कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फायर फाइटिङ दमकल माग

बाँके — नेपालगन्जमा फायर फाइटिङ दमकलको माग बढेको छ । ठूला आगलागीमा नेपालगन्ज विमानस्थलको एकमात्र फायर फाइटिङको भर पर्नुपरेपछि थप चाहिएको हो । उपमहानगरमा निकै पुरानो एउटा मात्र दमकल छ । त्यसको पानी आगो ननिभ्दै सकिन्छ ।


आगलागी नियन्त्रणका लागि कहिलेकाहीँ कोहलपुर, गुलरिया नगरपालिकाबाट मगाउने गरिए पनि त्यही समस्या दोहोरिँदो छ । उपमहानगरका पुराना २ दमकल बिग्रिएर थन्किएका छन् । आधुनिकस्तरको फायर फाइटिङ दमकल नहुँदा आगलागीले करोडौंको क्षति हुने गरेको हो ।
स्थानीय प्रशासन र प्रहरी अधिकारीले गृह मन्त्रालयसँग आग्रह गरी विमानस्थलको दमकल मगाउने गरेका हुन् । तर, विमानस्थलको फायर फाइटिङ मगाउने प्रक्रिया भने झन्झटिलो छ । यही कारण घटनास्थल पुग्न ढिला हुँदा क्षति बढी हुन्छ । बाहिर भएको आगलागी नियन्त्रणका लागि फायर फाइटिङ पठाउँदा नागरिक उड्डयन प्राधिकरणले उडान होल्ड गर्नुपर्ने सुरक्षा अधिकारी बताउँछन् ।
फायर फाइटिङ दमकलले पानीसँगै केमिकल फाल्दा आगलागी नियन्त्रण चाँडो हुन्छ । पानी मात्रै फाल्ने सामान्य दमकलबाट आगो नियन्त्रणमा लिन समय लाग्छ । बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले आगलागीका घटनामा बाहिरबाट दमकल मगाउँदा ढिला हुने गरेको बताए । नेपालगन्जसम्म आउन गुलरियाको दमकलले ४० किमि दूरी पार गर्नुपर्छ । त्यस्तै नेपालगन्ज–कोहलपुरको दूरी १६ किमि छ ।
आधुनिक घर तथा ठूला कम्पनी र कारखानामा आगलागी हुँदा उक्त दमकलले आगो नियन्त्रण गर्न सम्भव नभएको कर्मचारीहरूको गुनासो छ । एसपी राईले अति संवेदनशील मानिने दमकललाई प्रहरी कार्यालयमा राख्नुपर्ने सुझाव दिए ।
‘प्रहरी चौबीसै घण्टा तैनाथ रहने भएकाले हाम्रो जिम्मामा दमकल दिनुपर्छ, आगलागी भएको खबर आएलगत्तै दमकलसाथ प्रहरी घटनास्थल पुग्न सक्छन्,’ उनले भने, ‘आगलागीको खबर आएपछि दमकलका कर्मचारी खोज्नुपर्छ । त्यसले पनि ढिलाइ हुने गरेको हो ।’

प्रकाशित : भाद्र ५, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?