कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्माण गर्न सक्नेलाई मत दिन अपिल

प्रदेश नं. २ को चुनावलाई लिएर सिंगो देश तातेको छ । पत्रपत्रिकादेखि अनलाइन मिडियासम्मले चुनावअघि मतदातालाई लोभ्याउन भोजभतेर गरेको समाचारहरू सुन्न र देख्नमा आइरहेको छ ।

निर्माण गर्न सक्नेलाई मत दिन अपिल

भड्किलो प्रचार अनि प्यासीलाई पानी देखाइ लोभ्याउने यो सिलसिला प्रदेश नं. २ को स्थानीय चुनावमा मात्र नभएर अन्य प्रदेशमा पनि देखिएको थियो । प्रदेश नं. ३ मा पर्ने काठमाडौं जिल्लाकी अस्थायी बासिन्दा मैले चुनावको पारो तातेयता धेरै परिवर्तन देखिन । सडकमा खाल्डाखुल्डी यथास्थितिमा छन् । महंँगीले सबैको ढाड सेकेको छ, अनि फोहोर व्यवस्थापनको दुर्दशा त तपाईले देख्नुभएकै होला । प्यारा प्रदेश नं. २ बासी, मलाई विश्वास छ, तपाईहरूले प्रदेश नं. ३ का बासिन्दाजस्तो गल्ती गर्नुहुने छैन । समाचारमा दिनहुँ देखिरहनुभएको छ, काठमाडौं महानगरपालिका कसरी स्मार्ट सिटीबाट ‘इस मार्टसिटी’मै सीमित भएको छ । काठमाडौं महानगरपालिकाका केही स्थानीय बासिन्दाले थोरै नातावाद, कृपावाद अनि केही चिया खर्चको लोभमा परेर गलत व्यक्तिलाई मत दिँदाको परिणाम तपाईले देखिरहनुभएको छ, अनि समाचारमा पढिरहनुभएको पनि होला । काठमाडौं महानगरपालिकाका प्रमुखको केही पनि गल्ती देख्दिन म यसमा । गल्ती देख्छु त केवल मतदाताको ।
प्यारा प्रदेश नं. २ बासी, मत दिँदा आजको मिठो भोजको लोभमा नपरी कसले तपाईको निम्ति भोलिको निर्माण गर्नसक्ने क्षमता राख्छ, उसलाई मत दिनुहोस् । मलाई विश्वास छ, तराईमा बाढी आउँदा तपाईहरूलाई कसले मद्दत गरे र कसले कानमा तेल हालेर बसे, तपाईहरूलाई याद होला । प्यारा प्रदेश नं. २ का बासिन्दा तपाईको प्रदेशमा बाढी फेरि आउन सक्छ, जाडोमा कठ्यांग्रिएर र गर्मीमा लू लागेर फेरि पनि नाबालक, वृद्धवृद्धाहरू मर्न सक्नेछन् । त्यसैले यसपालिको स्थानीय चुनावमा हाम्रालाई हैन, राम्रालाई मत दिनुहोस्, जसले तपाईहरूको पीडालाई आफ्नो सरह ठान्नेछ र प्रमुखको पदलाई पैसा कमाउने भाँडो नबनाई आफ्नो दायित्वको रूपमा हेर्नेछ । चियापानी अनि मासुभातको प्रलोभनमा आज तपाईहरू पर्नुभयो भने भोलि फेरि भोकभोकै मर्नुपर्ने स्थिति आउन सक्छ । त्यसैले प्यारा प्रदेश नं. २ बासी मलाई विश्वास छ, तपाईहरूले मत सोचेर अनि बुझेर दिनुहुनेछ । 
– सुभानी सुब्बा
[email protected]

प्रकाशित : भाद्र २७, २०७४ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?