३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सरकारी जग्गा अतिक्रमण

अस्थायी टहरामा बसेकाले अन्यत्र घरजग्गा नभएको दाबी
कान्तिपुर संवाददाता

गुलरिया — गुलरिया नगरपालिकाको ११ बिघा सार्वजनिक जग्गा अतिक्रमण भएको छ । सात वर्षअघि अतिक्रमित जग्गामा भारतीय नागरिकले समेत अस्थायी टहरा बनाएर बस्दै आएका छन् । नगरपालिकाले पटक–पटक जग्गा खाली गर्न उर्दी गरे पनि अतिक्रमणकारी हटेका छैनन् ।

अस्थायी टहरामा बसेकाले अन्यत्र घरजग्गा नभएको दाबी गर्दै आएकाले उनीहरूको व्यवस्थापनमा समस्या भएको हो । गत वर्ष गुलरिया नगरपालिकाले ६३ परिवारलाई अतिक्रमित जग्गा खाली गर्न निर्देशन दिएको थियो ।
कार्यकारी अधिकृत रामचन्द्र पौडेलले जबर्जस्ती आफूखुसी घर बनाएकाले निर्वाचित जनप्रतिनिधिले कारबाही प्रक्रिया अघि बढाइसकेको बताए । अतिक्रमण गर्नेमा भारतको आसामबाट आएका दर्जनभन्दा बढी परिवार छन् । अतिक्रमणकारी अधिकांशको अरू ठाउँमा घरजग्गा भएको नगरपालिकाले जनाएको छ । उनीहरूले आफूलाई जबर्जस्ती सुकुम्बासी बताउँदै आएका हुन् ।
गुलरियाका कमल लोधका नाममा सुरजपुरमा १० कट्ठा जग्गा रहेको नगरपालिकाले जनाएको छ । त्यस्तै बारबर्दिया बनघुस्रीकी विष्णुदेवी कुर्मीनीको पनि घरजग्गा रहेको उल्लेख भएको छ । तर उनीहरूले अन्यत्र जग्गा नभएकाले नगरपालिकाको जग्गामा बस्नु परेको बताएका छन् । कर्मचारीका अनुसार अधिकांशले अन्यत्र जग्गा भएको लगतमा खुलाएका छैनन् ।
एक वर्षअघि नगरपालिकाले जबर्जस्ती बसेकालाई हटाउने तयारी गरे पनि निर्वाचनलगायत कारणले रोकिएको थियो । नगरपालिका प्रमुख मुक्तिनाथ यादवले अतिक्रमण गरी बसेकाको तीन पुस्ताको नाममा जग्गा भए/नभएबारे छानबिन गरिने बताए । ‘नगरको बैठकले भारतीय नागरिकलाई तत्काल हटाउने निर्णय गरेको छ,’ उनले भने, ‘नेपाली नागरिकको जग्गा भए/नभएबारे अनुसन्धान गरी हटाइने छ ।’
०४६ सालपछि सर्यु नदीको कोरिडोरमा रहेको करिब ६५ बिघा सार्वजनिक जग्गासमेत व्यक्ति विशेषको नाममा दर्ता भइसकेको नगरपालिकाले जनाएको छ । बाढीबाट डुवान हुने उक्त जग्गा ०२१ सालमा नापी हु‘दा सार्वजनिक भनी उल्लेख थियो । मुलुककै दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षण क्षेत्रको पश्चिमतर्फको जग्गासमेत सार्वजनिक हो ।

प्रकाशित : श्रावण २३, २०७४ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?