१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बगाएर ३ को मृत्यु

एकजना बेपत्ता
भरतपुर ब्युरो

कपिलवस्तु — अविरल वर्षाका कारण कपिलवस्तुका विभिन्न खोलामा आएको बाढीले बगाएर बिहीबार ३ को मृत्यु भएको छ।

बगाएर ३ को मृत्यु

 

एकजना बेपत्ता छन्। बाणगंगा नगरपालिका–११ स्थित भडिहवा खोलामा पर्ने मधुनिधिघाटमा स्थानीय मीठु चौधरीका १७ वर्षीय छोरा सागरको बाढीले बगाएर मृत्यु भएको हो। खोलामा पुगेको भैंसी निकाल्न जाने क्रममा उनलाई बगाएको थियो। 
त्यस्तै जिल्लाको विजयनगर गाउँपालिका–१ नौडिहवास्थित बिसहवा खोलामा आएको बाढीले बगाउँदा ५० वर्षीय पुष्टे सुनारको मृत्यु भएको छ। खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको थियो। विजयनगर गाउँपालिका–१ नौडिहवास्थित आफन्तको घरमा पाहुना बस्न आएका ५१ वर्षीय नेत्र सुनार सोही खोलाले बगाउँदा बेपत्ता भएका छन्। रोल्पा घर भएका उनको खोजीका लागि प्रहरी परिचालन गरिएको इलाका प्रहरी गणेशपुरका निरीक्षक खिमबहादुर घर्तीमगरले बताए। त्यस्तै शिवराज नगरपालिका–९ शिवगढी बानियाभारमा ८ वर्षीय सन्दीप विकको सुरई खोलामा डुबेर मृत्यु भएको छ। निगुरो टिप्न जंगल गएका विकको पौडी खेल्ने क्रममा बाढी आउँदा डुबेर मृत्यु गएको प्रहरीले जनाएको छ। जिल्लामा दुई दिनदेखि वर्षा भइरहेको छ। 

बजार जलमग्न
नवलपरासीमा बुधबारदेखि भइरहेको वर्षाले अधिकांश बजार जलमग्न भएका छन्। पूर्व–पश्चिम राजमार्गमा पानीका कारण सवारी चलाउन असहज भएको छ। सडकमा ढल निकास नहुनु र अव्यवस्थित रूपमा जग्गा प्लटिङ गरिरहेकाले वर्षातको पानीले निकास नपाउँदा बजार क्षेत्र जलमग्न भएको हो। सडकको दायाँ–बायाँ पानी जमेको छ। यसरी जमेको पानीले राजमार्ग र भित्री सडक भत्काएको छ। सवारी र पैदल यात्रीलाई आवगमनमा समस्या पुगेको छ। सुनवल, भुमही र सदरमुकाम परासीका ५० भन्दा बढी घरमा पानी पसेको छ। राजमार्गअन्तर्गत बर्दघाटमा खोलाको पानी सडकसम्म आउँदा बिहीबार २ घण्टा यातायात अवरुद्ध भयो। गैंडाकोट, दलदले, कावासोती, डण्डा, चोरमारा, बर्दघाट, भुमही, सुनवललगायत मुख्य बजार सामान्य वर्षा हुँदा नै जलमग्न हुने गर्दछन्। लामो समयसम्म वर्षा भएपछि बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप आउन सक्ने भन्दै जिल्लामा उद्धारको पूर्वतयारी सुरु गरिएको छ। प्रजिअ उदयबहादुर रानाका अनुसार जिल्ला दैवी प्रकोप उद्धार समितिले सम्भावित प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि चौबीसै घण्टा तयारी अवस्थामा रहेको जनाएको छ। 

जनजीवन कष्टकर
लगातारको वर्षाले चितवनको माडी नगरपालिकास्थित रिउ र मुगई खोलामा आएको बाढीले स्थानीय जनजीवन प्रभावित बनेको छ। रिउमा पानीको सतह बढेकाले स्थानीयलाई आवतजावतमा समस्या भएको हो। स्थानीय प्रशासनले भारी वर्षापछि ठूलो बाढीको पूर्वचेतावनी जारी गरेको छ। प्रशासनले उच्च सतर्कता अपनाउन भन्दै सरोकारवालालाई मोबाइल सन्देश पठाएर जानकारी गराएको जनाएको छ। रिउमा सतह बढेपछि वारपार गर्न साना सवारीलाई कठिन भएको इलाका प्रहरी माडीले जनायो। खोलाले क्षति पुर्‍याउने क्षेत्रमा तत्काल प्रहरीको टोली पुगेको छ। सम्भावित खतराबाट जोगाउन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले बताए। रिउ खोलाले माडीमा बर्सेनि क्षति पुर्‍याउँदै आएको छ। उता मुगई खोलाको बाढीले माडी क्षेत्र र पर्साको ठोरीबाट आउने/जाने गाडी रोकिएका छन्। स्थानीय प्रशासनले नदीमा पानीको सतह बढ्दै गएकाले तल्लो तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। रिउ खोलामा पानीको सतह बढेर ३.०० क्युसेक पुगेको छ। नारायणीमा समेत पानीको सतह उच्च हुँदै गएको छ। वर्षामापन केन्द्रका अनुसार नारायणीमा साँझसम्म ५.६९ क्युसेक पानी पुगेको छ।

हवाई सेवा प्रभावित
मौसम खराबीले बिहीबार बिहानदेखि चितवनमा हवाई उडान प्रभावित भएको छ। लगातारको वर्षाले उडान प्रभावित भएको हो। मौसमका कारण बुद्ध र यती एयरलाइन्सका जहाजले निश्चित समयमा उडान भर्न सकेनन। आकाशको भिजिबिलिटी नपुगेका कारण हवाई उडान प्रभावित भएको हो। दुवै एयरलाइन्सको उडान समय तालिकाभन्दा ढिला हुन पुगेको थियो। बुद्धले दैनिक १० वटासम्म उडान भर्दै आएको छ। बिहीबार मौसम खराब भएकाले साँझ ६ बजेसम्म उडान भरेको छ। ‘जहाजको अन्तिम उडान साढे ४ बजे भए पनि खराब मौसमले ढिला भएको हो,’ बुद्ध एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले भने, ‘मौसमअनुकूल नहुँदा उडानमा समस्या हुन्छ।’ हवाई उडानका लागि कम्तीमा ५ किमि भिजिबिलिटी हुनुपर्ने विमानस्थलको कन्ट्रोल टावरले जनायो। यहाँ बिहानदेखि वर्षा भइरहेको छ। यती एयरलाइन्सको बिहानदेखिको उडान तालिका पनि प्रभावित भएको छ। काठमाडौंबाट ११.४० मा आउनुपर्ने विमान अपराह्न २.३० मा मात्र आएको थियो।

बाढीले पुल बगायो 
डोल्पा– अविरल वर्षाका कारण टाक्स्याङ गाड र ताङ्गा खोलामा आएको बाढीले दुई पुल बगाएको छ। पुल बगाएपछि स्थानीयलाई आउजाउमा समस्या भएको छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण टाक्स्याङ गाडको झोलुङ्गे पुल र ताङ्गा खोलाको काठे पुल बगाएको हो। दुवै खोला जोडिने दोभान नजिकैका पुल बगाएपछि छार्का ताङसोङ गाउँपालिका र मुस्ताङ आउजाउ गर्ने स्थानीय र पर्यटकलाई समस्या भएको छ। छार्का ताङ्सोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले झोलुङ्गे पुल बगाएपछि पिम्री भएर आउजाउ गर्नुपर्ने बाध्यता भएको बताए। वैकल्पिक बाटो प्रयोग गर्दा तीन घण्टा लाग्ने उनको भनाइ छ। डोल्पाका साबिकका मुकोट, छार्का र तिन्जे गाविसलाई जोड्न पुल निर्माण गरिएको थियो।

प्रकाशित : श्रावण २०, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?