कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अस्पताल अघिल्तिरै जिप डुब्यो

प्रसव बेथा लागेकीसहित परिवारका सबै ६ जनाको मृत्यु
भरतपुर ब्युरो

रौतहटको परोहा गाउँपालिका–३ की गर्भवती शर्मिला यादवलाई प्रसव बेथाले च्यापेपछि आइतबार बिहान सुत्केरी गराउन अस्पताल लैजाने क्रममा जिप डुबेपछि उनीसहित परिवारका ६ जनाको मृत्यु भएको छ ।

अस्पताल अघिल्तिरै जिप डुब्यो

जिप चालक र अर्का एक व्यक्ति भने पौडिएर बच्न सफल भएका छन् । शर्मिला, उनका पति चन्दनकिशोर, ३ वर्षीया छोरी छोटीकुमार, शर्मिलाकी आमा ५४ वर्षीया सुमित्रादेवी, काकी ३८ वर्षीया ललिता र भाइ २५ वर्षीय सरोज यादवको मृत्यु भएको हो ।
चालक शम्भु यादवले बाढीमा अनुमानका आधारमा सडक ठानेर जिप चलाइरहँदा नहरमा खस्न पुगेको बताएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलका अनुसार अस्पताल पुग्न सय मिटर मात्रै बाँकी छँदा उनीहरू चढेको बीएच२६एवाई १९३९ नम्बरको भारतीय जिप नहरमा खसेको थियो । स्थानीय र प्रहरीले उनीहरूको शव घटनास्थलबाट बाहिर निकालेका थिए । बाढीले जिल्लाभर ६ देखि ८ फिटसम्म पानी जमेको छ । डुबानकै कारण प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुख आइतबार पनि घटनास्थल पुग्न सकेनन् ।
पीडितले शव बुझेर घरमा लगेका छन् । परिवारमा रुवाबासी चलेको छ । परिवारका सबैको मृत्यु भएपछि बस्तीमा शोक छाएको छ । एकातिर बाढीले बिचल्ली छ, अर्कोतर्फ आफन्त र छिमेकी गुमाएपछि गाउँमा चुलो बलेको छैन । स्थानीयले जताततै पानी जमेकाले अन्तिम संस्कार गर्नसमेत समस्या परेको बताए । डुबानका कारण एक बस्तीबाट अर्कोमा पुग्न सकिएको छैन । जिल्लामा बिजुली र टेलिफोन सेवा अवरुद्ध छ । पीडितले आइतबार साँझसम्म पनि राहत पाउन सकेका छैनन् ।

एसपी पोख्रेलका अनुसार बाढीले बगाएर देवाही–२ की ६५ वर्षीया जोगिया देवी, दुर्गा भगवती–६ की ४० वर्षीया कोशिला देवी र ईशनाथ–९ का १४ वर्षीय सकिल देवानको पनि मृत्यु भएको छ । विभिन्न खोलाले बगाएर आइतबार रौतहट राजपुर–३ का मताज खान र अन्य पाँच जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । देवाही र गुजरामा पनि एक/एक जना बगेर बेपत्ता भएका छन् । उनीहरूको साँझसम्म पत्तो लागेको छैन ।

परिवारै पहिरोमा
मकवानपुरमा बाढी र पहिरोमा परेर ५ जनाको ज्यान गएको छ भने एकै परिवारका ६ बेपत्ता छन् ।
बकैया गाउँपालिका–१० मा आइतबार बिहान पहिरोले मंगलसिंह न्यासुरको घर पुर्दा उनी, पत्नी, ४ छोरी र १ छोरासहित ७ जना पुरिएका हुन् । पहिरो पन्छाएर खोज्ने क्रममा ७ वर्षीया पाल्मको मात्र शव फेला परेको छ । अन्य ६ जना बेपत्ता छन् । घरमा सबै जना सुतिरहेको अवस्थामा बिहान ४ बजे पहिरोले घर पुरेको प्रहरी उपरीक्षक विकासराज खनालले बताए । ५० वर्षीय मंगलसिंह, ४५ वर्षीया सुनमाया, १० वर्षीया हिरा, ८ वर्षीया सानु र २ वर्षीय विकास बेपत्ता छन ।
यस्तै बकैया–१ धियालकी ३२ वर्षीया सुनमाया मोक्तान, बकैया–६ छतिवनका ४० वर्षीय वीरबहादुर मोक्तान र हेटौंडा उपमहानगर–१३ का २५ वर्षीय ज्ञानबहादुर हिमडुङको पनि बगेर मृत्यु भएको छ । पहिरोले घर पुर्दा भीमफेदी–८ इपापाखा टोलकी ५० वर्षीया मिठुमाया दानीको ज्यान गएको छ ।

५ को मृत्यु, ३ बेपत्ता
चितवनमा आइतबार बाढीले तीनको ज्यान लिएको छ । राप्ती नगरपालिका–८ स्थित पम्फा खोलाको बाढीले बगाएर स्थानीय गुमनकुमारी रानामगरको मृत्यु भएको हो । त्यस्तै राप्ती–४ का फूलमती प्रजाको घर ढलेर ज्यान गएको छ । उनका अनुसार बिहान इच्छा कामना गाउँपालिका–३ कोरेकका कमलबहादुर चेपाङ बारबाङ खोलामा आएको बाढीले बगाएर मृत्यु भएको हो । राप्ती नगरपालिकाका ५५ वर्षीय रणबहादुर चेपाङ बाढीमा परी बेपत्ता भएका छन् । चितवनको राप्ती र केरुङ नदीमा आएको बाढीले डुबानमा पारेपछि भरतपुर–२३ स्थित जगतपुरको बलहठ्ठामा रहेको आशा अनाथालयमा फसेका २ सय ५० बालबालिकालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ । यस्तै बाराको पसाहा खोलाको बाढीमा डुबेर महागढीमाई–१ बरियारपुरका १२ वर्षीय मैफुज मियाँको मृत्यु भएको छ । उनीसँगै रहेका ११ वर्षीय (नजिर हुसेनका छोरा) सरफाज हुसेनलाई स्थानीयले उद्धार गरेका थिए । सर्लाहीमा लखनदेही नदीले बगाउँदा बरहथवा नगरपालिका–१६ की १७ वर्षीया रुनुकुमार मण्डलको मृत्यु भएको छ । बाढीले पर्सामा २ जनालाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । जगरनाथपुर–१ पिपडारीकी ५५ वर्षीया बुनी महतो र पकाहामैनपुर गाउँपालिका–५ खेस्राहामा भारत बेतियाका ५५ वर्षीय रामस्वरूप माझीलाई बाढीले बगाएको हो ।
(शिव पुरी/पवन यादव/प्रताप विष्ट)

प्रकाशित : श्रावण ३०, २०७४ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?