चोक–चोकमा उत्सव

प्रदेश २ स्थानीय तह चुनाव

बारा — सदरमुकामको भरतचोक कुनै बेला मधेस आन्दोलनको केन्द्र थियो । तिनताका यहाँ काला झन्डा फहराइन्थे । अहिले भने यो चोक सबै दलका प्रचार सामग्री, तुल, ब्यानर र पोस्टरले छपक्कै छ ।

चोक–चोकमा उत्सव

रंगीबिरंगी झन्डाले भरिएको छ । आसपासका घर र बिजुलीका पोलमा पनि झन्डा मात्रै छन् । चोक चुनावमय छ । 

जताततै रंगीचंगी झन्डाले नगरलाई महोत्सवजस्तै बनाएको छ । चोक आसपास मात्र होइन, जिल्लाभर ओहोरदोहोर गर्ने मोटरसाइकल र गाडीमा कुनै न कुनै दलका झन्डा देखिन्छन् । यात्रु र सामान ओसार्ने गाडीमा समेत झन्डा टाँगिएका छन् । सहर होस् या गाउँ, केटाकेटीदेखि वृद्धसम्म सबैले दलका चुनाव चिह्न अंकित टिसर्ट लगाउने  ‘फेसन’ नै चलेको छ । पाखुरा र टाउकामा झन्डा बेरेर अरूभन्दा फरक देखिने होड युवामा छ । 
प्राय: घरमा झन्डा गाडिएसँगै भित्ता पोस्टरले रंगिएका छन् । प्रत्येक बजार र गाउँका सडकमा एकपछि अर्को उम्मेदवारका ठूला तस्बिर र नारा लेखिएका ब्यानर टाँगिएका छन् । ससाना झन्डा गाँसेर बनाइएको तोरणले बस्ती झनै रंगीचंगी बनेको छ । बिहान र साँझ यहाँ घरदैलो गर्नेको भीड लाग्छ । यस्ता कार्यक्रममा उम्मेदवारका समर्थकले चर्को आवाजमा माइक वा स्पिकर घन्काउँछन् । दिउँसो गर्मी हुने भएकाले घरदैलो सम्भव हुँदैन । यस्तो बेला ब्यानर टाङ्ने र गीत बजाएर मत दिन आग्रह गर्ने गरिएको छ । उम्मेदवार सवार गाडीमा यस्ता माइक अनिवार्य छन् । उम्मेदवार र तिनका कार्यकर्ता भारतीय नम्बरका गाडी चढ्छन् । वडाध्यक्षका उम्मेदवारले समेत यस्ता गाडी भित्र्याएका छन् । वर्षौं नगुडेका सडकमा पनि यतिबेला दिनहुँ सयौं चिल्ला गाडी दौडिरहेका भेटिन्छन् । जिल्लाका सीमानाकाबाट दिनहुँ यस्ता गाडी भित्रिने गरेका छन् । 
‘यहाँ मतदाताले गीत/संगीत रुचाउँछन्,’ कलैया २० का सत्यनारायण यादवले भने, ‘मधेस आन्दोलनदेखि संगीत अनिवार्य भयो ।’ कलैया–२० का वडाध्यक्षका उम्मेदवार विनोदकुमार गुप्ताले मतदाताको मन जित्न शुक्रबार साँझ स्थानीय बसतपुर टोलमा सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा नाच्न र गीत गाउनका लागि कलाकार बोलाइएको थियो । कलैया उपमहानगरपालिकामा संघीय समाजवादी फोरमका तर्फबाट मेयरका उम्मेदवारले २३ वटै वडामा कार्यक्रमका लागि भारतको पटनाबाट ५ लाख रुपैयाँ भाडामा सांस्कृतिक टोली ल्याएका छन् । उक्त टोलीको काम मतदातालाई मनोरञ्जन प्रदान गर्नु हो । गुप्ताले मात्र होइन, यहाँका प्रत्येक दलका उम्मेदवारले बनारस र पटनाबाट पैसा खर्चेर भोजपुरी भाषामा नारा र चुनावी गीत रेकर्ड गरेर ल्याएका छन् । ती बजाउँदै र नाचगान गर्दै भोट मागिरहेका छन् । स्थानीय एफएम रेडियोमा २४ सै घण्टा उम्मेदवारको प्रचार सुनिन्छ । टोल–टोलमा माइक लगाइएको छ ।
यहाँ सहरदेखि गाउँसम्म प्रचारका कार्यक्रमसाथै कार्यकर्ताका लागि भोज र खानपिनको व्यवस्था गर्ने होड छ । मनोनयन दर्तादेखि नै कार्यकर्तालाई मासुभात खुवाउन सुरु भएको थियो । त्यसयता प्रत्येक दिन साँझ ४ बजेदेखि सहर, बजारका चोक र भट्टी पसलमा भीड लाग्छ । झन्डा बोकेका र टिसर्ट पहिरेका कार्यकर्ताको घुइँचो देखिन्छ । व्यापारीका अनुसार अहिले मासु, मदिराको उपभोग बढेको छ । स्थानीय बासिन्दाका अनुसार अगुवा कार्यकर्तालाई मदिरा र मासुको व्यवस्था हुन्छ । उम्मेदवारको आर्थिक हैसियतअनुसार यस्ता भोजमा परिकारको व्यवस्था गरिएको हुन्छ । चुनाव तातेदेखि गाउँमा सर्वसाधारण कामकाज छाडेरै खानपिनमा सहभागी हुने क्रम बढेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबारदेखि निर्वाचन अवधिसम्मका लागि मदिरा बिक्रीवितरणमा रोक लगाएको छ । सोमबार साँझ माइकिङ गरेर आयोगले सूचना जारी गरेको हो ।

अनुगमन फितलो
महँगो र तामझामको प्रचारले निर्वाचन आचारसंहिताको धज्जी उडाइएको छ । यहाँ आयोजना हुने र्‍याली र घरदैलोमा बालबालिकाको प्रयोग रोकिएको छैन । निर्वाचनमा के गर्न हुने/नहुने ख्याल पुर्‍याइएको पाइँदैन । आचारसंहिता अनुगमन गर्ने निकायले आँखा चिम्लेका छन् । राजनीतिक दलका सांसद, मन्त्रीहरू आफ्ना उम्मेदवारका लागि आचारसंहिताविपरीत प्रचारमा हिँडिरहेका छन् । अनुगमन गर्ने निकायबाट कडाइको सट्टा खुकुलो बनाइएकाले आचारसंहिता उल्लंघन झनै बढेको छ । उम्मेदवारी मनोनयनको दोस्रो दिनदेखि नै मन्त्री र सत्तासाझेदार तथा विपक्षी दलका बहालवाला सांसदसमेत आआफ्ना उम्मेदवारसँगै घरदैलोमा सहभागी भएको पाइएको छ । बाराका मुख्य निर्वाचन अधिकृत तथा आचारसंहिता अनुगमन समितिका संयोजक रितेन्द्र थापाले अहिलेसम्म उल्लंघनका उजुरी नआएको बताए । मौखिक गुनासाबारे प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकमार्फत समाधान गरिएको उनले जनाए । गृहमन्त्री जनार्दन शर्मा र श्रममन्त्री फर्मुल्लाह मन्सुरबारे बढी गुनासो आएको थापाले जनाए ।

प्रकाशित : भाद्र २७, २०७४ ०६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?