस्था भएन। परीक्षण र थप उपचारका लागि अस्पतालमा आउन भनेका छौं,’ उनले भने।
जेलर काजीमान सुनारका अनुसार कारागारमा हाल ५९ पुरुष र ७ महिला गरी ६६ जना कैदीबन्दी छन्। लागूऔषध मुद्दामा पक्राउ परेका एक जना विदेशी पनि छन्। शिविरमा सबैको स्वास्थ्य परीक्षण गरिएको हो। ‘घ’ श्रेणीको उक्त कारागार २५ जना क्षमताको हो। कारागारमा रहेकामध्ये ५३ कैदी र १३ बन्दी छन्। प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले कैदीबन्दीलाई कुनै समस्या भए भन्न अनुरोध गरे। उनले कारागार प्रशासनलाई हरेक ३/३ महिनामा कैदीबन्दीका लागि स्वास्थ्य शिविर सञ्चालन गर्न निर्देशन पनि दिए।

प्रकाशित : श्रावण १५, २०७४ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?