महिनापछि जाहेरी दर्ता

कान्तिपुर संवाददाता

नवलपरासी — प्रहरीले सामूहिक बलात्कार घटनाको निवेदन एक महिनापछि दर्ता गरेको छ । यसअघि उसले जाहेरी दर्ता गर्न मानेको थिएन । बर्दघाट नगरपालिकाकी १४ वर्षीया एक किशोरीमाथि सामूहिक करणी गरिएको एक महिनापछि बुधबार जिल्ला प्रहरीले निवेदन दर्ता गरेको हो ।

गत असार २६ गते राति गाउँकै ७ जना युवकले जबरजस्ती करणी गरेको पीडितको आरोप छ । उनलाई त्यो साँझ नजिकमा घुम्न बोलाएर जबरजस्ती करणी गरेको पीडितले बताइन् । स्थानीय टाठाबाठा र प्रहरीको मिलेमतोमा घटना गाउँमै मिलाउने प्रयास भएको थियो । निवेदन दर्ता नगराउन पीडितलाई दबाब दिइएको थियो । घटनाको चौथो दिनदेखि किटानी जाहेरीसहित निवेदन दिँदा पनि प्रहरीले निवेदन दर्ता गर्न मानेको थिएन । बुधबार जिल्ला प्रहरीको गेटमा प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गरेपछि निवेदन दर्ता गरेको पीडित पक्षका पप्पु रेग्मीले जानकारी दिए । पीडित पक्षले जिल्ला प्रहरीमा आरोपीलाई छिटो कारबाही माग गर्दै बिहीबार पनि नाराबाजी गरे । जिल्ला प्रहरीका डीएसपी विष्णुहरि कोइरालाले किटानी जाहेरी लिएर ५ जनालाई पक्राउ गरी अनुसन्धान थालिसकेको बताए । ‘फरार रहेकाहरूको पनि खोजी जारी रहेको छ,’ उनले भने । 
निवेदन दर्ता अस्वीकार गरेको साँचो नभएको दाबी गर्दै केही प्राविधिक पक्ष नमिलेका कारण ढिलाइ भएको प्रहरीले जनायो । पीडित पक्षले भने घटना गाउँघरमै मिलाउन र निवेदन लिएर नआउन दबाब दिएको बताए । कक्षा ९ मा अध्ययनरत किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय राजेश चौधरी, नीराजन चौधरी, राजकुमार चौधरी, होमनाथ चौधरी र अभिषेक बस्ताकोटीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित : श्रावण २९, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?