जोखिम घटाउने प्रयास

रातु नदीमा बाढी

धनुषा — अविरल वर्षापछि साउन २८ गते बिहान रातु नदीमा आएको बाढीबारे मिथिला नगरपालिका ८ लालगढका महेन्द्रविक्रम कार्कीले स्थानीयलाई समयमै खबर गरी सचेत गराए ।

बाढी आउने संकेत सुनाउँदै उनले सबैलाई घरबाहिर निकाले । कार्की सुतिरहेका बेला खोलामा बाढी १ मिटर उचाइ नाघेको थाहा पाएर टोल जोखिममा पर्न सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराए । संकेतस्वरुप उनले बनाएको साइरन सुन्नासाथ स्थानीय राति नै सुरक्षित स्थान पुग्न सफल भए ।
विगतमा रातुको बाढीबाट भएको क्षति कम गर्न जडान गरिएको समुदायमा आधारित पूर्वसूचना प्रणाली (इसिमोड) को सहयोगमा राखिएको साइरनले लालगढवासीलाई मात्रै सचेत गराएन । महेन्द्रले रातमै बाढीको सतह बढेको जानकारी महोत्तरीको पशुपतिनगर, सरपल्लो, नैन्ही र भारतको भिठ्ठामोडसम्मकालाई गराए । कार्कीबाट पाएको जानकारीले सरपल्लोमा बाढी प्रवेश गरे पनि मानवीय क्षति हुन पाइन । जलेश्वरमा पानीको सतह बढ्ने जनाउ स्थानीय प्रशासनले बाढी आउनु २ घण्टाअघि नै पाएका थिए । भारतको भिठ्ठामोडमा नदीमा बाढी आउनजेलसम्म स्थानीय सुरक्षित स्थल पुग्न भ्याए ।
रातुको पुलमा जडान गरिएको अत्याधुनिक उपकरणले ५/५ मिनेटको अन्तरालमा पानी सतहको खबर घरमै बसेर थाहा पाउन सकिन्छ, कार्कीले भने, ‘नदीमा पानी नहुँदा माटोमुनिको सतह ऋणात्मका हुन्छ । पानीको सामान्य बहाव पनि नाप्ने इसिमोडले नदीमा १ मिटर उचाइ हुँदा सतर्कताका लागि पहिलो साइरन बज्छ ।’ नदीको यन्त्रले मापन गरेको तथ्यांक घरको डिभाइसले अपडेट भइरहन्छ, उनले भने । नदीमा १ मिटर पानी बढ्नासाथ सतर्कता साइरबन बजेजस्तै २ मिटर बहाव हुँदासमेत साइरनले जनाउ दिन्छ ।
दातृ निकायले राखिदिएको डिभाइसको प्छिल्लो तीन वर्षदेखि सूचना सम्प्रेषण स्वयंसेवकका रुपमा कार्कीले काम गर्दै आएका छन् । रातुमा पानी बढ्नासाथ कार्कीले पहिलो फोन पशुपतिनगरका रामकृपाल महतो, दोस्रो सरपल्लोका राजकुमार महतो, तेस्रो नैन्हीका रामसागर पासवान र चौथो भारत बिहार भिठ्ठामोडका रञ्जित कुमारलाई गरे । पानीको बहावको अवस्थामा जानकारी गराउँदै उनले सर्वसाधारणलाई सचेत गराउँछन् ।

 

प्रकाशित : भाद्र ५, २०७४ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?