१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दाउन्नेमा पहिरो

कान्तिपुर संवाददाता

काठमाडौं — नवलपरासीको दाउन्ने खण्डका एक दर्जन स्थानमा पहिरो खसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध छ । पहिरोले सडक नै बगाएको छ । सडक दायाँबायाँ निकास नहुँदा भेलले जमिन कटान गरेको हो ।

दाउन्नेमा पहिरो

दाउन्नेको एसमोड नजिकै करिब ५० मिटर सडक बगाएको प्रहरीले जनाएको छ । शुक्रबार रातिदेखि अवरुद्ध सडक शनिबार साँझसम्म खुलेको छैन । 

सडक डिभिजन कार्यालय बुटवलले शनिबार बिहान मात्र डोजर पठाएकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । पहिरोले १५ किमि सडक पूरै थुनिएको छ । पहिरो पन्छाइए पनि सडक बगाएकाले यातायात सञ्चालन गर्न समय लाग्ने जिल्ला ट्राफिक प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए । ग्याबिन वाल निर्माण गरेर भए पनि छिटोभन्दा छिटो गाडी चलाउन प्रयास भइरहेको उनले जानकारी दिए । प्रशासनले यात्रु र चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । 

नारायणगढ–मुग्लिन फेरि अवरुद्ध 
लगातारको वर्षासँगै पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध बनेको छ । शनिबार दिउँसो २ बजेबाट सडक थुनिएको हो । सुरुमा मुग्लिनको मुख्य प्रवेशद्वार र भालुढुंगामा पहिरो खसेपछि सवारीसाधन बीच सडकमै रोकिएका थिए । उक्त पहिरो पन्छाएर एकतर्फी सडक सुचारु गर्दै जोखिम क्षेत्रमा रोकिएका सवारीसाधन सुरक्षित ठाउँ पठाइएको थियो । दिउँसो चार बजेपछि पुन: भोर्ले र सेतीदोभानमा पहिरो खसेको छ । सडक माथिबाट ढुंगा खस्ने र पानी पर्ने क्रम नरोकिएकाले जोखिम बढी छ । 
वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए । सडक थुनिएपछि ठाउँठाउँमा सवारीसाधन रोकिएका छन् । ‘पहिरो ठूलो छैन,’ खनालले भने, ‘पानी परिरहेको र ढुंगा खसेकाले पन्छाउन जोखिम भयो, आइतबार बिहानैबाट काम थाल्छांै ।’ पहिरो पन्छाउन नपाउँदै रात परेकाले तत्काल गाडी चल्न रोक लगाइएको जानकारी दिए । 
खनालका अनुसार मुग्लिनमा गाडीको ताँती छ । यात्रुसहितका गाडी आँपटारी, जुगेडी, दासढुंगामा रोकिएका छन् । 
मुग्लिन–कुरिनटार खण्ड पनि शनिबार साँझ पहिरो खसेपछि अवरुद्ध छ । ‘पहिरो पन्छाएर यातायात सुचारु गर्ने प्रयास जारी छ,’ जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले भने । उक्त खण्डमा पोखरा हुँदै काठमाडौं ओहोरदोहोर गर्ने सयौं सवारीसाधन बीच सडकमै रोकिएका छन् । 
थापाका अनुसार मुग्लिन खण्डको पहिरो पन्छाउन भने समस्या छ । ‘गाडी सुरक्षित ठाउँमै रोकिएका छन्,’ उनले भने, ‘प्रहरी, आयोजनाका कर्मचारी खटिइरहेकै छन् ।’ यो खण्डमा वर्षात् सुरु भएसँगै दुर्घटनाको जोखिम बढेको छ ।

प्रकाशित : श्रावण २९, २०७४ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?