फेरिए प्रजिअ काठमाडौंसहित १९ जिल्लाका प्रजिअ परिवर्तन

कान्तिपुर संवाददाता

काठमाडौं — गृह मन्त्रालयले तीन महिनामै काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परिवर्तन गरेको छ । गृह मन्त्रालयबाट काठमाडौं प्रजिअको जिम्मेवारीमा आएका बालकृष्ण पन्थी छोटो अवधिमै सरुवामा परेका हुन् । उनको ठाउँमा केदारनाथ शर्मालाई ल्याइएको छ ।

फेरिए प्रजिअ काठमाडौंसहित १९ जिल्लाका प्रजिअ परिवर्तन

गृहले काठमाडौंसहित १९ जिल्लाका प्रजिअसहित ३१ जनाको सरुवा गरेको हो । 

अन्य जिल्लाका प्रजिअ पनि केही महिनामै सरुवा भएका छन् । ओखलढुंगाका प्रजिअ फणीन्द्र दाहाल ६ महिनामै सरुवा भएका छन् । उनको ठाउँमा बाँकेका सहायक प्रजिअ जनकराज पन्तलाई पठाइएको छ । रसुवाका प्रजिअ चोलिन्द्र न्यौपाने आठ महिनामै सरुवा भएका छन् । उनको ठाउँमा गृह मन्त्रालयकी उपसचिव हीरादेवी पौडेललाई पठाइएको छ । 
गृह प्रवक्ता दीपक काफ्लेले कतिपय प्रजिअको छोटो समयमै सरुवा गरिनु सामान्य कुरा भएको बताए । उनले भने, ‘यस्तो भइरहन्छ । छिटो–छिटो सरुवा हुनु पनि सामान्य कुरा नै हो ।’ त्यस्तै महोत्तरीका प्रजिअ वीरेन्द्रकुमार यादव गृह मन्त्रालयमा तानिएका छन् भने उनको ठाउँमा गृहकै बाबुराम श्रेष्ठलाई सरुवा गरिएको छ । पर्सा, झापा, मोरङ, धादिङ, महोत्तरी, सप्तरी, स्याङ्जा, ओखलढुंगा, सोलखुम्बु, प्यूठान, दोलखा, रसुवा, दार्चुला, म्याग्दी, ताप्लेजुङ, सप्तरी, धनकुटा र बाँकेमा नयाँ प्रजिअ पठाइएको छ । 
पछिल्लो सरुवाले सहायक प्रजिअका भरमा चलेका केही जिल्लामा प्रजिअको पूर्ति गरेको छ भने केही जिल्ला फेरि सहायक प्रजिअको जिम्मामा पुगेका छन् । गृहका अनुसार झापा, स्याङ्जाजस्ता जिल्लामा प्रजिअ पठाइएको छ भने बाग्लुङ, रूपन्देही र बाँकेमा फेरि सहायक प्रजिअकै काँधमा पुगेका छन् । लामो समयदेखि निमित्त प्रजिअको भरमा चलेको सर्लाहीले यसपटक पनि प्रजिअ पाउन सकेन । 

प्रकाशित : श्रावण २७, २०७४ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?