कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बबईमा जलस्तर घट्दै, कर्णालीमा बढ्दै

कान्तिपुर संवाददाता

गुलरिया — दुई सातादेखि पश्चिम तराईको बर्दियामा मनसुन वर्षा कम भएसँगै बबई नदीमा जलस्तर घटेको छ। हिमाली जिल्लाहरूमा भने लगातार वर्षा भइरहेकाले कर्णालीमा बढ्दै गएको छ।

बबईमा जलस्तर घट्दै, कर्णालीमा बढ्दै

यो हिउँदमा बग्ने पानीजस्तै भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका अधिकृत रुपन ज्ञवालीले बताए।  उनका अनुसार विगत वर्षामा यसै समय बबईमा ४ दशमलव ५ मिटर पानी बग्थ्यो। बबईमा पानी सुक्दै गएका कारण धानबालीमा समेत नराम्रो प्रभाव परेको स्थानीयले बताएका छन्। यस्तो स्थिति रह्यो भने धान बालीमा ठूलो क्षति हुने कृषि विकासका प्रचारप्रसार अधिकृत शिवराज 
सुवेदीले बताए।
बबई सल्यान हुँदै बर्दियासम्म बगे पनि पहाडी जिल्लामा पर्याप्त पानी नपर्दा नदी सुक्ने क्रम जारी छ। पश्चिम तराई क्षेत्रमा मनसुन सक्रिय हुने कुनै संकेत नदेखिएको सूचना अधिकृत ज्ञवालीले बताए। बबईमा ५ मिटर जलस्तर बढ्नासाथ तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने गरिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ। ०७१ साउन ३० गते भीषण वर्षा भएपछि बबईमा साढे ७ मिटर माथि पानी बगेपछि जिल्लाको ९० प्रतिशत भूभाग प्रभावित बनाएको थियो। त्यस समय एकै दिन साढे ४ सय मिलिमिटर पानी परेको थियो।
हिमालबाट बग्ने कर्णाली नदीमा भने जलस्तर बढ्दै गएको छ। जलमापन केन्द्र चिसापानीका अनुसार बिहीबार दिउँसो ७ दशमलव २८ मिटर पानी बगेको छ। हिमाली र पश्चिम पहाडी जिल्लामा वर्षा भइरहेकाले जलस्तर पनि बढेको हो। कर्णालीमा ९ मिटरमाथि पानी बग्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने गरिन्छ।
वर्षा नभएका कारण सिँचाइ नहुने जिल्लाको बढैया ताल गाउँपालिकालगायत बाँसगढी नगरपालिकाको उत्तरी भेक, सदरमुकाम गुलरियाको दक्षिणी भेक र मधुवन नगरपालिकाको दक्षिण क्षेत्रमा लगाइएको धानबाली सुक्दै गएको छ। करिब ८२ प्रतिशत खेतमा धान रोपाइँ भएको छ। रोपाइँ नभएका १८ प्रतिशत अझै बाँझो छन्। 

प्रकाशित : श्रावण १५, २०७४ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?