तुइन विस्थापन गर्दै १५ झोलुंगे पुल

रुकुम — आर्थिक वर्ष २०७३/७४ मा जिल्लाभर १५ वटा झोलुंगे पुल निर्माण भएका छन् । तुइन विस्थापनअन्तर्गतको राष्ट्रिय अभियानबाट ७ र नियमिततर्फका ८ गरी १५ वटा झोलुंगे पुल निर्माण भएका हुन् ।

आव ०७२/७३ निर्माण सुरु भएका १८ वटामध्ये १५ वटा निर्माण सम्पन्न भएका हुन् । 
निर्माणको अन्तिम चरणमा रहेका ३ पुलमध्ये २ वटा तुइन विस्थापन राष्ट्रिय अभियानअन्तर्गतका छन् भने एउटा नियमितर्फको रहेको छ । जिल्ला प्राविधिक कार्यालयको झोलुंगे पुल शाखाका प्रमुख इन्जिनियर पहलबहादुर पुनले विगत वर्षभन्दा ०७३/७४ मा बढी रकम आएकाले १५ वटा पुल निर्माण गर्न सम्भव भएको बताए । तुइन विस्थापनतर्फका झोलुंगे पुल निर्माणका लागि पुँजीगततर्फ २ करोड १० लाख ८८ हजार र नियमित तर्फका झोलुंगे पुल निर्माणका लागि चालुमा ५ करोड ९६ लाख ७ हजार गरी ८ करोड १ लाख ९४ हजार रुपैयाँ जिल्लामा आएको थियो । 
झोलुंगे पुल निर्माणका लागि आएको कुल रकममध्ये ७ करोड १४ लाख ४० हजारले १५ वटा पुल निर्माण भएको र बाँकी रकम फ्रिज भएको छ । बनेका सबै पुलको लम्बाइ जोडा जिल्लामा ९ सय १७ मिटर झोलुंगे पुल बनेको छ । निर्माण सम्पन्न भएका पुलमध्ये पुथाउत्तरगंगा र सिस्ने गाउँपालिकामा ४/४ वटा छन् भने भूमेमा ३, बाँफिकोट गाउँपालिकामा २ वटा छन् । यसैगरी मुसीकोट र आठबिसकोट नगरपालिकामा १/१ वटा झोलुंगे पुल रहेका छन् । ९ स्थानीय तह रहेको जिल्लाका चौरजहारी नगरपालिका, सानीभेरी र त्रिवेणी गाउँपालिकामा भने उक्त आवमा एउटा पनि झोलुंगे पुल बनेनन् । निर्माण भएकामध्ये सबैभन्दा लामो पुल १ सय २० मिटरको छ । सिस्ने गाउँपालिका–८ र बाँफिकोट गाउँपालिका–३ जोड्ने उक्त पुल सानीभेरी नदीमाथि बनेको हो । ३८ लाख ७९ हजारमा उक्त पुल निर्माण सम्पन्न भएको हो । १५ मध्ये सबैभन्दा बढी लागतमा बनेको पनि यही पुल हो । सबैभन्दा कम लगातमा भूमे गाउँपालिकामा बनेको किमुबोट झोलुङ्गे पुल हो १७ लाख २२ हजारमा उक्त पुलको निर्माण कार्य सम्पन्न भएको इन्जिनियर पुनले बताए । एकै आवमा धेरै झोलुङ्गे पुल निर्माण हुने जिल्लामा रुकुम तेस्रो वा चौथो जिल्ला हुने दाबी उनको छ । उनका अनुसार चालु आव ०७४/७५ मा १८ वटा झोलुंगे पुल निर्माणको क्रममा छन् । 
जसमा १८ वटै पुलका फलामे सामग्री निर्माण र खरिदका लागि पेस्की रकम गइसकेको छ भने त्यसमध्ये ८ वटा पुलको त निर्माणका लागि पनि पेस्की रकम पनि उपभोक्ताले लिइसकेका छन् ।

 

प्रकाशित : भाद्र ५, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?