आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी

डा. केसीको अनशन १७ औं दिनमा
अतुल मिश्र

काठमाडौं — मुलुकभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रँदै छन् । सरकारी उदासीनताको विरोधस्वरूप उनीहरूले कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरेका छन् ।

आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी

सरकारी चिकित्सक संघ (गोडान) ले आफ्नो विरोधलाई सरकारले अटेर गरे सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ । गोडानको मंगलबारको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । ‘डा. केसीका पाइलाहरूप्रति गोडानका तर्फबाट ऐक्यबद्घता जाहेर गर्दछौं,’ गोडान अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘हामी उहाँको जीवनरक्षा गर्न देशव्यापी रूपमा प्रतिकारमा जानेछौं ।’ अनशनको  १६ औं दिनसम्म पनि सरकारले वास्ता नगरेपछि बाध्य भएर कठोर निर्णय गर्नुपरेको उनले बताए । कागजी रूपमा माग सम्बोधन गर्ने तर व्यवहारमा नउतार्ने प्रवृत्तिले  केसीलाई ११ औं पटक अनशन बस्न बाध्य पारेको उल्लेख गर्दै डा. पाण्डेले सरकारले चिकित्सा शिक्षा र सेवामा संवेदनशील हुनुको सट्टा व्यापारीको आवाज बढी सुनेको बताए । केसीको १० औं अनशनका बेला पनि गोडानले दुई दिन देशव्यापी विरोध कार्यक्रम गरेको थियो ।  

गोडानका प्रतिनिधिले मंगलबार  शिक्षण अस्पताल गएर डा. केसीलाई भेटी आन्दोलनप्रति समर्थन जनाए । उनीहरूले मंगलबारै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई भेटेर केसीको जीवनरक्षाको अपिल गरे । मुलुकभर प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय तहका अस्पतालसम्म गरी करिब १ हजार ६ सयभन्दा बढी सरकारी चिकित्सक कार्यरत छन् । 
सरकारी वार्ता समिति र डा. केसीका प्रतिनिधिबीच आइतबारयता वार्ता हुन सकेको छैन । 

सरकारले १३ दिनअघि गठन गरेको वार्ता समितिसित ५ पटक वार्ता भए पनि केसीका मागबारे सरकारका तर्फबाट कुनै जवाफ आएको छैन । केसीका प्रतिनिधि डा.वाईपी सिंहले भने, ‘सरकारी वार्ता समितिले संसद्मा रहेको विधेयक र त्रिविबारेका मागमा कुनै प्रस्ताव ल्याउनै सकेको छैन ।’ उनले मंगलबार सरकारले वार्तामा बोलाए पनि आफूले पहिला केही गरेर देखाउन आग्रह गरेको बताए । 
नेविसंघको साथ सत्तारूढ दल कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले डा. केसीको पक्षमा ऐक्यबद्धता जनाउँदै उनका माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेको छ । महामन्त्री कुन्दन काफ्ले नेतृत्वको विद्यार्थी समूहले मंगलबार शिक्षण अस्पताल पुगेरै केसीका मागमा समर्थन जनाएको हो । चिकित्सा क्षेत्र सुधारका लागि ११ औं पटक अनशनरत केसीका माग पूरा गर्न सरकारले ढिलाइ गरिरहेको काफ्लेले बताए । ‘केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा पनि सरकारले अहिलेसम्म चासो दिएको छैन,’ उनले भने, ‘तत्काल माग पूरा गरियोस्् ।’ नेविसंघका विद्यार्थीहरू केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन ब्यानरसहितको जुलुस लिएर शिक्षण अस्पताल पुगेका थिए ।


स्वास्थ्य झनै जटिल

आमरण अनशनको १६ औं दिन मंगलबार डा. केसीको स्वास्थ्यस्थिति झनै जटिल भएको छ । ‘अनशन लम्बिँदै जाँदा स्वास्थ्यस्थितिमा जटिलता थपिँदै गएको छ,’ प्रा.डा. दिव्यासिंह शाहले भनिन्, ‘छातीको समस्या थियो, अहिले घाँटी दुख्ने समस्या पनि देखियो ।’ 
डा. केसीले बोल्दा धड्कन बढ्ने गरेको छ भने हात पनि सुन्निएको छ । उनमा टाउको र जीउ दुख्ने, मांसपेशी बटारिने समस्या यथावत् छन् । शरीरमा सेतो रक्तकणिकाको संख्यामा कमीसँगै पोटासियम, म्याग्नेसियम लगायत इलेक्ट्रोलाइटको समेत कमी बढदै गएको छ ।

प्रकाशित : श्रावण २५, २०७४ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?