कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मुखिया’ चुन्न आतुर

प्रदेश २ मा स्थानीय तह निर्वाचन

रौतहट — पञ्चायतकालको प्रभावमा यहाँका मतदाता अहिले पनि जनप्रतिनिधिलाई ‘मुखिया’ सम्बोधन गर्छन् । स्थानीय निर्वाचनबाट आफूले विश्वास गरेको मुखिया चुन्न उत्साहित छन् उनीहरू ।

‘मुखिया’ चुन्न आतुर

बुधबार उम्मेदवारी दर्तासँगै बजार र ग्रामीण क्षेत्रमा चुनावी रौनक बढेको छ । चोक, चौराहा, हाट र गाउँघरमा प्रचार तीव्र छ । उम्मेदवार एजेन्डा सुनाएर मतदाता आकर्षित गर्न केन्द्रित छन् । मिति तोकेर चुनाव पटक–पटक सारिएकाले मतदाता पनि भोट हाल्न बढी नै आतुर देखिन्छन् ।

‘दुई दशकपछि मुखिया चुन्ने अवसर मिलेको छ,’ वृन्दावन नगरपालिका–६ का ७५ वर्षीय जंगी महतोले भने, ‘अहिलेको पुस्ताले मुखियाको महत्त्व बुझेको छैन ।’ इतिहास पढ्नेभन्दा लहलहैमा लाग्ने धेरै भएकाले अहिलेको पुस्ताले जनप्रतिनिधिको महत्त्व नबुझेको उनले सुनाए । कर्मचारीले गाउँलेका पीरमर्का कमै सुन्ने गरेको महतोको भनाइ छ । ‘गाउँकै व्यक्ति मुखिया (जनप्रतिनिधि) बनेमा सहजै काम हुन्छ,’ उनले भने, ‘टाढाको व्यक्तिले समस्या सुनाउँदा पनि झर्को मान्छन् ।’ 
दलहरूको उम्मेदवार चयनमा भएको ढिलाइले अलमलमा परेका यहाँका बासिन्दा बुधबार बिहानैदेखि चुनावी माहोलमा होमिए । ‘मनोनयन दर्तापछि यहाँ साँच्चिकै चुनावी माहोल बन्यो,’ वृन्दावन–६ का जागेश्वर दासले भने, ‘दलित, मधेसी, मुस्लिमको प्रतिनिधित्व हुने भएपछि घर–घरमा चुनाव लागेको छ ।’ दुई दशकयता सर्वसाधारणले सरकारको अनुभूति गर्न नपाएको गुनासो उनले गरे । 

रौतहटको गरुडा नगरपालिकामा दर्ताको पालो कुर्दै महिला उम्मेदवार   । तस्बिर: दीपेन्द्र बडुवाल 

‘पहिले हुनेखानेले मात्र सेवा पाए,’ दासले भने, ‘भ्रष्टाचार थियो, विकास निर्माण भएन ।’ अहिले यहाँका बासिन्दाले उम्मेदवारसँग सडक, विद्यालय, अस्पताल, बिजुलीका पोल माग्ने गरेका छन् । नयाँ संविधान र नयाँ संरचनाअनुसार अधिकांश सरकारी सेवा स्थानीय तहबाटै मिल्ने खबरले मतदाता उत्साही छन् । 
२०१५ सालयताका सबै निर्वाचनमा भोट हाल्दै आएका स्थानीय भिखारी ठाकुरले नयाँ संरचना ठीक लागेको बताए । ‘पहिले स्थानीय तहमा बजेट हुन्थेन,’ उनले भने, ‘मुखियाले चाहेर पनि काम गर्न सकेनन् ।’ यसपालि स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने भनिएकाले गाउँका आधारभूत आवश्यकता पूरा हुने विश्वास उनले व्यक्त गरे । ‘सचिवले हाम्रो आवश्यकता बुझेनन्,’ उनले भने, ‘गाउँकै व्यक्ति मुखिया बनेपछि हाम्रो मर्का बुझ्ने छन् ।’ उनी बुधबार मनोनयन दर्ता हेर्न नगरपालिका कार्यालय आएका थिए । उनीसित गाउँका धेरै वृद्ध पनि थिए । हर्साहाका सब्बिर हुसेनले यसअघि मधेस आन्दोलनमा सडक तताउने व्यक्ति नै अहिले दलका झन्डा बोकेर प्रचारमा जुटेको बताए । ‘यसअघि आन्दोलनमा सहभागी हुने पनि यिनै हुन्,’ उनले भने, ‘अहिले चुनाव तताउने पनि यिनै हुन् ।’ उम्मेदवारको टुंगो लागेसँगै गाउँ–गाउँमा रौनक सुरु भएको उनले बताए ।

बाराको कलैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिँदै । तस्बिर: लक्ष्मी साह

विभिन्न नगरपालिकामा मनोनयन दर्ता गर्न जाने क्रममा आयोजित र्‍यालीमा पुरुषको संख्या धेरै देखिन्थ्यो । महिला खेत गोड्न र घाँसपातमा व्यस्त थिए । ‘चुनाव लागेको छ, थाहा छ,’ घाँस काट्न जाँदै गरेकी फूलवती राउतले भनिन्, ‘घरमूलीले जुन चिह्नमा भन्यो, त्यसमै छाप लाउने हो ।’ स्थानीयका अनुसार अधिकांशले परिवार र गाउँका अगुवाले अह्राएको चिह्नमा भोट हाल्ने गरेका छन् । 
‘पार्टी होइन व्यक्ति’
नगर र गाउँपालिका प्रमुख–उपप्रमुखसँगै वडाका जनप्रतिनिधि चुन्ने अवसरले यहाँका बासिन्दालाई व्यक्ति छनोटको विकल्प मिलेको छ । ‘अहिलेसम्म पार्टी हेरेर नेता चुन्यौं,’ चन्द्रपुर नगरपालिका–३ गैंडाटारका ६८ वर्षीय सिंहमान ठोकरले भने, ‘यसपालि व्यक्ति हेरेर भोट हाल्ने हो ।’ यसअघि चुनेका व्यक्तिले पदभार सम्हालेपछि बेवास्ता गरेको दुखेसो पोख्दै उनले भने, ‘यो गर्दिन्छु, त्यो गर्दिन्छु भनेर चुनाव जित्ने, तर फर्केर नहेर्नेलाई भोट हाल्दैनौं ।’ पूर्व–पश्चिम राजमार्गबाट उत्तर चुरे फेदमा रहेको बस्तीमा थुप्रै दु:ख छन् । स्थानीयका अनुसार खानेपानी, विद्यालय, सडक र स्वास्थ्यचौकीको अभाव छ । ‘खहरेले पाइप बगायो भने एक सातासम्म पानीका लागि भौंतारिनुपर्छ,’ ठोकरले भने, ‘कर्मचारीले पीडा बुझेनन्, गाउँकै व्यक्तिले जितेपछि सुनुवाइ होला ।’ स्थानीय तिलमाया थापामगरले गत वैशाखमै बस्तीमा चुनाव लागेको सुनाइन् । ‘त्यो बेला टाँगेका झन्डा खुइलिए,’ उनले भनिन्, ‘सर्दासर्दै चुनाव असोज पुग्यो । यसपालि पक्का भोट हाल्ने भइयो ।’ यहाँका बासिन्दा उम्मेदवार आकांक्षीसितै मनोनयन दर्तामा सहभागी हुन बिहानै पार्टीका नगर कार्यालयमा पुगेका थिए । बाँकी गाउँले छहारीमा बसेर उम्मेदवारका विषयमा चर्चा गरिरहेका थिए । ‘बल्ल चुनाव लाग्यो,’ स्थानीय लालबहादुर थिङले भने, ‘अब हाम्रो समस्या सुल्झाउनेलाई भोट दिने हो ।’

प्रकाशित : भाद्र २२, २०७४ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?