मनसुनी रेखा उत्तरतर्फ बढी सर्दा ‘अस्वाभाविक’ वर्षा

अब्दुल्लाह मियाँ

काठमाडौं — पानी पार्ने न्यून चापीय मनसुनी रेखा नेपालको चुरे पहाडी क्षेत्रसम्मै आएपछि शनिबार देशैभर भीषण वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले न्यून चापीय रेखा औसतभन्दा बढी उत्तरतिर सरेकाले शुक्रबारदेखि नै देशैभर ‘अस्वाभाविक’ वर्षा भएको बताए ।

मनसुनी रेखा उत्तरतर्फ बढी सर्दा ‘अस्वाभाविक’ वर्षा

‘मनसुन चाहेभन्दा बढी सक्रिय भएको अवस्था हो यो,’ रिमालले शनिबार कान्तिपुरसँग भने, ‘सोमबार बेलुकीसम्म मुलुकका धेरै भागमा भीषण वर्षा हुने देखिन्छ ।’

सामान्यतया दक्षिण (भारतीय क्षेत्र) मा सक्रिय रहने न्यून चापीय रेखा सर्दै शुक्रबार बिहान नेपालको चुरे र पहाडी क्षेत्रसम्मै पुगेपछि भीषण वर्षा सुरु भएको हो । ‘एक्कासि मनसुन सक्रिय भएपछि देशैभर भीषण वर्षा भयो,’ उनले भने, ‘पूर्वी क्षेत्रमा आज (आइतबार) देखि मनसुनी प्रभाव रोकिन्छ ।’ मुलुकको मध्य र पश्चिम भागमा भने सोमबारसम्म मध्यमदेखि भीषण वर्षा हुने महाशाखाको अनुमान छ । 
न्यून चापीय प्रणाली मध्य तथा आसपासका भागमा विद्यमान रहेका कारण मनसुन बिहीबार रातिदेखि एक्कासि सक्रिय भएको महाशाखाद्वारा शनिबार जारी विशेष बुलेटिनमा उल्लेख छ । शनिबार राति पनि मुलुकका विभिन्न भागमा भीषण वर्षा हुने र नदी–जलाधारमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन विशेषज्ञहरूले सुझाएका छन् । 
‘सोमबारदेखि मनसुनी रेखा दक्षिणतिर सर्दै जानेछ,’ मौसमविद् रिमालले थपे, ‘त्यसपछि नेपालमा मनसुन अलि निष्क्रिय हुनेछ ।’ सामान्यतया जुलाईमा मनसुन सक्रिय भएर बढी वर्षा हुनुपर्नेमा यस पटक त्यस्तो भएन । ‘जुलाईमा बढी पानी पर्नुपर्ने हो,’ काठमाडौं विश्वविद्यालयमा मौसम विज्ञानका अध्यापक मणिरत्न शाक्यले भने, ‘पछिल्ला केही वर्षदेखि अगस्ट तेस्रो सातापछि मनसुन कमजोर बन्दै गएको देखिन्छ ।’ दक्षिण एसियाका मौसमविद्ले यो वर्ष नेपालमा पश्चिममा भन्दा पूर्वी भागमा बढी वर्षा हुने पाँच महिनाअघि नै प्रक्षेपण गरेका थिए । यसपटक मनसुनको अन्त्यतिर बढी वर्षा हुनेसमेत मौसमविद्हरूले अनुमान गरेका थिए । 
भीषण वर्षाका कारण नदी–जलाधारमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले सचेत गराएको छ । शाखाले विशेष बुलेटिन निकालेर पानीको सतह बढेर बस्तीमा पस्न सक्ने भएकाले सतर्क रहन गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन केन्द्र, विभिन्न जिल्लाका प्रशासनलगायतलाई जानकारी गराएको छ । शाखाले शनिबार राति पनि पूर्वी नेपालमा भीषण वर्षा हुने जनाएको छ । शाखाले पूर्वको झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, उदयपुर, धनकुटा, मध्यको रौतहट, सर्लाही, पर्सा, बारा, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तुलगायत क्षेत्रका जलाधारमा पानीको सतहले खतराको तह पार गर्ने चेतावनी दिएको छ । 
शाखाले पश्चिमको कञ्चनपुर, कैलाली र बर्दियाका चुरे र महाभारतबाट प्रवाह हुने नदीहरूमा पानीको सतह बढ्ने जानकारी दिएको छ । मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढी खोला, वागमती, पूर्वराप्ती, रिउखोला, विनयखोला, अरुण खोला, तिनाउ, वाणगंगा र पश्चिमका मछेली, मोहना, बबईलगायत नदी जलाधारमा आइतबारसम्मै पानीको सतहले खतराको तह पार गर्ने भएकाले सचेत रहन अनुरोध गरिएको छ । 

वर्षामापन केन्द्रै डुब्यो
विराटनगरमा वर्षामापन केन्द्र नै डुबानमा परेको छ । विराटनगर एयरपोर्टस्थित वर्षामापन केन्द्र नै डुबेका कारण उक्त क्षेत्रमा कति पानी परेको छ, मापन गर्न सकिएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रिमालले भने, वर्षामापन केन्द्र नै डुबेपछि वर्षामापन गर्न नसकिएको बताए । ‘विराटनगरमा मापनकेन्द्र नै डुबेपछि वर्षा मापन गर्नै सकिएको छैन,’ रिमालले भने, ‘विराटनगरमा बढी नै वर्षा भएको हाम्रो अनुमान छ ।’ बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म विराटनगरमा ५७ मिलिमिटर वर्षा भएको थियो । रिमालले शुक्रबार रातिदेखि भीषण वर्षा भएकालेविराटनगरलगायत पूर्वी क्षेत्र डुबानमा परेको बताए ।

प्रकाशित : श्रावण २९, २०७४ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?