‘राजपा निर्वाचनमा आउँछ’

छोटकरी

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल तेस्रो चरणको निर्वाचनमा भाग लिने दाबी गरेका छन् ।

जनकपुर (कास)– ‘सरकार संविधान संशोधनलगायत राजपाले उठाएका मुद्दा सम्बोधन गर्न इमानदार प्रयास गर्दै छ । आफ्नो जनमत जोगाउन पनि राजपा निर्वाचनमा आउँछ,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । धनुषा कांग्रेसले बिहीबार महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजित २ नम्बर प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलामा सहभागी हुन आएका प्रधानमन्त्रीले तेस्रो चरणको स्थानीय तह चुनावमा राजपा तथा माओवादी केन्द्रसँग मिलेर जान सक्ने संकेत गरे । उनले भने, ‘कांग्रेस राजपा र माओवादी केन्द्रसँग मिलेर जान सक्छ ।’ 

 

अपहरणको बहाना बनाउने पक्राउ 
धरान (कास)– आफूलाई चार जनाले अपहरण गरेको भन्दै परिवार, छिमेकी र प्रहरी प्रशासनलाई चार दिनदेखि तनाव दिने धरान–१७ रेलवेका ३६ वर्षीय प्रतिमान विक पक्राउ परेका छन् । उनको खोजतलासमा प्रहरी जुटेको थियो । विकका आफन्तले अपहरण परेको जनाउँदै इलाका प्रहरी कार्यालयमा खोजतलास र ज्यान सुरक्षाको उजुरी दिएपछि उनलाई प्रहरीले शुक्रबार बिहान सात बजे धरानको निकेत स्कुलको गल्लीस्थित एक मासु पसलमा फेला पारेको हो । उनी स्थानीय मासु व्यवसायी हजमुल मियाँको पसलमा कामदारका रूपमा कार्यरत थिए ।
गत मंगलबार राति प्रतिमानले आफ्नै मोबाइल नम्बरबाट आफू अपहरणमा परेको मासु व्यवसायी मियाँलाई जानकारी दिएका थिए । उनले फोनमार्फत नै २ लाख रुपैयाँ लिएर राति १२ बजे सुनसरीको इनरुवा आउन भनेका थिए । हजबुलले अपहरणमा परेको थाहा पाएलगत्तै विकको परिवारलाई जानकारी दिएका थिए । प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार कसैले अपहरण गरेको नभई आफैंले नाटक गरेको बयान विकले दिएका छन् ।

व्यवसायीमाथि गोली प्रहार
बुटवल (कास)– रूपन्देहीको मणिग्राममा व्यवसायीलाई  लक्षित गरी गोली प्रहार भएको छ । मोटरसाइकलमा आएका व्यक्तिले शुक्रबार मार्बल व्यवसायीमाथि गोली प्रहार गरे पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार पसल सञ्चालक दुर्गालाल भण्डारीका छोरा दीपकलाई सोध्दै दुई जना मोटरसाइकलमा आएका थिए । तीमध्ये एक पसलभित्र छिरेका थिए भने एक जना बाहिर उभिएका थिए । पसलमा भण्डारीकी बुहारी कोमल र दुई कामदार थिए । केहीबेर मार्बल रोजेजस्तो गरी ३ राउन्ड गोली प्रहार गरी उनीहरू बाहिरिएका थिए । गोली प्रहारपछि उनीहरू मोटरसाइकलमै भागेको तर नम्बर पहिचान गर्न नसकेको कोमलले बताइन् । गोली कसले र किन प्रहार गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी बुटवलका डीएसपी मुकुन्द मरासिनीले बताए । ‘अहिलेसम्म शंकाका भरमा अनुसन्धान अघि बढाएका छौं,’ उनले भने, ‘व्यक्ति र मुख्य कारण पहिचान भइसकेको छैन ।’ भण्डारी परिवारले भने गोली प्रहारको जिम्मा मनोज पुन भन्ने व्यक्तिले लिएको जनाएको छ । दीपकलाई मनोजले फोन गरी ३० लाख रुपैयाँ मागेको तर नदिएकाले गोली चलाएको भण्डारी परिवारको भनाइ छ । देवदहका मनोज यसअघि युवा संघ जिल्ला अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार गर्ने योजना बनाउनेमध्येका मुख्य अभियुक्त हुन् । मलेसियामा रहेको बताउने उनी प्रहरीको खोजी सूचीमा छन् । 

जनप्रतिनिधिको कंकाल भेटियो
संखुवासभा (कास)– कांग्रेसका तर्फबाट निर्विरोध निर्वाचित भोटखोला गाउँपालिका–५ की दलित सदस्य कमला विकको २३ दिनपछि कंकाल भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत असार २४ बाट हराइरहेकी ३८ वर्षीया विकको कंकाल भेटिएको हो । उनको कंकाल अरुण नदी र ठगम खोला दोभानमा भेटिएको हो । ५० फिटमाथि ढुंगाको चेपमा उनको कंकाल भेटिएको डीएसपी सन्तोष खड्काले बताए । उनको शव भेटिएको स्थानमा चुँडिएको सल पनि फेला परेको छ । विक निर्वाचित भएलगत्तै बेपत्ता भएकी थिइन् । 

घूसहित रंगेहात
काभ्रे (कास)– आफूलाई नायब सुब्बा र खरिदार बताएर घूस लिने घरेलु तथा साना उद्योग कार्यालयका दुई कार्यालय सहयोगी रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १४ हजार घूससहित पाँचौं तहमा कार्यरत हरिप्रसाद सुवेदी र माधव कुइँकेललाई पक्राउ गरेको हो । कार्यालय अगाडिको होटलबाट रकम बुझ्दै गर्दा टोलीले उनीहरूलाई फेला पारेको प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिए । उनीहरूले भुम्लुमा पोल्ट्री दर्ता गराउन चाहने सेवाग्राहीसँग रकम असुलेका हुन् ।

दुर्घटनामा चालकको मृत्यु
तनहुँ (कास)– विद्यार्थी पुर्‍याएर फर्कंदै गरेको जिप व्यास नगरपालिका–८ पुलिमराङमा सडकबाट करिब सय मिटर तल खस्दा चालकको मृत्यु भएको छ । सख्त घाइते चालक व्यास–९ का मोहनसिंह गुरुङको उपचारका लागि दमौली ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । इनसाइड भिजन बोर्डिङ स्कुलको ग१ज ५००९ नम्बरको जिप बिहीबार साँझ सहिद धर्म विद्यालयनजिकै सडकबाट खसेको हो ।

नगरपालिका सार्नेबारे विवाद 
धादिङ (कास)– भाडामा बस्दै आएको नीलकण्ठ नगरपालिका कार्यालय जिल्ला समन्वय समितिको भवनमा सार्ने विवाद चुलिएको छ । नगरपालिका कार्यालय जिल्ला समन्वय समितिको भवनमा सार्न एमाले असहमत भएपछि विवाद चुलिएको हो । माग गरेअनुसार भवनको तला उपलब्ध नगराउने भएपछि नगरपालिकाले समन्वय समितिको मूलढोकमै टेन्ट गाडेर कार्यालय सञ्चालन गरेको छ । नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्षहरू र कर्मचारीले टेन्टमै टेबल राखेर कार्यालय सञ्चालन गरेका छन् । विवादको विषयमा स्थानीय प्रशासनको रोहवरमा भएको छलफल टुंगोमा नपुगेपछि जनप्रतिनिधि र कर्मचारीले समन्वय समितिको प्रांगणमा कार्यालय स्थापना गरेका हुन् । नगरप्रमुखसहित भवनमा पस्न खोजेको हूललाई प्रहरीले रोकेको थियो । नगरपालिकाको पूर्ण बैठकले अर्को व्यवस्था नभएसम्म समन्वय समितिको खाली कोठा दिन पत्राचार गरेको थियो । जिल्ला समन्वय समितिले आफ्नो कोठा प्रयोग गर्न दिने/नदिने विषय समन्वय समितिको निर्वाचित बोर्डले टुंग्याउने जानकारी प्रमुख जिल्ला अधिकारी महेश आचार्यले गराएका थिए । उनको भनाइपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो । 

प्रकाशित : श्रावण २१, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?