१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कांग्रेसमा अन्तर्घात गर्नेलाई कारबाही

सांसदको सदस्यता खारेजीका लागि सिफारिस
कान्तिपुर संवाददाता

रुकुम — स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले पूर्वराज्यमन्त्री तथा सांसद मीठु मल्लसहित २१ जना नेता, कार्यकर्तालाई कारबाही गरेको छ ।

स्थानीय तहको निर्वाचनपछि त्यसको समीक्षाका लागि बसेको भेलाले ६ जनालाई साधारण सदस्यसमते नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । १४ जनालाई थप स्पष्टीकरण मागेको छ । स्थानीय तहका उम्मेदवार, क्षेत्रीय कार्यसमिति, भ्रातृ संघ, संगठनका पदाधिकारीसहितको भेलाले जिल्ला सचिव जनककुमार चन्द, जिल्ला कार्यसमिति सदस्य विष्णुप्रकाश खड्का, निर्वाचन क्षेत्र नम्बर १ का सभापति सुरतजंग मल्ल, क्षेत्रीय प्रतिनिधि शिवलाल आचार्य, टेकबहादुर पुन र बालकृष्ण भाटलाई पार्टीबाट निष्कासन गरेको हो ।

पार्टीले जिल्ला अनुशासन विभागको सिफारिसमा पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीको हितविपरीत कार्य गरेको भन्दै गत जेठ ८ गते २५ जनालाई लिखित स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेकामध्ये ४ जनाले मात्रै लिखित स्पष्टीकरण दिएको र त्यो चित्तबुझ्दो भएकाले उनीहरूलाई सफाइ दिएको अनुशासन विभाग संयोजक भीमबहादुर डाँगीले बताए । उनका अनुसार सांसद मल्लको सदस्यता खारेजीका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय भएको छ भने अन्य ६ जनाको जिल्ला कार्यसमितिले नै सदस्यता खारेज गरिदिएको छ । सांसद मल्लको हकमा जिल्ला पार्टीले साधारण सदस्यता खारेज गर्न नमिल्ने भएकाले केन्द्रमा सिफारिस गरिएको र जिल्लामा पार्टीको सबै भूमिकाबाट निलम्बित गरिएको छ ।
थप स्पष्टीकरण सोधिएका १४ जनाले ३ दिनभित्र जिल्ला कार्यसमितिलाई लिखित स्पष्टीकरण दिनुपर्ने छ । उनीहरूको स्पष्टीकरणका आधारमा आवश्यक कारबाही गर्ने निर्णय जिल्ला कार्यसमितिले गरेको छ । सांसद मीठु मल्ल, १ नम्बर क्षेत्रीय सभापति सुरतजंग मल्ल र क्षेत्रीय प्रतिनिधि टेकबहादुर पुनलाई मुसिकोट नगरपालिकाका मेयरका उम्मेदवार महेन्द्र केसीलाई हराउनमा भूमिका खेलेको आरोप लगाइएको छ । यसैगरी जिल्ला सचिव जनक चन्दलाई बाँफिकोट गाउँपालिकाको १० नम्बर वडा अध्यक्षसहितका उम्मेदवारलाई हराएको आरोप छ । यसैगरी क्षेत्रीय प्रतिनिधि शिवलाल आचार्यलाई पार्टीको अनुशासन उल्लंघन तथा चौरजहारी नगरपालिकाका मेयरका उम्मेदवार बलवीर गोसाईंलाई हराउन सहयोगी भएको आरोप छ । क्षेत्रीय प्रतिनिधि बालकृष्ण भाट र जिल्ला कार्यसमिति सदस्य विष्णुप्रकाश खड्काले भने निर्वाचनको मुखैमा पार्टी परित्याग गरेका थिए । 

प्रकाशित : श्रावण २५, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?