१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पहिरोले सडक अवरुद्ध

कान्तिपुर संवाददाता

अछाम — अछामका १० वटै स्थानीय तहसम्म सडक सञ्जालले छोएको छ । तर धेरैजसो सडक १२ महिना नै अवरुद्ध हुन्छन् । सुचारु भएका पनि वर्षा लाग्नासाथ आउजाउ रोकिन्छन् ।

जथाभाबी डोजर प्रयोग गरेर खनिएका ग्रामीण सडकमा वर्षासँगै गाडी गुड्न सकेका छैनन् । वर्षा सुरु हुनासाथ पहिरो खस्न थालेपछि गाडी चलाउन समस्या भएको चालक उदय बोहराले बताए । ‘आफैं जोखिममा परेर पनि कहिलेकाहीं गाडी चलाउनुपर्छ,’ उनले भने, ‘गाउँतिरका गर्भवती, वृद्धवृद्धा, बालबालिका बिरामी पर्दा गुहार्न आउँछन्, जानैपर्‍यो ।’

ग्रामीण भेगमा वर्षाको समयमा यात्रा गर्दा महँगो भाडा तिर्न बाध्य छन् । विशेषगरी बिरामीलाई आवतजावत गर्न समस्या हुने गरेको र कहिलेकाहीं गाडी भेटिहाले तेब्बर भाडा तिरेर जानुपर्छ । नभेटिए महँगो भाडा तिरेर जिप रिजर्व गर्नुपर्ने समस्या विगतदेखि नै भोगिरहेको ढकारी गाउँपालिका ४ का उपेन्द्र शाहीले बताए । ‘अरू बेला ढकारीसम्म सहजै गाडी जान्छ, वर्षा लागेपछि सडक बिग्रिएको छ, बन्द भएका छन् भन्छन्, कुनै बेला गइहाले हजार भाडा तिर्नुपर्छ,’ उनले भने, ‘वर्षाको समयमा जिल्ला अस्पतालसम्म बिरामी पुर्‍याउन स्टेचरको प्रयोग गर्न बाध्य छौं ।’

रुट प्रमिट नहुँदा यात्रुलाई सास्ती भएको बताउँदै अछामका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले मंगलसैनबाट तुर्माखाँद, ढकारी, कमलबजार, बेलखेतलगायत ग्रामीण भेगमा चल्ने जिपका लागि भाडादर १ किलोमिटरको ८ रुपैयाँका दरले कायम गरे तापनि कार्यान्वयन गराउन निकै अप्ठेरो भएको बताए । ‘जानेबुझेका पनि मनपरी ढंगले भाडा असुल्दा खुरुखुरु दिन तयार हुन्छन्,’ उनले भने, ‘वर्षाको समयमा पहिरोले पुरिएका सडकमा हामीले मागेजति पैसा दिएमात्र चलाउँछौं भनेर चालक अडान लिन्छन् ।’

गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति, निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगमा उपभोक्ता समितिमार्फत मनपरी ढंगले सडक खनिएका छन् । ‘गाउँको विकासका लागि होइन, मेरो पार्टीले खनेको सडक हो भनेर देखाउने होडबाजी चल्छ, रातारात डोजर प्रयोग गरिन्छ,’ साबिकको हिच्मा गाविसका नारायण जोशीले भने, ‘सडकमात्र पहिरोले पुरिएका छैनन्, जथाभावी डोजर प्रयोग भएको धेरैजसो क्षेत्र पहिरोको जोखिममा छन् ।’

कतिपय सडक खनेर अलपत्र छन् । कामका लागि आएको बजेट फ्रिज जाने डरले रातारात काम गरेजस्तो गर्ने र काम भयो भनेर उपभोक्ता समितिले पैसा निकासा गर्ने अनि अनुगमन कसैले नगर्ने गरेको कारण अलपत्र परेको स्थानीयको आरोप छ ।

प्रकाशित : श्रावण ३१, २०७४ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?