१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बिरामीको मृत्युपछि ओममा तनाव

काठमाडौं — चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा नाराबाजी गरेका छन् । बुधबार दिउँसो बुटवलकी ४० वर्षीया कमला भट्टराईको मृत्यु भएको थियो ।


नाकको कुर्कुरे हाड सोझ्याउनका लागि उनी चार दिनअघि अस्पताल भर्ना भएकी थिइन् । उनका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको दाबी गरेका छन् । ‘जन्मजातै उनको नाक थोरै बांगो थियो तर दुख्नेघोच्ने केही हुन्थेन,’ मृतक कमलाका श्रीमान् वसन्त भट्टराईले भने, ‘बुझ्न जाँदा डाक्टरले सामान्य शल्यक्रिया गर्नुपर्छ भने ।’ कमलाको उपचारमा अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्रप्रसाद गुरागाईं संलग्न थिए । शल्यक्रियापश्चात् बिरामीको नाकबाट निरन्तर रगत बगिरहेको, बारम्बार बान्ता भएको, पिसाब रोकिएको मृतकका आफन्तले बताए । ‘रगत नरोकिएपछि हामीलाई डेढ लाखको औषधि किन्न लगाए, डाक्टरले अत्यधिक औषधिकै कारण मृगौला फेल भयो पनि भने,’ मृतकका आफन्त विदुर दाहालले भने ।
शल्यक्रियापछिको उपचारपछि डाक्टरले कहिले संक्रमण, कहिले हृदयाघात भएको खबर दिइरहेको दाहालले सुनाए । ‘शल्यक्रियापछि उनी आधा होसमा मात्रै थिइन्, केके बर्बराइरहेकी थिइन्,’ श्रीमान् वसन्तले भने, ‘हामीलाई मृत्युको स्पष्ट कारण दिनुपर्छ, नत्र हामी डाक्टरलाई कानुनी कारबाही गर्छौं ।’ बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले आफ्नो लापरबाही स्विकारेर माफी माग्नुपर्ने मृतकका आफन्तहरूको माग छ । माग पूरा नभए आन्दोलनमा जाने उनीहरूले बताएका छन् ।
अस्पताल प्रसाशनले भने कमलाको उपचारमा डाक्टरको लापरबाही अस्वीकार गरेको छ । ‘नाकको शल्यक्रिया सुन्दा सामान्य लागे पनि यो संवेदनशील अंग हो, यसको शल्यक्रियामा इन्फेक्सन बढी हुन्छ, कहिलेकाहीँ बिरामीलाई बचाउन सकिँदैन,’ अस्पताल प्रसाशन प्रमुख विनय प्याकुरेलले भने । अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले भने, ‘सानो शल्यक्रियामा बिरामीको मृत्यु भएकामा दु:ख लागेको भन्दै घटनाको छानबिन गरी कारबाही अघि बढाउने बताए ।

प्रकाशित : भाद्र २९, २०७४ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?